ad ad

राजनीति


दुर्गाले बदलेको दृश्य

दुर्गाले बदलेको दृश्य

दुर्गा पौडेल (तस्बिरः सुजन श्रेष्ठ)


बिनु सुवेदी
असार १९, २०७८ शनिबार १२:२४,

कोरोना संक्रमण र निषेधाज्ञाका कारण एउटै कोठामा मात्रै थन्किइरहनुपर्ने भएपछि राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीलाई काठमाडौं साँघुरो लाग्यो, बुटवल गए। तर राजनीतिक अस्थिरताको राप काठमाडौंमा यति धेरै बढ्यो कि निषेधाज्ञामा दलहरू झन् सलबलाए, नेताहरू छटपटिए। 

प्रधानमन्त्री केपी शर्मा ओली र उनले गरेका निर्णयको समर्थन गर्ने पक्ष र विरोध गर्ने पक्षका बीचमा बिस्तारै कित्ता छुट्टिँदै जाँदा उनकै सहयात्रीले बनाएका हुन्– विपक्षी गठबन्धन। त्यही गठबन्धनमा सामेल छ– राष्ट्रिय जनमोर्चा पनि। 

अध्यक्ष केसी काठमाडौं बाहिर भएपछि स्वाभाविक रूपमा उपाध्यक्ष दुर्गा पौडेल गठबन्धनका बैठकहरूमा सहभागी हुन थालिन्। पौडेलको सहभागिताले पुरुषै पुरुषको क्लबजस्तो देखिने शीर्ष नेताहरूको छलफल स्थलको दृश्य बदलियो। पार्टी नेतृत्वकर्ताको हैसियतमा निस्किने वक्तव्यमा पुरुष नामहरूको एकछत्र तोडियो। यद्यपि अरू राजनीतिक दलका अध्यक्ष सहभागी हुने गठबन्धनका बैठकमा जनमोर्चाबाट उपाध्यक्ष जाँदा दुर्गालाई ठूला दलका सबैभन्दा ठूला नेताहरूसँग बसेर बहस गर्ने अवसर कागतालीले मात्रै जुरेको हो। तर, उनी सहभागी हुँदा पुरुषै पुरुषको बीचमा मात्रै केन्द्रित हुने मुलुकको राजनीतिक विमर्शको निरन्तरतामा ‘ब्रेक’ भने लागेको छ, यो भयंकर परिणाम नहुन सक्छ, तर सन्देश जरुर हो। 

उसो त ०६४ को संविधान सभा चुनावअघि सातदलीय गठबन्धनका बैठकमा एमालेका तत्कालीन उपाध्यक्ष विद्यादेवी भण्डारी पनि कहिलेकाहीं सहभागी हुन्थिन्। त्यसपछि राजनीतिले विभिन्न अप्ठ्यारा चरण पार गर्यो। भण्डारी दुई दुईपटक राष्ट्रपति भइन्। तर पार्टीको शीर्ष तहमा महिला पुगेनन्। दलहरूको छलफलमा उनीहरूको सहभागिता हुने कुरै भएन।

पार्टी एकताका २ वर्षसम्म नेकपाको सचिवालय महिलाविहीन बन्यो, एमालेको अहिलेको स्थायी कमिटीमासमेत महिला छैनन्। कांग्रेसको पदाधिकारीमा एक जना महिला त छिन्, तर उनको राजनीतिक उपस्थिति बलियो छैन। अरू दलहरूको नेतृत्वमा पनि महिला छैनन्। नेतृत्वमै नपुगेपछि नेताहरूका बीचमा हुने बैठकमा महिला उपस्थिति शून्यप्रायः थियो। 

राजनीतिको यही चरित्र यसपाली तोडिएको हो, पौडेल गठबन्धनमा सहभागी हुन पाएकी हुन्, उनी गठबन्धनकी सबैभन्दा सक्रिय सदस्य पनि हुन्। 

No description available.

‘अहिले गठबन्धनको बैठक लगालग बस्छ, म कुनै पनि बैठकमा नछुटाई जान्छु, पार्टीभित्रै पनि पुरुषहरूको बीचमा काम गरेकाले होला, मलाई त्यति अनौठो लागेको छैन,’ पौडेलले नेपालखबरसँग भनिन्, ‘तर बाहिरबाट आउने प्रतिक्रियाले एकदमै हौसला मिलेको छ, धेरै महिलालाई हाम्रो प्रतिनिधि त्यहाँ छन् भन्ने लाग्दो रहेछ, एकदमै राम्रो प्रतिक्रिया पाएकी छु।’

गठबन्धनमा सहभागी पार्टीका आआफ्ना विचार र पृष्ठभूमि छन्। दुर्गाले नेतृत्व गर्ने जनमोर्चा र शेरबहादुर देउवाले नेतृत्व दिइरहेको कांग्रेसका बीचमा आकाश–पातलको भिन्नता छ। तर गठबन्धन प्रधानमन्त्री ओलीविरुद्ध मात्रै केन्द्रित भएकाले उनीहरू सबैको कुरा मिल्छ, दुर्गाको पनि मिल्छ। 

बैठकमा प्रधानमन्त्रीका पछिल्ला गतिविधिबारे नै छलफल हुन्छन्, उनले निर्धक्क आफ्ना​ धारणा राख्छिन्। उनी बैठकमा जाँदा नेताहरू समावेशी भएनन्, एक जना पनि महिलालाई सहभागी गराउन सकेनन् भन्ने आलोचना उति सुन्न परेको छैन। 

सहभागिताकै हिसाबले कुरा गर्ने हो भने दुर्गाले कांग्रेस, माओवादी, एमालेको नेपाल पक्ष र जसपाको एउटा खेमाको गाल जोगाइदिएकी छन्। 

‘म एक्लो महिला भएर पनि होला, उहाँहरूले मलाई सधैं आफ्ना कुरा राख्न दिनुहुन्छ,’ उनले भनिन्, ‘पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले त तपाईं आउनुभयो, हाम्रो टिम समावेशी भयो भन्नुभयो। अरू नेताहरूको पनि त्यस्तै भाव बुझिन्छ।’

दुर्गा जनमोर्चाका तीन उपाध्यक्षमध्ये एक हुन्। उनको पार्टीमै महिलाले लिएको सबैभन्दा माथिल्लो पद पनि यही हो, जुन अरू पार्टीमा पनि हुने गर्छ। तर पद जुन भए पनि आफ्नो उपस्थिति देखाउने मौका पाउनु आफैँमा महत्त्वपूर्ण कुरा हो, जुन दुर्गालाई अहिले मिलेको छ। 

उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई पहिले सामान्य रूपमा चिनेको भए तापनि अहिले राम्ररी कुरा गर्ने र उनको मनस्थिति कस्तो रहेछ भनेर बुझ्ने मौका पाएकी छन्। अरू पार्टी अध्यक्षहरूसँग हम्मेसी भेट नहुने परिस्थितिबाट उक्लिएर उनीहरूसँग बहस गर्न थालेकी छन्। 

‘अहिले पार्टी अध्यक्ष चित्रबहादुर केसी बुटवलमा हुनुहुन्छ, उहाँ यहाँ भएको भए त पदकै हिसाबले पनि उहाँ नै बैठकहरूमा जानपथ्र्याे। हुनुहुन्न, त्यसैले पार्टीले मलाई गठबन्धनमा सहभागी हुने र पार्टीको धारणा राख्ने मौका दियो,’ दुर्गाले भनिन्, ‘अवसर दिए त हामीले मजाले जिम्मेवारी पूरा गर्दा रहेछौं भनेर प्रमाणित भयो नि।’ 

तर दुर्गालाई अरू पार्टीका अध्यक्षहरूलाई झैं सजिलो भने छैन। घरको जिम्मेवारी पनि सकेर उनी बैठकमा सहभागी हुन जान्छिन्, गठबन्धनले विभिन्न पक्षसँग गरेका छलफलमा भाग लिन्छिन्, सकिनेबित्तिकै निस्किहाल्छिन्। 

‘यो जिम्मेवारीलाई मैले स्वाभाविक रूपमा लिएको छु,’ दुर्गाले भनिन्, ‘पार्टीमा छलफल भएर पार्टीले नै कृष्ण अधिकारी र मेरो नाममा निर्णय गरेको थियो, धेरैजसो मेरो नाम नै अघि आएको छ। बैठकमा पनि म बोलेपछि अरू नेताहरूले तपाईंले राम्ररी विषयवस्तुलाई लान सक्नुहुन्छ। विषयको व्याख्या गर्ने तरिका धेरै राम्रो छ भन्नुहुन्छ, यस्ता फोरमहरू महिलाले आफ्नो खुबी देखाउने ठाउँ पनि रहेछन्।’ 

उनलाई आफ्नै पार्टी र गठबन्धनका नेताहरूले गरेको भरोसाप्रति खुसी लागेको छ।

‘पार्टीको भूमिका जे हो त्यही हुनुपर्छ, त्यहाँ पार्टीको उपस्थिति हुनुपर्यो, त्यही हो,’ दुर्गाले भनिन्, ‘हामी महिलाको पारिवारिक जिम्मेवारी पनि हुन्छ। पुरुषहरू फ्रि भएर हिँड्छन्। कतिपय अवस्थामा हामीलाई नमिल्दो रै’छ। तर सबै परिस्थितिका बाबजुद आफूलाई उभ्याउन सक्नुपर्छ भन्ने लाग्छ, मैले त्यसै गरेको छु।’ 

गठबन्धन बनेपछि र त्यसका बैठक र छलफलहरूमा पार्टीले दुर्गालाई पठाउने भएपछि उनी पहिलो बैठकका लागि देउवा निवास बूढानीलकण्ठ पुगिन्। उनी जाँदा अरू चार जना नेता बसिसकेका थिए। त्यो दिन उनलाई प्रधानमन्त्री ओलीले चालेका स्वेच्छाचारी कदमविरुद्धको आन्दोलनमा आफू जबरजस्त उभिने ठाउँमा पुगेको छु भन्ने लाग्यो। 

‘हाम्रो गठबन्धनमा पार्टीको कुरा हुन्न। प्रधानमन्त्री ओलीको स्वेच्छाचारीताको विरुद्धमा हामी एक छौं। विषयले सबैलाई निकट बनाउँदो रहेछ पनि,’ दुर्गाले भनिन्, ‘यो गठबन्धन धेरै अगाडिसम्म जान्छ किनभने ओलीको प्रतिगमनविरुद्ध लामै आन्दोलन चलाउनुपर्छ।’ 

दुर्गालाई प्रधानमन्त्री ओलीले मन्त्री पदका लागि कांग्रेसको पछि लागेको भनेकामा साह्रै चित्त दुखेको छ। 

‘बरु मन्त्री बन्ने अफर त उहाँहरूको थियो, मन्त्री बनाउँछौं गण्डकीमा सहयोग गर्नुस् भन्ने प्रस्ताव थियो, तर प्रतिगमनको मतियार बनेर लोकतन्त्रसित कसरी सौदाबाजी गर्न सकिन्छ र,’ दुर्गाले भनिन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .