राजनीति


ओलीको अपरिपक्व उद्घाटन र शिलान्यासको शृंखला

ओलीको अपरिपक्व उद्घाटन र शिलान्यासको शृंखला

यज्ञराज जोशी
असार २२, २०७८ मंगलबार ७:४४,

गत वैशाख ११ गते प्रधानमन्त्री केपी शर्मा ओलीले तामझामका साथ २०७२ सालको भूकम्पपछि पुनःनिर्माण गरिएको धरहरा उद्घाटन गरे। 

सामान्यातया काम पूरा भएपछि मात्र कुनै पनि कुराको उद्घाटन गरिन्छ। तर प्रधानमन्त्री ओलीले उद्घाटन गरेको दिन धरहराको टावर (स्तम्भ) को काम मात्रै सकिएको थियो। धरहरा चढ्न आवश्यक भौतिक पूर्वाधार अझै अधुरै छन्। पहिलेझैं काठमाडौं उपत्यका नियाल्नेगरी धरहरा चढ्न कम्तीमा पुससम्म कुर्नपर्छ। 

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वाधार–विज्ञ राजुमान मानन्धरका अनुसार उद्घाटनका बेला मुख्य स्तम्भको काम लगभग सकिए पनि पार्किङ, म्युजिमय, दुईमध्ये एउटा लिफ्ट, कतिपय विद्युतीय काम बाँकी नै थिए। वैशाखमै उद्घाटन गरिए पनि पुसमा मात्रै धरहरा निर्माण पूरा हुने प्राविधिक बताउँछन्। 

‘२०७२ सालको भुकम्पमा ढलेको धरहरा खडा भयो है भन्ने सन्देश दिन त्यसदिन उद्घाटन गर्न खोजेका हौं,’ मानन्धरले भने, ‘निर्माण व्यवसायीलाई सन् २०२१ डिसेम्बर २५ (पुस)सम्म सबै काम सम्पन्न गर्न समय दिएका छौं। त्यसपछि मात्रै सर्वसाधरणका लागि खुला हुनेछ।’

वैशाख ३१ मा प्रधानमन्त्री ओलीले ललितपुरको गोदावरीमा हतारहतार निर्माण गरिएको ‘गोदावरी सिटी हल’को उद्घाटन गरेका थिए। त्यसको २ महिनामै पानी चुहिन थालेपछि उनको सर्वत्र आलोचना भएको थियो। सिटी हलको उद्घाटन यस्तो बेला भएको थियो, जतिबेला कोरोना संक्रमित बस्ने क्वारेन्टिनसमेत नभएर हाहाकार थियो।

२२ फागुनमा प्रधानमन्त्री ओलीले मेलम्चीको पानी सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्यको शुभारम्भ गरे। त्यसको एक महिनापछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा पानी वितरणको औपचारिक सुरुवात गरेकी थिइन। त्यसको ७ दिनपछि भृकुटीमण्डपको धारामा पानी आउनै छाड्यो। असार पहिलो हप्ता सिन्धुपाल्चोकमा बाढीले मेलम्ची आयोजनामा ठूलो क्षति पुर्याएपछि पानी पुनः वितरण कहिले हुन्छ, कुनै ठेगान छैन। 

गत पुस ५ अघि तत्कालीन नेकपाको आन्तरिक किचलोमै रुमलिँदा प्रधानमन्त्री ओलीले विकास–निर्माणका गतिविधिमा उति ध्यान दिन सकेनन्। अक्सर समय पार्टीका बैठकमै बिताए, केही समय  बिरामीसमेत भएका कारण उनी बाहिर निस्किन सकेनन्। 

गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरी निर्वाचनको मिति घोषणा गरिएपछि ओलीलाई एकाएक चुनाव लाग्यो। उद्घाटन र शिलान्यास चुनावी प्रचारकै शैलीमा गर्न थाले। पुसदेखि फागुनसम्म अधिकतम समय नेपाली राजनीति अदालतमा केन्द्रित भयो भने प्रधानमन्त्री ओली उद्घाटनमै व्यस्त भए। त्यसपछि उनले दिनहुँजसो झिनामसिना सभा÷सम्मेलन, साधारण सभा, भेलादेखि विकास–निर्माणका काम शुभारम्भ, शिलान्यास र उद्घाटनसम्म गर्न थाले। त्यतिखेर अघिल्लोे दिन झापा पुगेका ओली, भोलिपल्ट पोखरा भेटिन्थे भने पर्सिपल्ट धनगढीमा झुल्किन्थे। एकै दिन उनले चारवटासम्म उद्घाटन गर्न भ्याएका छन। 

उनले औद्योगिक ग्राम बनाउने भनेर उद्घाटन गरेका ठाउँको सामान्य अध्ययनसमेत नभएको भन्दै योजना आयोगका पदाधिकारीले नै असन्तुष्टि व्यक्त गरेका थिए। शिलन्यासको कुरा एकातिर छ, ओलीले पूरा नभएका संरचनाको धमाधम उद्घाटन गर्न थाले। धरहरा र सिटी हल दुई उदाहरण मात्रै हुन्। 

पूर्व मुख्यसचिव विमल कोइराला नेपाली राजनीतिज्ञमा आत्मरत्तिमा रमाउने र प्रायः सबैमा ‘मैले गरेको’ भनेर जस लिने प्रवृत्ति देखिएको टिप्पणी गर्छन्। यो प्रवृत्ति प्रधानमन्त्री ओलीमा बढी देखिएको उनको आरोप छ। 

‘नेपाली राजनीतिज्ञमा आत्मरत्तिमा रमाउने, मेरो पालामा यति उद्घाटन, शिलान्यास भए भनेर जस लिन खोज्ने प्रवृत्ति बढी देखिन्छ। जुन प्रधानमन्त्री ओलीमा अझ बढी देखिएको छ,’ कोइरालाले नेपालखबरसँग भने, ‘कामै पूरा नभई उद्घाटन गर्न जान आफैंलाई अस्वाभाविक लाग्नुपर्ने हो, तर जति सकियो उद्घाटन, शिलान्यास गर्दै हिँड्ने र जनतामा भ्रम छर्ने प्रवृत्ति देखिएको छ।’ 

प्रधानमन्त्री ओलीले सोमबारमात्रै राष्ट्रिय गौरवको माथिल्ला तामाकोसी जलविद्युत् आयोजनाको उद्घाटन पनि सम्पूर्ण तयारीमा विद्युत् उत्पादन सुरु नहुँदै गरेका छन। 

४ सय ५६ मेगावाट कूल क्षमताको यस जलविद्युत् आयेजनामा रहेका ६ युनिटमध्ये १ वटा युनिटको सोमबार परीक्षण हुन लागेको छ। यसलाई पनि परियोजना सुरु भएजसरी प्रधानमन्त्रीले उद्घाटन गरेका छन्। 

२०६७ साउनमा निर्माण सुरु भई २०७२ असारमा पूरा गर्ने योजना बनाइएपछि ५ वर्ष ढिला गरी बल्ल पहिलो चरणको परीक्षण गरिँदै छ। सुरुमा ४८ अर्ब ५१ लागतमा सम्पन्न गरिने योजना बनाइए पनि ५ वर्ष ढिला हुँदा लागत बढेर ६५ अर्ब ८३ करोड पुगेको थियो। 

समयमै काम सक्न तदारुकता नदेखाउने तर मुलुकलाई अर्बौं नोक्सान भए पनि निर्माण नसकिँदै उद्घाटन गर्न तस्मिने प्रवृत्तिलाई पूर्वमुख्य सचिव कोइराला अस्वाभाविक ठान्छन्। 

‘परियोजना ५ वर्ष परियोजना ढिला भयो। अहिले पनि ६ वटामध्ये एउटा युनिट मात्रै चल्न सुरु हुने हो,’ कोइराला भन्छन्, ‘त्यत्तिमा पनि आज प्रधानमन्त्री उद्घाटन गर्न तम्सिरहनुभएको छ। मेरा पालामा भएको हो। मैले गरेको हुँ भन्ने जस लिने प्रवृत्ति यसमा पनि देखिन्छ।’

चुनाव घोषणा भएपछि आफू विकास निर्माणमा केन्द्रित रहेको देखाउन ओलीले उद्घाटन र शिलान्यासलाई बढी महत्त्व दिएको हुन सक्ने कोइरालाको बुझाइ छ। 

प्रतिनिधि सभा विघटनपछि गत पुस ८ गते प्रधानमन्त्री ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय उद्घाटनबाट उद्घाटन यात्रा सुरु गरेका थिए। त्यसयता उनले झिनामसिना छाडेर २८ वटा भन्दा बढी आयोजना, भौतिक संरचना उद्घाटन तथा शिलान्यास गरिसकेका छन्। 

गृह जिल्ला झापा पुगेर ओलीले १६ फागुनमा कमल खोलाको पक्की पुल उद्घाटन, मदन भण्डारी लोकमार्गका ३१ पुल शिलान्यास, त्यही दिन झापाको दमकलाई अन्य पालिकासँग जोड्नेगरी ४ पक्की पुल उद्घाटन  र कमल गाउँपालिकामा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपालमैत्री औद्योगिक पार्कसमेत शिलान्यास गर्न भ्याए। 

सरकारी मात्र होइन, नीजी क्षेत्रका आयोजना उद्घाटन÷शिलान्यासमा पनि ओली अगाडि देखिए। 

झापाबाट अर्को दिन (१७ फागुन) गण्डकी प्रदेश पुगेर ओलीले पोखरा महानगरपालिका–३ नदीपुरमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन शिलान्यास गरेका थिए। हतारहतार अर्को दिन (१८ फागुन) फेरि झापा पुगेका ओलीले बिर्तामोडस्थित व्यवसायी दुर्गा प्रसाईंको पूर्वाञ्चल क्यान्सर हस्पिटल उद्घाटन गर्न भ्याए। त्यही दिन उनले मोरङको उर्लाबारीमा सन्थाल एकीकृत बस्ती शिलान्यास गरे। 

१ फागुनमा प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको लुम्बिनी केबलकार प्रालि शिलान्यास गरे। बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने लुम्बिनी केबलकार शिलान्यासमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि उपस्थित थिए। 

आफ्नो प्रभाव देखाउनकै लागि १० फागुनमा तत्कालीन सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई साथमा लिएर प्रधानमन्त्री ओली कञ्चनपुर पुगेका थिए। जहाँ उनले वेदकोट नगरपालिका–२, छेलामा दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गरे। 

‘चुनाव घोषणा गरेकाले पनि उद्घाटन तथा शिलान्यासकै आधारमा मैले धेरै काम गरेको छु भनेर देखाउन हुन सक्छ,’ पूर्वसचिव कोइरालाले थपे, ‘सर्वोच्चमा उहाँको वैधानिकतामाथिको मुद्दा नै चलिरहेका बेला उहाँ रहने कि नरहने भन्ने अनिश्चितता छ। त्यसले पनि बाँकी अवधिमा जतिसक्यो धेरै उद्घाटन गरौं भन्ने परेको होला।’

कतिपय आयोजनाको प्रक्रिया पूरा हुनुअघि नै ओली शिलान्यास गर्न हतारिएको पनि देखिन्छ। गत मंसिर तेस्रो साता एकैपटक ३९६ आधारभूत अस्पताल र चैत्रमा प्रधानमन्त्री ओलीले एकैपटक १६५ सडकको शिलान्यास गरेका थिए। 

तर जग्गा अधिग्रहण नगरी, ठेक्का नलगाई, नाप–नक्सा निर्माण तथा वातावरण प्रभाव मूल्यांकन गर्नुअघि नै गरिएका शिलान्यास शिलान्यासमै सीमित भएका छन। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रवीन्द्रनाथ श्रेष्ठ शिलान्यास भएपछि बाँकी कुरा टुंगिदै जाने बताउँछन्। ‘शिलान्यासको भनेको सुरुवात हो। प्रारम्भ नभई काम सुरु हुँदैन,’ श्रेष्ठ भन्छन्, ‘शिलान्यासअघि बजेट विनियोजन भएको छ। त्यसअघि डीपीआर निर्माण, ठेक्का प्रक्रियामा जाने काम भइरहेका छन्।’ 

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्का प्रवक्ता किरणराज शर्माले प्रधानमन्त्रीले गर्ने उद्घाटनका कार्यक्रम के कति सम्पन्न भएका छन्, त्यसबारे आफूहरूलाई जानकारी नहुने बताए। 

‘निर्माण सम्पन्न नभई उद्घाटन भएको मेरो त्यति जानकारीमा भएन,’ शर्माले प्रधानमन्त्रीको बचाउ गर्दै भने, ‘कुन, कहाँ उद्घाटन, शिलान्यास हुन्छ, त्यो माथिल्लो तह (मन्त्रीस्तर) बाट नै मिल्छ। हामीलाई त्यसबारे जानकारी हुँदैन।’ 

पुस ५ यता ओलीले कहाँ के के शिलान्यास/उद्घाटन गरे, के बोले ?
६ पुस राष्ट्रका नाममा सम्बोधन गर्दै ओलीले विकास निर्माणमा लाग्नुको सट्टा जनादेश र जनभावनाविपरीत राष्ट्रिय राजनीतिलाई अन्त्यहीन एवं अर्थहीन विवादमा अल्झाएर गतिरोध सिर्जना गर्न खोजिएको भन्दै प्रतिनिधि सभा विघटन गर्नुको औचित्य पुष्टि गर्न खोजे। 

१) २०७७, पुस ७ बाट प्रधानमन्त्री ओलीको उद्घाटन यात्रा सुरु भयो। मानव सेवा आश्रमले थालेको मेची–महाकाली सडक यात्राको प्रधानमन्त्रीले बालुवाटारमा उद्घाटन गरेका थिए। आफूले पहिलेदेखि नै सडकमा कोही पनि भौतारिएको देख्न नपरोस् भन्ने चाहना राखेको भन्दै उनले सहयोगापेक्षीको उद्धार र संरक्षणको काम राज्यले गर्ने प्रतिबद्धता जनाएका थिए। 

२) ८ पुस गते प्रधानमन्त्री केपी शर्मा ओलीले रामशाहपथस्थित महान्यायाधिवक्ताको कार्यालय उद्घाटन गरे। सोही दिन उनले सरकारी वकिलहरूको तेस्रो राष्ट्रिय सम्मेलनसमेत उद्घाटन गर्न भ्याएका थिए। 

३) नेपाललाई ‘डिजिटल नेपाल’मा रूपान्तरण गर्ने ओलीले बारम्बार दोहोर्याउने वाक्य हो। २ माघमा प्रधानमन्त्री ओलीले ‘नागरिक एप्स’ उद्घाटन सरकारी सेवा सरल र सहज रूपमा उपलब्ध हुने र डिजिटल नेपालका लागि एप कोसेढुंगा साबित हुने बताए। 

एप्समार्फत सवारी कर, अनुमतिपत्र लोकसेवालगायत सेवा प्रदान गरिने भनिए पनि अहिलेसम्म एप्स प्रक्षेपणमै सीमित छ। एप्सले पूर्ण सेवा दिन सकेको छैन भने प्राविधिक समस्याका कारण सेवाग्राहीले बारम्बार झन्झट बेहोर्ने गरेका छन्। 

४) १२ माघमा प्रधानमन्त्री ओलीले पुल उद्घाटन गर्न विश्वासपात्र शंकर पोखरेल मुख्यमन्त्री रहेको प्रदेश लुम्बिनी पुगेका थिए। नेपाली सेनाको हेलिकोप्टरबाट त्यहाँ पुगेका ओलीले राप्ती नदीमा बनेको पुल उद्घाटन गरे। 

५) १७ माघमा भरतपुर पुगेका ओलीले त्यहाँको पुल्चोक–गोन्द्राङ ६ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गरे। सडक डिभिजनल कार्यालयका प्रमुख कृष्णराज अधिकारीका अनुसार १ अर्ब १२ करोड लागतमा स्तरोन्नति गर्न लागिएको सडक २०७९ फागुनभित्र सक्ने गर्नेगरी ठेक्का दिइएको हो। तर काम निकै सुस्त छ। 

६) सोही दिन ओलीले भरतपुर सिटी हल शिलान्यास गर्न भ्याए। भरतपुर महानगरपालिका–१० स्थित बाइपास सडक नजिक निर्माण गर्न लागिएको सिटी हल शिलान्यासमा प्रधानमन्त्री ओलीसहित तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’, सहरी विकासमन्त्री प्रभु साह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ, बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत नेता पुगेका थिए। 

७) चितवनबाट जनकपुरधाम पुगेका ओलीले १९ माघमा धनुषा जिल्लाको ढल्केवरस्थित देशको सबैभन्दा ठूलो क्षमताको ‘ढल्केवर विद्युत् सबस्टेसन’ उद्घाटन गरे। ४००–२२० र १३२ केभी क्षमताको सबस्टेसन उद्घाटन गर्दै ओलीले यसले देशलाई झलमल्ल पार्न सकिने बताएका थिए। त्यसबेला उनले नेपालले आगामी दिनमा भारत र बंगलादेशमा विद्युत् बेच्ने पूर्वाधार तयार भएको जनाउँदै विद्युत् बेच्नेबारे गम्भीर छलफल भइरहेको समेत दाबी गरे। 

८) २२ माघमा ओलीले पर्वतको कुश्मा नगरपालिका–२, खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेसन भर्चुअल माध्यमबाटै उद्घाटन गरेका थिए। नेपाल विद्युत् प्राधिकरणको २२०/१३२ केभी कुश्मा सबस्टेसन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०/१३२/३३ केभीको दाना सबस्टेसन उद्घाटनस्थलमा भने तत्कालीन ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी पुगेका थिए। 

९) १ फागुनमा प्रधानमन्त्री ओलीले उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालको लुम्बिनी केबलकार प्रालि शिलान्यास गरे। बुटवल उपमहानगरपालिका–३ देखि पाल्पाको तिनाउ गाउँपालिकाको वसन्तपुरसम्म पुग्ने केबलकार शिलान्यासमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल पनि  उपस्थित थिए। 

१०) ३ फागुनमा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय उद्घाटन गरे। २०७२ सालको भूकम्पले क्षतिग्रस्त भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री ओलीले उद्घाटन गरेका थिए। त्यसपछि प्रधानमन्त्रीको कार्यालय पुनः मूल भवन (सिंहदरबार) मा सरेको थियो। 

११) १० फागुनमा तत्कालीन सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने तत्कालीन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्नालाई लिएर प्रधानमन्त्री ओली कञ्चनपुर पुगे। जहाँ उनले वेदकोट नगरपालिका–२, छेलामा दैजी छेला औद्योगिक क्षेत्र शिलान्यास गरे। 

१२) गृह जिल्ला झापामा १६ फागुनमा प्रधानमन्त्री ओलीले कमल गाउँपालिका वडा नं २ स्थित कमल खोलाको पक्की पुल उद्घाटन गरे। त्यही दिन उनले मदन भण्डारीलोकमार्गका ३१ पुल पनि एकैसाथ शिलान्यास गरेका थिए। 

१३) त्यही दिन झापाको दमकलाई अन्य पालिकासँग जोडिने गरी चार पक्की पुल पनि एकैसाथ उद्घाटन गरेका ओलीले कमल गाउँपालिका वडा नं ७ मा नेपालको सबैभन्दा ठूलो औद्योगिक क्षेत्र चीन–नेपालमैत्री औद्योगिक पार्क शिलान्यास गर्नसमेत भ्याए। 

१४) झापाबाट अर्को दिन (१७ फागुन) गण्डकी प्रदेश पुगेर ओलीले पोखरा महानगरपालिका–३ नदीपुरमा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान भवन शिलान्यास गरे। 

१५) अर्को दिन १८ गते फेरि झापा पुगेका ओलीले बिर्तामोडस्थित व्यवसायी दुर्गा प्रसार्इंको पूर्वाञ्चल क्यान्सर हस्पिटल उद्घाटनसँगै मोरङको उर्लाबारीमा सन्थाल एकीकृत बस्ती शिलान्यास गरे। 

१६) २० फागुनमा सिन्धुली पुगेर प्रधानमन्त्री ओलीले कमलामाई नगरपालिका–२ कुसुमटारमा मरिन नदी तटमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना शिलान्यास गरे। जुन आयोजनाबाट ८५ हजार बिघा क्षेत्रफलमा सिँचाइका साथै ३१ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ। 

१७) २२ फागुनमा प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीको पानी सुरुङमार्ग हुँदै काठमाडौं झार्ने कार्य शुभारम्भ गरे। त्यसको एक महिनापछि मात्रै राष्ट्रपति विद्यादेवी भण्डारीले भृकुटीमण्डपमा पानी वितरणको औपचारिक सुरुवात गरेकी थिइन्। तर असार पहिलो हप्ता सिन्धुपाल्चोकमा आएको बाढीका कारण मेलम्ची आयोजनामा ठूलो क्षति पुगेपछि पुनः वितरण कहिले हुन्छ, अनिश्चित छ। 

१८) १ चैतमा प्रधानमन्त्री ओलीले प्रादेशिक एवं स्थानीय सडक निर्माण तथा सुधार कार्यक्रम  शुभारम्भ गरे। त्यसबेला उनले सातवटै प्रदेश समेट्नेगरी कूल २ सय १० स्थानीय तहलाई केन्द्रसँग जोड्ने सडक निर्माण शुभारम्भ गरेका थिए। 

१९) चैत २१ गते प्रधानमन्त्रीले एकैपटक १६५ सडक शिलान्यास गरे। प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) बाटै उनले भर्चुअल माध्यमबाट हरेक निर्वाचन क्षेत्रमा एक÷एकवटा सडक हुने गरी १६५ सडक शिलान्यास गरेका हुन्। तीन वर्षभित्र निर्माण गर्ने योजना लिइएका ती सडकको लागत ५७ अर्ब १० करोड रुपैयाँ हो। 

२०) २०७८ वैशाख २ मा प्रधानमन्त्री ओलीले नेपाल भूमि सूचना पद्धति तथा ‘मेरो कित्ता’ कार्यक्रम शुभारम्भ गरे। जसका माध्यमबाट घरमै बसेर जग्गाको नक्सा प्रकाशन, राजस्व भुक्तानीलगायत गर्न सकिने व्यवस्था गरिएको थियो। 

२१) ११ वैशाखमा प्रधानमन्त्री केपी शर्मा ओलीले पुनःनिर्मित धरहराको औपचारिक उद्घाटन गरे। काम पूरा हुन बाँकी रहे पनि उनले हतारहतार उद्घाटन गरेका थिए। 

२२) सोही दिन प्रधानमन्त्री ओलीले आधुनिकीकरण गरी निर्माण गरिन लागिएको छाउनीस्थित वीरेन्द्र अस्पताल भवनको शिलान्यास गरे। 

२३) १७ वैशाखमा प्रधानमन्त्री ओलीले कोरिया सरकारको सहयोगमा प्राविधिक प्रशिक्षण प्रतिष्ठान परिसरमा नवनिर्मित सूचना प्रविधि भवन भर्चुअल माध्यमबाट उद्घाटन गरे। प्रतिष्ठानको २९औं  वार्षिकोत्सवको अवसरसमेत पारेर आयोजित समारोहमा प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको निवास बालुवाटारबाटै रोबोट यन्त्रको सहायताले रिबन काट्दै शीलास्तम्भ अनावरण गरेका थिए। 

२४) वैशाख ३१ मा प्रधानमन्त्री ओलीले ललितपुरको गोदावरीमा निर्माण भएको नेपालकै सबैभन्दा ठूलो सम्मेलन हल ‘गोदावरी सिटी हल’ उद्घाटन गरे। तर केही दिनमै पानी चुहिन थालेपछि उनको सर्वत्र आलोचना भएको थियो। 

२५) १४ जेठमा प्रधानमन्त्री ओलीले झापास्थित दमक क्याम्पसको थप नयाँ भवनको शिलान्यास गरे। यो पनि उनले भर्चुअलका माध्यमबाटै गरेका थिए। त्यसको १० दिनपछि पुनः दमकमै दुई सामुदायिक विद्यालय भवन पनि उनले ओलीले भर्चुअल रूपमा शिलान्यास गरे। 

२६) ८ असारमा प्रधानमन्त्री निवास बालुवाटरबाटै ओलीले गौरादह नगरपालिका वडा न. ६ स्थित डोरामारी मा.वि. विद्यालय भवन भर्चुअल माध्यमबाट शिलान्यास गरे। 

२७) १९ असारमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सबस्टेसन भर्चुअल माध्यमबाटै उद्घाटन गरे। 

२८) दोलखामा रहेको माथिल्ला तामाकोसी जलविद्युत् आयोजनाको बालुवाटारबाट उद्घाटन गरे। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .