ad ad

राजनीति


सुदूरपश्चिममा मन्त्रिमण्डललाई पूर्णता दिने तयारी, आर्थिक मामिलामा तामाङको सम्भावना

सुदूरपश्चिममा मन्त्रिमण्डललाई पूर्णता दिने तयारी, आर्थिक मामिलामा तामाङको सम्भावना

गोकुल जोशी
भदौ २९, २०७८ मंगलबार १९:३६, महेन्द्रनगर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डललाई पूर्णता दिन तयारी थालेका छन्। रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा पदपूर्ति गर्न अन्तिम तयारी भइरहेको स्रोतले जनाएको छ। 

नेकपा (एमाले) विभाजन पछि सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले भदौ २२ गते राजीनामा दिएका थिए। त्यस पछि रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा बुधवार (भोलि) मन्त्री नियुक्त गर्ने तयारी भइरहेको स्रोतले जनाएको छ। 

‘आर्थिक मन्त्रालय धेरै समय रिक्त राख्नु हुँदैन त्यसैले चाँडो भन्दा चाँडो मन्त्री नियुक्त गर्ने भनेर छलफल भइरहेको छ’ स्रोतले नेपालखबरसँग भन्यो, ‘सम्भवतः भोलि मन्त्री नियुक्त गरेर शपथ ग्रहण हुन्छ।’

आर्थिक मामिला तथा योजनामन्त्रीमा तारालामा तामाङ नियुक्त हुने पक्कापक्की भएको स्रोतको दाबी छ। 

‘केन्द्रबाट पनि मन्त्रीका लागि उहाँ (तारालामा) कै नाम अगाडि सारिएको छ’ स्रोतले भन्यो, ‘त्यसैले उहाँ नै मन्त्री बन्ने पक्का छ।’

तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी भएका थिए। तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत उनले सम्हालिसकेका थिए। माधव नेपाल निकट उनी एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए। नेकपा एमाले विभाजनपछि तामाङले एकीकृत समाजवादी रोजेका हुन्।

एमालेका प्रकाश रावल र अर्चना गहतराजले मन्त्रीबाट राजीनामा दिएपछि रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालय एकीकृत समाजवादीको भागमा परेको छ। तामाङलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा दिने बारेमा मंगलवार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकमा पनि छलफल भएको थियो। 

एकीकृत समाजवादीको संसदीय दलको नेतामा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारी चयन भएका छन्। तामाङ पनि संसदीय दलको नेताको दौडमा थिए। यद्यपी अन्तिममा आएर सोडारीलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरिएको हो।

सुदूरपश्चिममा मुख्यमन्त्रीसहित ९ मन्त्री छन्। एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री (मना कुमारी साउँद र चुनु कुमारी चौधरी) पनि प्रदेश सरकारमा छन्। उता भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा माओवादी केन्द्रकी विनिता देवी चौधरी मन्त्री तथा मान बहादुर सुनार राज्यमन्त्री र मान बहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयकाे जिम्मेवारी पाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .