फोटोफिचर


सुरु भयो रत्नपार्क-सूर्यविनायक द्रुत बस सेवा (तस्बिरहरू)


सरोज नेपाल
असोज ३, २०८० बुधबार १२:५४, काठमाडौँ

काठमाडौंदेखि भक्तपुरसम्म द्रुत बस सेवा सुरू भएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको सहकार्यमा बुधबारदेखि रत्नपार्कदेखि सूर्यविनायकसम्म द्रुत बस सेवा सञ्चालनमा आएको हो। 

भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले रत्नपार्कको शान्तिवाटिकाबाट उक्त बस सेवाको शुभारम्भ गरे।
    

उक्त बसका लागि ‘डेडिकेटेड’ लेनको व्यवस्था गरिएको छ। बिहीबारदेखि कार्यालय समयमा बिहान ९ देखि ११ र अपराह्न ४ देखि ६ बजेसम्म द्रुत सेवाका बस सञ्चालनमा आउनेछन्।

काठमाडौँ उपत्यकाको यातायात क्षेत्रमा सुधार ल्याउने उद्देश्यले द्रुत बस सेवा सञ्चालनमा ल्याएको सरकारले जनाएको छ। रत्नपार्कदेखि सूर्यविनायकसम्म १३ दशमलव ४ किलोमिटर दूरी रहेको छ। 

निर्धारित समयका लागि ४० सिट क्षमताका २५  बस छुट्याइएको यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले जानकारी दिए। कार्यालय समयमा अहिले सार्वजनिक यातायातमा यात्रा गर्दा सूर्यविनायकदेखि रत्नपार्कसम्म करिब दुई घण्टा लाग्दै आएको छ। 

द्रुत बस सेवा सञ्चालन भएपछि उक्त दूरीको यात्रा करिब ४५ मिनेटमा सीमित हुनेछ। 

रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडीबुटी, कौशलटार, गट्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत १९ स्थानमा बस स्टप रहनेछ। त्यहाँबाट उक्त बस चढ्न र ओर्लन सकिनेछ। 

‘सहरी क्षेत्रको यातायात व्यवस्थापन चुनौतीपूर्ण रहेको छ, उपत्यकाको यातायात क्षेत्र सुधारको जमर्को सुरु गरिएको छ’, उनले भने। 

सरकारले गत फागुन ३० गते सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन काठमाडौँ उपत्यकामा द्रुत बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो। 
कार्यालय समयमा ती बस प्रत्येक एक/एक किलोमिटरको फरकमा गुड्नेछन्। 

द्रुत सेवाका बस माइतीघर, बानेश्वर, तीनकुने, कोटेश्वर, जडीबुटीलगायत चोकमा जाममा पनि रोकिने छैनन्। 

बस सेवाको शुभारम्भ गर्दै मन्त्री ज्वालाले सहरी क्षेत्रको सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन र जनतालाई सार्वजनिक यातायातप्रति विश्वास र भरोसा दिलाउन पहिलो चरणमा कार्यालय समयमा सूर्यविनायकदेखि रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गरिएको बताए।

बागमती प्रदेशका श्रम, रोजगार तथा यातायातमन्त्री लक्ष्मण लम्सालले सार्वजनिक यातायातप्रति नागरिकको विश्वास र भरोसा बढाउनुपर्ने बताए।

निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले सार्वजनिक सवारीलाई व्यवस्थित बनाउन सर्वसाधारणलाई सचेत बनाउनुपर्नेमा जोड दिँदै ‘डेडिकेटेड लेन’मा चल्न सवारी साधनको सुरक्षाका लागि प्रहरी प्रतिबद्ध रहेको बताए। 

उक्त लेनमा चल्ने सवारी साधनलाई पनि अन्य सार्वजनिक यातायात सरहका कानुन आकर्षित हुने जनाउँदै उनले ट्राफिक नियमलाई पालना गरेर यातायातका साधन सञ्चालन गर्न आग्रह गरे।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .