ad ad

राजनीति


कांग्रेस महाधिवेशन : गच्छदार र थापाको भरोसामा देउवा

कांग्रेस महाधिवेशन : गच्छदार र थापाको भरोसामा देउवा

केशव सावद
असोज १४, २०७८ बिहिबार १७:५३, काठमाडौँ

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेको एक महिना भइसकेको छ।

निधिले लामो समयदेखि सभापति शेरबहादुर देउवालाई साथ दिँदै आएका थिए। निधिले यसरी ‘विद्रोह’ गरेर उम्मेदवारी दिने घोषणा गरेपछि महाधिवेशनमा देउवा कमजोर हुने आकलन गरिँदै आएको छ। देउवाका लागि निधि ‘तगारो’ बन्ने धेरैको अनुमान छ।

तर, देउवा भने आफूले सभापति जित्नेमा ढुक्क देखिन्छन्। उनले निधिसँग उम्मेदवारीका बारेमा कुनै छलफल गरेका छैनन्। 

निधिले गत वर्ष नै देउवालाई आफू १४ औँ महाधिवेशनमा सभापतिको आकांक्षी भएको बताउँदै उनको साथ मागेका थिए। गत साउन ५ गते पनि उनले देउवालाई सोही आग्रह गरेका थिए। साउन १२ मा उनले उम्मेदवारी घोषणा नै गरे। 

गच्छदार र थापाको साथ पाउने देउवाको विश्वास
तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदार र राप्रपाका तत्कालीन महामन्त्री सुनिलबहादुर थापा समूहको साथ पाउनेमा निश्चित भएका कारण निधिको उम्मेदवारीबाट देउवा विचलित नभएको नेताहरुको भनाइ छ। 

गच्छदार समूहले देशभर पाएको २३ हजार र थापा समूहले पाएको नौ हजार क्रियाशील सदस्यमध्येबाट आउने महाधिवेशन प्रतिनिधिले आफूलाई सघाउनेमा देउवा ढुक्क देखिन्छन्। 

यस्तै, निधि सभापतिमा उम्मेदवार बने इतर समूहले साझा उम्मेदवार तय गर्न नसक्ने देउवाको विश्वास छ। साझा उम्मेदवार नभए आफूले जित्नेमा देउवा आशावादी छन्।

देउवानिकट नेताहरुले गच्छदार र थापानिकट केन्द्रीय महाधिवेशनमा आउने ६ सय बढी प्रतिनिधिले संस्थापन समूहलाई सघाउने दाबी गरेका छन्।

‘महाधिवेशन जित्नेमा कुनै दुविधा छैन। महाधिवेशन ढिलोचाँडो मात्र हो,’ देउवानिकट एक नेताले नेपालखबरसँग भने।

गच्छदारनिकट केन्द्रीय सदस्य रामजनम चौधरीले महाधिवेशनमा आफ्नो समूहका पाँच सय प्रतिनिधि आउने आकलन गरे। यस्तै थापानिकट केन्द्रीय सदस्य किरण गिरीले आप्mनो समूहबाट दुई सयभन्दा बढी प्रतिनिधिहरु आउने बताए।

देउवालाई सघाउनु राजनीतिक धर्मः थापा समूह 
राप्रपाबाट कांग्रेसमा प्रवेश गरेको समूहले सभापति देउवालाई सघाउने भएको छ। यद्यपि, सभापतिबाहेकका पदमा भने उक्त समूहले अन्य उम्मेदवारलाई पनि मत दिनसक्ने नेताहरुको भनाइ छ।

केन्द्रीय सदस्य गिरीले महाधिवेशनमा देउवालाई सभापतिमा जिताउनु आफूहरुको राजनीतिक धर्म भएको बताए। 

‘सभापतिमार्फत नै कांग्रेस प्रवेश गरेका कारण नैतिक, राजनीतिक र निष्ठागत रुपमा उहाँलाई नै सहयोग गरेर अगाडि बढ्छौं,’ केन्द्रीय सदस्य गिरीले नेपालखबरसँग भने, ‘यो हाम्रो राजनीतिक धर्म र आदर्श हो।’

उनले सभापतिबाहेकका पदमा अन्य समूहसँग पनि आफूहरु सहकार्यका लागि तयार रहेको समेत बताए। 

‘सभापतिबाहेकका पदमा अरुलाई पनि साथ, सहयोग र समर्थन गरेर अगाडि बढ्न सक्छौं,’ गिरीले भने। 

राप्रपाबाट तत्कालीन महामन्त्री थापाको समूह पार्टीमा प्रवेश गरेपछि कांग्रेसले एक सहमहामन्त्री, ६ केन्द्रीय सदस्य, तीन आमन्त्रित केन्द्रीय सदस्य र ९ हजार क्रियाशील सदस्यता दिने सहमति गरेको थियो। 

जसअनुसार थापालाई सहमहामन्त्री बनाइएको थियो। किरण गिरी, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, रामकृष्ण भट्टराई, वृजलाल यादव तथा टीएन योगी केन्द्रीय सदस्य भए भने दीलिप राई, राजेशबहादुर सिंह र आशाराम चौधरी आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका थिए।    

देउवालाई समर्थन गर्नेमा कुनै शंका छैनः गच्छदार समूह
२०७४ को प्रतिनिधि सभा चुनावअघि कांग्रेसले लोकतान्त्रिक फोरमलाई समाहित गरेको थियो। गच्छदारलाई उपसभापतिसहित सो समूहलाई १२ केन्द्रीय सदस्य, २५ हजार क्रियाशील सदस्य र दुई सय महासमिति सदस्य दिने सहमति भएको थियो।

२०७४ असोज ३० मा कांग्रेस प्रवेश गरेका गच्छदारलाई देउवाले झण्डै एक वर्षपछि उपसभापति मनोनित गरेका थिए। अर्को वर्षपछि २०७६ फागुन ११ मा ११ जनालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए। 

कांग्रेसले फोरम लोकतान्त्रिकबाट आएका नेताहरुलाई कञ्चनपुर, कैलाली, बर्दिया, बाँके, दाङ, सप्तरी, सर्लाही, पर्सा, बारा, झापा, मोरङ, सुनसरीमा पदाधिकारीसहित जिल्ला कार्यसमितिमा भूमिका दिएको छ।

गच्छेदारले आफू कुनै समूहमा नरहेको दाबी गर्दै आए पनि उनी देउवा समूहकै नेताका रुपमा चिनिन्छन्। उनलाई उपसभापति बनाउँदा रामचन्द्र पौडेल समूहले असन्तुष्टि जनाएको थियो। देउवाले गच्छदारलाई भित्र्याएर थप शक्ति आर्जन गरेको संस्थापन इतरको बुझाइ थियो। 

सभापति देउवासँगको पुरानो निकटता र ललिता निवास प्रकरणले पनि गच्छदारको समर्थन संस्थापन समूहलाई नै हुने देउवानिकट नेताहरुको भनाइ छ। 

‘ललिता निवासको मुद्दाले पनि शेरबहादुर दाइसँग विजय दाइले दुरी बढाउने परिस्थिति देखिन्न,’ देउवानिकट एक नेताले भने, ‘महाधिवेशनमा विजय दाइले शेरबहादुर दाइलाई सघाउनेमा शंका नै छैन।’ 

गच्छदारनिकट एक केन्द्रीय सदस्यले भने, ‘विजय दाइलाई उपसभापति बनाउँदाको किचलो तपाईंलाई याद छ होला। सहमतिअनुसारैको पद दिँदा रोक्न खोज्नेलाई साथ दिइन्छ होला र? महाधिवेशनमा देखिहाल्नुहुन्छ नि।’

पहिलो चरणमै जित्ने दाउ!
सभापति देउवाको समूह निर्वाचनको पहिलो चरणमै नतिजा ल्याउने गरी तयारी गरिरहेको छ। देउवा जिताउने लक्ष्यका साथ अधिवेशनको काममा खटिएका एक प्रभावशाली नेताले पहिलो चरणमै देउवा विजयी हुने बताए।

‘पहिलो राउन्डमै २५ सयभन्दा बढी मतका साथ नतिजा आप्mनो पक्षमा पार्ने गरी रणनीति बनाएर काम गरिरहेका छौं,’ ती नेताले भने, ‘सेकेन्ड राउन्डमा जाँदा जोखिम हुन सक्छ भन्ने हामीले बुझेका छौं।’ 

पहिलो चरणमै नतिजा ल्याउन सम्भव छ त?

ती नेताले भने, ‘सेकन्ड राउन्डको हामीले आकलन नै गरेका छैनौँ। जित्नेमा कुनै दुविधा नै छैन।’ 

केन्द्रीय सदस्य गिरीले पनि देउवाले पहिलो चरणमै ६० प्रतिशत मत ल्याएर पार्टी नेतृत्व हासिल गर्ने दाबी गरेका छन्।

‘१४ औं महाधिवेशनका पालिका अधिवेशनहरुमा देउवा पक्षको वर्चस्व,’ उनले फेसबुकमा लेखेका छन्, ‘पहिलो राउन्डमा नै ६० प्रतिशत मत ल्याएर नेतृत्व हासिल गर्ने देउवा पक्षको तयारी।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .