राजनीति


प्रचण्ड स्टाइलमा प्रधानमन्त्री देउवाले फेरे कुर्सीको ‘पोजिसन’

प्रचण्ड स्टाइलमा प्रधानमन्त्री देउवाले फेरे कुर्सीको ‘पोजिसन’

शनिबार (९ साउन) भएको सत्ता गठबन्धनको बैठकमा प्रम देउवा सहित नेताहरु (तस्बिरः प्रधानमन्त्रीको सचिवालय)


नेपालखबर
साउन ९, २०७८ शनिबार २१:५४,

प्रधानमन्त्री शेरबहादुर देउवाको सम्मानमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले आफ्नो निवासको कुर्सीको ‘लोकेसन’ परिवर्तन गरेका गरेका थिए। 

‘जवाफ’मा प्रधानमन्त्री देउवाले पनि सत्ता गठबन्धनका नेताहरुको सम्मानमा शनिबार अपरान्ह भएको बैठकमा आफू बस्ने स्थान परिवर्तन गरेका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार अपरान्ह बसेको सत्ता गठबन्धनका नेताहरुको बैठकमा देउवा प्रधानमन्त्रीको कुर्सीमा नबसी सत्ता गठबन्धनका नेता सरह सोफामा बस्न गएका हुन्। 

बैठकमा माओवादी केन्द्रका अध्यक्षका अलावा एमाले बरिष्ठ नेता माधव नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सहभागी थिए। 

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको बैठकको तस्वीरमा राष्ट्रपति विद्या भण्डारीको तस्वीर मुनि प्रधानमन्त्री बस्ने कुर्सी देखिन्छ। तर, प्रधानमन्त्री देउवा त्यहाँ बस्न गएका छैनन्।  

त्यसको साटो उनी दायाँतर्फ आमन्त्रितहरुका लागि छुट्याइएको सोफामा बसेका देखिन्छन्। उनी रहेको सोफाको लहरमा जसपा अध्यक्ष उपेन्द्र यादव छन्।

प्रम देउवा र अध्यक्ष यादवको सम्मुखमा रहेको सोफामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले बरिष्ठ नेता नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष केसी रहेका छन्।

सत्ता गठबन्धनको एक प्रमुख दल माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केही दिनअघि प्रधानमन्त्री देउवाको सम्मानस्वरुप आफ्नो निवासको कुर्सीको पोजिसन नै परिवर्तन गरेपछि प्रधानमन्त्री देउवाले पनि बालुवाटारमा बस्ने कुर्सी परिवर्तन गर्न थालेको देखिएको हो। 

प्रचण्ड पत्नी सीता दाहालको स्वास्थ्यलाभको कामना गर्न प्रधानमन्त्री देउवा ५ साउनमा खुमलटारस्थित प्रचण्ड निवास पुगेका थिए। त्यसक्रममा प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्ड आमनेसामने हुने गरी सोफाको व्यवस्थापन गरिएको थियो। 

अन्य व्यक्तिहरुसँग भेट्दा छुट्टै राखिएको सोफामा बसेर कुराकानी गर्ने प्रचण्डले देउवा र यसअघि केपी ओलीजस्ता नेताहरूका लागि कुर्सीको पोजिसन मिलाउँदै आएका छन्। आफू छुट्टै सोफामा बसेर आगन्तुकहरु बस्ने सोफामा राख्दा प्रधानमन्त्री र शीर्ष नेताप्रति ‘असम्मान’ प्रकट गरेजस्तो देखिने भएकाले प्रचण्ड बस्ने सोफाको स्थान परिवर्तन गरिँदै आएको छ। 

प्रचण्डको व्यवहारबाट सम्मान र मित्रताको सन्देश गएपछि प्रधानमन्त्री देउवाले पनि त्यसको सिको गर्न थालेका हुन्। त्यसअघि प्रधानमन्त्री देउवा छुट्टै सोफा–कुर्सीमा बसेर सत्ता गठबन्धनका नेताहरुसँग बैठक गर्ने गर्थे। ​

देउवाले ३० असारमा प्रधानमन्त्री पदको शपथ लिएका थिए। लगत्तै ३१ असारमा सत्ता गठबन्धनको बैठक भएको थियो। त्यो बैठकपछि प्रधानमन्त्री देउवाको फेसबुकमा राखिएको तस्वीर हेर्दा देउवा प्रधानमन्त्री बनेपछिको गठबन्धनको पहिलो बैठकमा उनी छुट्टै सोफामा बसिरहेका देखिन्छन्।

१ साउनमा प्रधानमन्त्री देउवाले नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलसँगको भेटघाट गरेका थिए। त्यो भेटघाटमा पनि उनी छुट्टै कुर्सीमा बसेका छन्। 

१ साउनमा भएको चिनियाँ राजदूत होउ यान्छीसँगको भेटघाटमा पनि उनी प्रधानमन्त्रीको छुट्टै कुर्सीमा रहेका देखिन्छन्।  

जब ५ असारमा खुमलटार पुग्दा प्रचण्डले आफ्नो सम्मानमा कुर्सीको ‘पोजिसन’ परिवर्तन गरे, त्यसपछि बालुवाटारमा हुने बैठकमा प्रधानमन्त्री देउवाको कुर्सीको पोजिसनपनि परिवर्तन हुन थाल्यो।  

देउवाको फेसबुकबाट सार्वजनिक हुने तस्वीरहरुको अध्ययन गर्दा ५ साउन अघि र त्यसपछिका भेटघाटमा कसरी कुर्सीको ‘पोजिसन’ परिवर्तन हुन थाल्यो, त्यसबारे जानकारी पाउन सकिन्छ।

जस्तो ७ साउनमा प्रधानमन्त्री देउवासँग नेपालका लागि जापानका राजदूत किकुता युकाताले भेट गरेका थिए। प्रधानमन्त्री निवास बालुवाटारमै भएको त्यो भेटमा पनि देउवाले छुट्टै कुर्सी प्रयोग गरेका छैनन्। 

राजदूत युकाता र जापानी राजदूतावासका अन्य अधिकारी सरह प्रधानमन्त्री देउवा अतिथिहरु बस्ने सोफामा आमने–सामने भएर बसेका छन्। 

जापानी राजदूतसँग भेटघाट भएकै दिन बालुटारमै नेपालका लागि अष्ट्रेलियाली राजदूत फेलिसिटी भोल्कले पनि प्रम देउवासँग भेट गरेकी थिइन्। त्यो भेटका क्रममा देउवा र राजदूत भोल्कको कुर्सीको ‘सेटिङ’ कसरी गरिएको थियो, त्यो भने सार्वजनिक भएको तस्वीरमा देखिदैन। 

तर, शनिबार भएको सत्ता गठबन्धनको बैठकमा देउवा प्रधानमन्त्रीको कुर्सीको साटो अन्य नेतासरह सोफामा बसेको तस्वीर सामाजिक सञ्जालमा निकै चर्चित बनेको छ।  

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad