ad ad

राजनीति


पहिले झुक्याइएका डोबाटे विश्वकर्मालाई अहिले मन्त्री बनाइँदै

पहिले झुक्याइएका डोबाटे विश्वकर्मालाई अहिले मन्त्री बनाइँदै

वाशुदेव मिश्र
असोज २५, २०७८ सोमबार १०:५२, काठमाडौँ

गण्डकी प्रदेशको मन्त्रिपरिषद् अब १२ सदस्यीय हुने भएको छ। यसअघि अन्तिम समयमा मन्त्री बनाउने सूचीबाट नाम काटिएका तनहुँका डोबाटे विश्वकर्मालाई पनि मन्त्रिपरिषद्मा समावेश गर्ने निर्णय गरिएकाे हाे।

याेसँगै गण्डकी सरकारमा मन्त्रीको संख्या १२ पुग्ने भएको हो।

नेपाली कांग्रेसका सांसद डोबाटेको आजै शपथ हुने नेपाली कांग्रेस कास्की स्रोतले बताएको छ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा पोखरा आएकै बेला डोबाटेलाई मन्त्री बनाउने सहमति जुटेको हो। यसअघि त्यागी डोबाटेलाई मन्त्री नबनाएकामा कांग्रेसको आलोचना भएको थियो।

गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली तथा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलको रोजाइमा परेका उनलाई मन्त्री बनाउन पार्टी सभापति देउवा सहमत भएको कांग्रेस स्रोतले बतायो।

६० सदस्यीय प्रदेश सभामा १२ जनासम्म मन्त्री बनाउन सकिन्छ।

‘डोबाटेलाई कुन मन्त्रालय दिने भन्ने टुंगो त लागेको छैन तर उहाँ मन्त्री बन्ने पक्का भयो’,नेपाली कांग्रेस स्रोतले नेपालखबरसँग भन्यो, ‘यसअघि नै मुख्यमन्त्रीज्यूले डोबाटेलाई मन्त्री बनाउने प्रस्ताव सभापतिसमक्ष राख्नुभएको थियो, सभापति पोखरा आएका बेला सहमति जुुटेको हो।’

अहिले मुख्यमन्त्रीकै जिम्मेवारीमा गृहमन्त्रालय छ। गण्डकीमा नेपाली कांग्रेसका सभापति देउवाको वर्चस्व कमजोर छ।

पुनः सभापति बन्ने दौडमा रहेका देउवाले संघीय सरकारको मन्त्रिपरिषद् बिस्तारमा रामचन्द्र पौडेल समूहलाई पेलेरै अगाडि बढेका थिए। केन्द्रमा पेलेर अगाडि बढेका देउवाले डोबाटेलाई मन्त्री बनाएर पुनः रामचन्द्रलाई फकाउने रणनीति अख्तियार गरेको पनि कांग्रेस स्रोतकाे दाबी छ।

त्यसो त यहाँ कानुन, सञ्चार तथा प्रदेश सभा मामिलामन्त्री बनेका विन्दुकुमार थापा पछिल्लो समय मन्त्रालय परिवर्तनको दौडमा देखिएका छन्। कानुन मन्त्रालयसँग खासै अधिकार नभएको र बजेट पनि सानो भएकाले मन्त्रालय परिवर्तनको लागि उनले सभापति देउवासँग लविङ गरिरहेको स्रोतको जिकिर छ।

‘सांसद थापाको माग पूरा गर्न पनि मिल्ने यता रामचन्द्रलाई थुम्थुम्याउन पनि सकिने देखेपछि सभापति पनि सहमत भएको हुनसक्ने सम्भावना पनि छ, स्रोतले भन्यो, ‘जे होस् डोबाटेमाथि न्याय नै हुने भएको छ।’

यसअघि मन्त्री नबनाइएपछि डोबाटेले विधायन समितिको सभापति अस्वीकार गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .