राजनीति


उपेन्द्र यादव सहभागी बैठकमा मुख्यमन्त्री राउतको चर्को आलोचना

उपेन्द्र यादव सहभागी बैठकमा मुख्यमन्त्री राउतको चर्को आलोचना

शैलेन्द्र महतो
भदौ २०, २०७८ आइतबार ९:४२, काठमाडौँ

प्रदेश २ को सत्तारुढ दल जनता समाजावदी पार्टी (जसपा)को संसदीय दलको बैठकमा मुख्यमन्त्री लालबाबु राउतको चर्को आलोचना भएको छ। राउत नेतृत्वको प्रदेश २ सरकारले गरेका कामकारबाहीलाई लिएर उनको तीव्र आलोचना भएको हो। 

अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितिमा शनिबार जसपाका प्रतिनिधिसभा सदस्य, राष्ट्रिय सभा सदस्य र प्रदेश सांसदको जनकपुरमा संयुक्त बैठक बसको थियो। बैठकका अधिकांश सहभागीले लालबाबु राउत सरकारको चर्को आलोचना गरेका हुन्। 

शनिबार दिउँसो १ बजेदेखि राति ९ बजेसम्म चलेको बैठकमा बोल्ने सबैजसो सांसदहरुले प्रदेश सरकार भ्रष्टाचारको आहालमा डुबेको, कामकारबाही ठीक नरहेको, सुशासनको प्रत्याभूति नभएको भन्दै मुख्यमन्त्री राउतको राजीनामासमेत माग गरेका छन्। 

‘आठ घण्टा जति चलेको बैठकमा बोल्ने सबैजसो नेताले सरकारको कामकारबाहीप्रति तीव्र असन्तुष्टि पोख्नुभयो। राउत सरकारले सुशासन, पारदर्शीता र जनताको भावना विपरीत काम गरिरहेको भन्दै आलोचना भयो,’ बैठकमा सहभागी एक सांसदले नेपालखबरसँग भने, ‘मुख्यमन्त्री राउतको कार्यशैलीको कारण भोलि पार्टीलाई क्षति पुग्ने देखिन्छ। त्यही विषय बैठकमा चर्को गरी उठेको छ।’ 

बैठकमा सरकारको काम कारबाही, संगठन सुदृढिकरण अभियान लगायतका विषयमा छलफल भएको छ। ‘प्रदेश सरकारका काम कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बैठकमा मुख्यगरी छलफल भयो,’ प्रदेश सांसद तथा पूर्वमन्त्री ज्ञानेन्द्र यादवले भने।
 

एक महिनाभित्रमा प्रदेश २ सरकारको कामकारबाही गुणस्तरीय बनाउनु पर्ने र प्रत्येक महिना सरकारले गरेका कामको केन्द्रिय स्तरबाट अनुगमन गर्ने निर्णय बैठकले गरेको छ। त्यसको लागि केन्द्रले नै एक अनुगमन समिति बनाउने निर्णय पनि बैठकले गरेको छ।

‘एक महिनाभित्र सरकारको कामकारबाहीमा सुधार हुनुपर्ने, आम नागरिकलाई सुशासनको अनूभुति हुने गरी काम गर्नुपर्ने, सरकारको कामकारबाहीको अनुगमन गर्न केन्द्रियस्तरबाटै एक समिति बनाउने र त्यो समितिले अनुगमन गरेपछि काम कारबाही ठीक भए वा नभएको प्रतिवेदन दिनुपर्ने लगायतका निर्णय बैठकले गरेको छ,’ सांसद यादवले नेपालखबरसँग भने ‘संगठन सुदृढिकरण अभियानलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि बैठकमा छलफल भएको छ।’
 
मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको बैठकमा प्रमुख अतिथि पार्टी अध्यक्ष उपेन्द्र यादव थिए। यादवले नै बैठकमा सरकारको कामकारबाही एक महिनाभित्र सुधार गर्न निर्देशन दिएका हुन्। स्थानीय तहको चुनाव नजिकीदै गरेकाले पार्टीलाई अझै शसक्त र प्रभावकारी बनाएर अघि बढाउन उनले निर्देशन दिएका एक सांसदले बताए।

बैठकमा जसपाका प्रदेश २ का ३७ जना प्रदेश सांसद, जसपाका प्रतिनिधिसभा र राष्ट्रियसभाका सबै सदस्यहरुको उपस्थिति थियो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .