ad ad

राजनीति


‘बालुवाटार टु बालकोट’ : बाटोभरि उत्सव, बार्दलीमा उत्तेजना

‘बालुवाटार टु बालकोट’ : बाटोभरि उत्सव, बार्दलीमा उत्तेजना

समर्पण श्री
असार ३०, २०७८ बुधबार २१:३६,

‘अब केपी बा प्रधानमन्त्री छैनन्। बेलाबेलामा टिप्स त दिन्थे। कोरोनाबाट बच्न बेसार पानी खानु भने, खायौँ। अब शेरबहादुरले भन्दैनन्!’

एक अधवैँशे महिला फिस्स हाँस्दै आफ्नी साथीलाई सुनाइरहेकी थिइन्। 

उनीसँगैकी अर्कीले सही थाप्दै थपिन्, ‘त्यही त! मैले त उहाँले दिएको टिप्स सप्पै मानिरहेकी थिएँ।’

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित निवासबाट फर्किंदै गर्दा बुधबार यो रमाइलो संवाद सुनेँ। ओली भर्खरै बालुवाटारबाट बालकोट पुगेका थिए। वरिपरिका मानिसहरु उनकै चर्चा गरिरहेका थिए। 

‘वि लभ यु केपी बा! वि लभ यु केपी बा!’ अचानक ओलीनिवासबाट फर्किरहेको जुलुस नाराबाजी गर्दै आइपुग्यो। दुई महिला पनि भीडतिरै फर्किए।

ओलीले साढे तीन वर्ष शासन गरे। तर, मानिसहरुलाई उनको कामभन्दा बढी मजाकको सम्झना भइरहेको थियो। नहोस् पनि किन? मुलुक कोरोना महामारीसँग जुधिरहँदा पनि ओली कुर्सीमा बसेर मजाक गरिरहेका थिए। अक्सिजन अभाव थियो, बेड नपाएरै आम मानिसले भटाभट ज्यान गुमाइरहेका थिए। तर, ओली ढुक्कसँग भनिरहेका थिए– ‘बेड नपाएर कोही मरेका छैनन्। अस्पताल नगएर पो!’

कोरोना नियन्त्रण र नागरिकको उपचारमा सरकार असफल हुँदै गर्दा ओली अनौठा टिप्स दिइरहेका थिए। उनी कहिले ‘कोरोना भनेको एउटा रुघाखोकी जस्तो हो, लाग्यो भने, हाच्छिउँसाच्छिउँ गरेर पचाउनुपर्छ’ भन्थे त कहिले ‘बेसारपानी खाने’ र ‘अम्बाको पात उमालेर गार्गिल गर्न’ सुझाउँथे। सायद, मानिसले ओलीका ‘टिप्स’ छिटै बिर्सिने छैनन्। 

जब ओली बालुवाटारबाट बाहिरिए
११ बजे बालुवाटार गेटमा पुग्दा पत्रकारलाई ‘प्रवेश निषेध’ थियो। झण्डै आधा घण्टाको जोडबलपछि भित्र प्रवेश गर्न पाइयो।

भित्र ओलीको फोटोसहितको पोस्टर गाडीहरूमा टाँसिएका थिए। पोस्टरमा ‘जनता तपाईंको साथमा छन्, ओली बा अगाडि बढ्नुस्’ जस्ता नारा लेखिएका थिए। 

युवासंघ र युथफोर्सका कार्यकर्ताहरूको तयारी हेर्दा लाग्थ्यो– कुनै उत्सव मनाइँदैछ।

मंगलबार नै एमाले नेता महेश बस्नेतले ओलीलाई हजारौँ मोटरको माझमा राखेर बालकोट लैजाने बताएका थिए। सोमबार मात्रै युथफोर्स ब्युँताएका उनले कार्यकर्तालाई बिहान ११ बजे बालुवाटार जान आह्वान समेत गरेका थिए।

११ः४० मा सुरक्षाकर्मीहरूको गाडी अगाडि हुइँकियो। पछिपछि गाडीको लस्कर निस्किन थाल्यो। कडा सुरक्षा व्यवस्थाका साथ ओली बालुवाटारको गेटसामुन्ने आइपुगे। उनी आउनासाथ नारा गुन्जियो, ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई। आइ लभ यु के पी बा!’ 

६ फागुन, २०७४ मा तामझामका साथ ओली बालुवाटार प्रवेश गरेका थिए। त्यसबेला उनी दुई तिहाइ सांसदको समर्थनसहित इतिहासकै शक्तिशाली प्रधानमन्त्री थिए।

१२ सय ५२ दिनपछि बालुवाटार छाड्दै गर्दा ओली सांख्यिक, राजनीतिक र नैतिक, हरेक हिसाबले कमजोर बनिसकेका थिए। दुई पटक संसद् विघटन गर्ने उनको प्रयासलाई अदालतले असफल तुल्याएको थियो र उनलाई पदच्युत गरेर शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको थियो। देउवाले मंगलबार साँझ प्रधानमन्त्रीको शपथग्रहण गरेपछि बुधबार दिउँसो ओली बालुवाटारबाट बाहिरिँदै थिए।

ओली गाडी भित्रबाट हाँस्दै हात त हल्लाइरहेका थिए। तर, उनको हाँसोमा चमक थिएन। पानी दर्किरहँदा गाडीको लस्कर बालकोटतिर लाग्यो। 

लोकन्थली चोकबाट बालकोटतर्फ मोडिएपछिको सडकभरि मानिसहरु भेला भएका थिए। ओली घरी पत्नी राधिका शाक्यसँग संवाद गरिरहेका देखिन्थे भने घरी हात हल्लाइरहेका हुन्थे। ओलीको अघिअघि बाजा बजाउनेहरु थिए, कार्यकर्ताहरु नाचिरहेका थिए। 

कार्यकर्ताको उत्तेजित नारा, गालीले भरिएको ओलीको भाषण
बालकोटस्थित निवास आइपुग्नै लाग्दा कार्यकर्ताहरूले नारा लगाए, ‘चोलेन्द्र शमशेर मुर्दावाद! देउवा चोर देश छोड। माधव नेपाललाई फाँसी दे!’

कार्यकर्ताको नारा चर्को र तुच्छ हुँदै गयो। ओलीको मुस्कान पनि हाँसोमा फेरिन थाल्यो। 

एकछिन अघिसम्म शान्त बालकोट ओली पुगेपछि भीडले भरियो। १ः२० मा ओली गाडीबाट ओर्लिए। प्रवेशद्वारमा स्वागतपछि ओली बार्दलीमा पुगे र उसैगरी हात हल्लाउन थाले। 

ओलीले हात हल्लाउँदा भीड झनै उत्तेजित भएर चिच्याएको देखिन्थ्यो। बार्दलीमा ओलीसँगै ऐन महर, महेश बस्नेतलगायतका नेता उपस्थित थिए। त्यही क्रममा ओलीलाई अभिनन्दन समेत गरियो। 

लगत्तै ओलीले चिच्याइरहेका कार्यकर्तालाई शान्त हुन आग्रह गर्दै भाषण गर्न थाले। उनको भाषण कार्यकर्ताको नाराबाजीभन्दा खासै फरक थिएन। उनले उही पुरानै शैलीमा अदालतलाई गाली गर्न थाले– ‘म जनादेशले हैन, परमादेशले निकालिएको हुँ। कहीँ नभएको जात्रा अदालतमा भयो।’

त्यसपछि उनी माधव नेपाललाई गाली गर्न थाले– ‘आफ्नो पार्टीको सरकार ढाल्ने माधव नेपालजस्ता लाजशरम् हराएका मानिसहरू!’

माधव नेपालले आफ्नो सरकार ढालेको ओलीले बताइरहँदा कार्यकर्ताले ताली पिट्न थाले। नाराबाजी भयो– ‘माधव नेपाल मुर्दावाद!’

भाषण सकियो। र, ओली बार्दलीबाट ओझेल भए। बाजा बज्न छाड्यो। विस्तारै बालकोटबाट भीड पातलिन थाल्यो। ओलीनिवासको चहलपहल पनि कम हुँदै गयो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .