नेकपा एमालेको माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री शेरबहादुर देउवालाई आफ्नो पार्टीका कम्तीमा ४० देखि ४५ सांसदले विश्वासको मत दिने दाबी गरेको छ। प्रधानमन्त्री देउवाले विश्वासको मत लिने भएपछि आन्तरिक छलफलमा जुटेको वरिष्ठ नेता नेपाल पक्षले ओली पक्षका पनि कम्तीमा २० जना सांसदले देउवालाई विश्वासको मत दिने दाबी गरेको हो।
देउवालाई विश्वासको मत दिने पक्षमा उभिएको नेपाल पक्षका सांसदहरुको बैठक आइतवार दिउँसो च्यासलमा बसेको थियो। उक्त बैठकले यसअघि राष्ट्रपतिको कार्यालय र सर्वोच्चमा पुगेका २३ सांसदले राजनीतिक इमानमा दायाँबायाँ नगरी देउवालाई विश्वासको मत दिने निर्णय लिएको छ।
माधव पक्षीय एमाले सांसद मेटमणि चौधरीले आजको बैठकबाट पनि राष्ट्रपतिको कार्यालय र सर्वोच्च अदालतमा जस्तै संसदमा पनि देउवाको पक्षमा उभिने निर्णय लिएको बताएका छन्। सांसद चौधरीले देउवाको पक्षमा हस्ताक्षर गर्नेसहित ३५ जनासम्म एमाले सांसदहरुले विश्वासको मत दिने दाबी गरेका छन्।
'हामीले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने कुरा भइसकेको छ। हामीसँगै अध्यक्ष केपी शर्मा ओली पक्षका १०/१५ सांसदहरु पनि हाम्रै निर्णयलाई समर्थन जनाउँदै विश्वासको मतको पक्षमा उभिने सम्भावना छ', नेपालखबर कुरा गर्दै चौधरीले भने।
बैठकमा सहभागी अर्की सांसदले आज देउवाको पक्षमा कम्तीमा ४५ देखि ४५ एमाले सांसद उभिने दाबी गरेकी छन्। उनले संसदलाई पूरा आयु बचाउँदै संविधान र लोकतन्त्रको रक्षाका लागि देउवालाई विश्वासको मत दिने निर्णय आफ्नो समूहले गरिसकेको बताएकी छन्।
एमाले मिलाउने वार्ता तीव्र हुन थालेपछि देउवाले हतार हतार विश्वासको मत लिन लागेका हुन्। ओली-नेपाल विवाद जुनसुकै समय मिल्न सक्ने अवस्थामा आफू जोखिममा पर्ने आँकलनसहित देउवाले अचानक विश्वासको मत लिन लागेका हुन्।
यस्तोमा एमालेले देउवालाई विश्वासको मत नदिने संस्थागत निर्णय गरिसकेको छ भने नेपाल पक्षले देउवाको सरकार जोगाएर संसदलाई पूरा अवधि चल्न दिने निर्णय लिइसकेको छ।
Shares
प्रतिक्रिया