ad ad

राजनीति


धमाधम फर्किंदै राजदूतहरू, कर्मचारीको भरमा दूतावास

धमाधम फर्किंदै राजदूतहरू, कर्मचारीको भरमा दूतावास

सन्तोष घिमिरे
कात्तिक ४, २०७८ बिहिबार २१:२, काठमाडौँ

सरकारले फिर्ता डाकेका चीन, बेलायत लगायत मुलुकमा रहेका राजदूत फर्किने क्रम जारी छ। केही राजदूतहरु भने केही साताअघि नै फर्किसकेका छन्। 

यससँगै नयाँ राजदूत नियुक्त नहुँदासम्म विदेशस्थित नेपाली दूतावास तल्लो तहका कर्मचारीको भरमा चल्ने भएका छन्। कतिपय दूतावासमा अधिकृत तहका कर्मचारी कार्यवाहक राजदूतको जिम्मेवारीमा रहनेछन्। 

असोज पहिलो साता मन्त्रिपरिषद् बैठकले ओली सरकारको पालामा राजनीतिक कोटामा नियुक्त सबै राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। उनीहरुलाई स्वदेश फर्किन एक महिनाको समय दिइएको थियो।  

नेपालको परराष्ट्र नीति सञ्चालनमा महत्वपूर्ण मानिने भारत, चीन र अमेरिकाजस्ता मुलुकका दूतावासमा लामो समय राजदूत पद रिक्त राख्न नहुने कूटनीतिक मामिलाका जानकार बताउँछन्। 

सरकारले भारत, चीन, अमेरिका, बेलायत, कतार, मलेसिया, जापान, बंगलादेश, ओमान, स्पेन, दक्षिण अफ्रिका, म्यानमार, इजिप्ट, साउदी अरेबिया, अस्ट्रेलिया, श्रीलंका, बहराइन, इजरायल, डेनमार्क, रुस र अस्ट्रियामा राजदूत नियुक्तिको सिफारिसका लागि गृहकार्य अघि बढाएको छ।

भारत, बंगलादेश, कतार र स्पेनबाट राजदूत फर्के 
भारतका लागि नेपाली राजदूत नीलाम्बर आचार्य बुधबार स्वदेश फर्किएका छन्। पूर्वकानुनमन्त्री समेत रहेका आचार्य सन् २०१९ फेब्रुअरी महिनामा भारतका लागि राजदूत नियुक्त भएका थिए। नेपाल भारत प्रबुद्ध समूहका पूर्वसदस्य आचार्यलाई प्रधानमन्त्री ओलीकै विशेष जोडबलमा राजदूत नियुक्ति गरिएको थियो। आचार्य स्वदेश फर्किपछि उपनियोग प्रमुख एवं परराष्ट्र सहसचिव रामप्रसाद सुवेदी कार्यवाहक राजदूतको जिम्मेवारीमा छन्। 

बंगलादेशस्थित राजदूत वंशीधर मिश्र बिहीबार स्वदेश फर्किएका छन्। मिश्र पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निकट मानिन्छन्। मिश्र स्वदेश फर्केपछि परराष्ट्र उपसचिव कुमार राई कार्यवाहक राजदूतको जिम्मेवारीमा छन्। 

यो पनिः 
जो राजदूत भएर फर्किए, तिनै फेरि जान दौडमा

कतारस्थित नेपाली राजदूत नारद भारद्वाज वाग्ले मंगलबार स्वदेश फर्किएका छन्। कतार नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य हो। करिब ४ लाख नेपाली श्रमिक कतारमा छन्। वाग्ले स्वदेश फर्केपछि उपसचिव लक्ष्मण खनाल कार्यवाहक राजदूतको जिम्मेवारीमा छन्। ​

चाँडै स्वदेश फर्किनेमा प्रधानमन्त्रीकी सासू पनि 
जापानस्थित नेपाली राजदूत प्रतिभा राणा अक्टोबर ८ मा स्वदेश फर्किसकेकी छिन्। प्रधानमन्त्री शेरबहादुर देउवाकी सासू राणा राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ हुन्। माओवादी—कांग्रेस—राप्रपा गठबन्धन सरकारले राणालाई सन् २०१७ अप्रिलमा राजदूत नियुक्ति गरेको थियो। 

केपी शर्मा ओली नेतृत्वको सरकारले अन्य मुलुकमा रहेका राजदूत फिर्ता डाकेपनि राणालाई फिर्ता बोलाएन। बरु उनको कार्यकाल थप गरेको थियो। प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दलका नेता देउवालाई ‘खुसी पार्न’ उनकी सासूलाई राजदूतमा निरन्तरता दिएको चर्चा भएको थियो। राणा फर्केपछि उपनियोग प्रमुख अम्बिका जोशी कार्यवाहक राजदूतको जिम्मेवारीमा छन्। 

स्पेनस्थित नेपाली राजदूत दावा फुटी शेर्पा बुधबार स्वदेश फर्केकी छन्। उनले विज्ञप्ति जारी गर्दै आफू राजदूत नरहे पनि नेपालको हितमा अबका दिनमा सक्रिय रहने उल्लेख गरेकी छिन्। आफू दुई वर्ष स्पेन रहँदा नेपाल र स्पेनबीचको सम्बन्ध सुदृढ बनेको उनले बताएकी छन्। नेपाल कोरोना महामारी दोश्रो लहरले आक्रान्त बनेका बेला राजदूत शेर्पाको पहलमा स्पेनले उल्लेख्य मात्रामा स्वास्थ्य सामाग्री पठाएको थियो। 

चीनमा राजदूत र सहसचिव दुवै खाली हुँदै, पाण्डे मंगलबार फर्किने 
चीनस्थित नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे आगामी मंगलबार स्वदेश फर्किंदैछन्। उनले बिहीबारमात्रै चिनियाँ विदेशमन्त्री वाङ यीसँग विदाइ भेट गरे। 

पाण्डे फर्केपछि दूतावासका काउन्सलर कौशलकिशोर राय कार्यवाहक राजदूतको जिम्मेवारीमा रहनेछन्। बेइजिङस्थित नेपाली दूतावासमा सहसचिवको दरबन्दीमा उपनियोग प्रमुख रहन्छन्। सहसचिव सुशीलकुमार लम्साल केही महिनाअघि स्वदेश फर्केपछि परराष्ट्र मन्त्रालयले उनको स्थानमा कसैलाई खटाएको छैन। 

मन्त्रालयका सहसचिवहरु बेइजिङ पोस्टिङ जान अनिच्छुक देखिएका छन्। 

‘सरकारले राजदूत नियुक्ति सिफारिसको गृहकार्य गरिरहेको छ, जसमा मन्त्रालयबाट कम्तीमा ६ जना सहसचिव पर्ने चर्चा छ। अधिकांश सहसचिव यतिबेला राजदूत बन्ने दौडमा छन्। त्यसैले बेइजिङ कसैको रोजाइमा छैन,’ मन्त्रालयका एक अधिकारीले नेपालखबरसँग भने। 

अमेरिकाबाट खतिवडा १५ गते फिर्ता हुँदै
अमेरिकाबाट फिर्ता डाकिएका डा. युवराज खतिवडा कात्तिक १५ गते स्वदेश फर्किने तयारीमा छन्। ओलीनिकट खतिवडा राजदूत हुनुअघि अर्थमन्त्री थिए। 

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष तथा राष्ट्रबैंकका पूर्वगभर्नर खतिवडा अर्थशास्त्री हुन्। खतिवडा वासिङ्टनबाट फर्केपछि उपनियोग प्रमुख कुमारराज खरेल कार्यवाहक राजदूतको जिम्मेवारीमा रहनेछन्। 

बेलायतबाट रेग्मी अक्टोबर २४ मा फर्किने 
बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी अक्टोबर २४ मा नेपाल फर्किंदै छन्। पूर्वमुख्यसचिव रेग्मीलाई पनि ओली सरकारले नियुक्त गरेको थियो। 

कात्तिक तेश्रो साता प्रधानमन्त्री शेरबहादुर देउवा बेलायत जाँदैछन्। तर, त्यहाँ नेपाली राजदूत पद खाली रहनेछ। 

रेग्मी फर्केपछि परराष्ट्र उपसचिव रोशन खनाल कार्यवाहक राजदूतको जिम्मेवारीमा रहनेछिन्। 

प्रधानमन्त्री स्कटल्यान्डमा जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलनमा भाग लिँदै छन्। त्यसअलावा उनी लन्डन पनि जानेगरी भ्रमण कार्यक्रम बनाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .