ad ad

राजनीति


विज्ञ र अनुभवीलाई भारत, अमेरिका र बेलायतमा राजदूतको जिम्मेवारी

विज्ञ र अनुभवीलाई भारत, अमेरिका र बेलायतमा राजदूतको जिम्मेवारी

सन्तोष घिमिरे
कात्तिक ११, २०७८ बिहिबार १९:५७, काठमाडौँ

सरकारले भारत, अमेरिका र बेलायतका लागि राजदूतमा कूटनीतिक सम्बन्ध सञ्चालनमा विज्ञता हासिल गरेका व्यक्तिलाई सिफारिस गरेको छ। 

शंकर शर्मा, श्रीधर खत्री र ज्ञानचन्द्र आचार्य विगतमा मुलुकको परराष्ट्र सम्बन्ध सञ्चालनमा प्रत्यक्ष संलग्न व्यक्ति हुन्। तीनै जना नेपाली कांग्रेसको कोटामा राजदूत सिफारिस भएका हुन्। 

विगतमा राजनीतिक भागबण्डामा नियुक्त राजदूतका योग्यता, अनुभव र व्यक्तिगत छविमाथि प्रश्न उठ्ने गरेका थिए। मुलुकको कूटनीति तथा परराष्ट्र सम्बन्धको सामान्य ज्ञान समेत नभएकालाई राजनीतिक भागबण्डाका आधारमा राजदूत पद बक्सिस दिने परिपाटी बसेको भन्दै सरकारको तीव्र आलोचना हुने गरेको थियो। 

राजनीतिक दलमा आबद्ध या दलनिकट व्यापारी तथा बिचौलिया समेत राजदूत पदमा नियुक्त भएका उदाहरण छन्। परराष्ट्र सेवाबाट नियुक्त राजदूतको कार्यक्षमता र योग्यतामाथि यदाकदा आलोचना हुने गरेको भए पनि राजनीतिक कोटाबाट राजदूत नियुक्ति प्रक्रिया सधै विवादमा पर्ने गरेको छ।

त्यस्तो अभ्यास तोड्दै देउवा नेतृत्वको सरकारले अहिले भारत, अमेरिका र बेलायतजस्ता नेपालको परराष्ट्र सम्बन्धमा महत्वपूर्ण अर्थ राख्ने मुलुकमा जानकार तथा अनुभवीलाई राजदूत सिफारिस गरेको छ। 

शंकर शर्मा 
भारतका लागि राजदूतमा सिफारिस भएका शर्मा ख्यातिप्राप्त अर्थविद् हुन्। उनले नेपाल—भारत आर्थिक सम्बन्धमा देखिएका समस्या समाधान गर्न प्रभावकारी भूमिका खेल्नसक्ने अपेक्षा लिइएको छ। नेपालको भारतसँग चर्को व्यापारघाटा छ। उनले आर्थिक कूटनीति प्रबद्र्धन गर्न सक्छन्।

शर्माले अमेरिकाको हवाई युनिभर्सिटीबाट अर्थशास्त्रमा पीएचडी गरेका छन्। सन् २००२ देखि २००६ सम्म उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्ष थिए। 

सन् २००९ देखि २०१३ सम्म अमेरिकाका लागि नेपाली राजदूत रहँदा प्रभावकारी कूटनीति सञ्चालन गरेकोमा वाहवाही कमाएका थिए। 

शर्माले पिसकोर भोलिन्टियर नेपालमा पुनः फर्काउन, अमेरिकी संसदमा नेपाल ‘ककस’ समूह खडा गर्न र अमेरिकासँग व्यापारसम्बन्धी द्विपक्षीय टिफा सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेका थिए। 

यस्तै त्यहाँस्थित नेपाली समुदायमाझ उनले राम्रो छवि बनाउन समेत सफल भएका थिए। त्यसबेला राजनीतिक कोटामा राजदूतको नियुक्ति पाएकामध्ये उत्कृष्ट ‘पर्फमेन्स’ देखाउने शर्मा पनि एक थिए।  

श्रीधर खत्री
अमेरिकाका लागि राजदूत सिफारिस श्रीधर खत्री परराष्ट्रविद् हुन्। भूराजनीति, सैन्य कूटनीति तथा सामरिक मामिलामा उनीसँग राम्रो ज्ञान छ। उनी नेपाल—अमेरिका सम्बन्ध तथा अमेरिकी राजनीति बुझेका व्यक्ति हुन्। 

पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव तथा अमेरिकाका लागि पूर्व नेपाली राजदूत पदमबहादुर खत्रीका छोरा हुन् उनी। सैनिक पृष्ठभूमिका पदमबहादुरलाई तत्कालीन राजा वीरेन्द्रले सन् १९८२ मा परराष्ट्रमन्त्री नियुक्त गरेका थिए। 

श्रीधर खत्री सन् २००१ देखि सन् २००२ सम्म परराष्ट्र मन्त्रालयअन्तर्गतको थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक थिए। खत्रीसँग त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र अध्यापन गरेको अनुभव समेत छ। 

त्यसअलावा खत्रीले काठमाडौँ र श्रीलंकामा रही विभिन्न थिंक ट्यांकको नेतृत्व गरेका थिए। उनले न्युयोर्कको कोलम्बिया विश्वविद्यालयबाट अन्र्तराष्ट्रिय सम्बन्धमा स्नातकोत्तर गरेका छन्। उनी सन् १९८९ देखि १९९० सम्म बेलायतको प्रख्यात लन्डन स्कुल अफ इकोनोमिक्सका भिजिटिङ स्कलर समेत थिए। खत्रीले भूराजनीतिक तथा सामारिक मामिलामा थुप्रै पुस्तकको लेखन, सहलेखन तथा सम्पादन गरेका छन्। 

ज्ञानचन्द्र आचार्य 
बेलायतका लागि राजदूतमा सिफारिस ज्ञानचन्द्र आचार्य पूर्वपरराष्ट्र सचिव (सन् २००७ देखि सन् २००९) हुन्। आचार्यले सन् २०१२ देखि सन् २०१७ सम्म संयुक्त राष्ट्रसंघीय उपमहासचिवका रुपमा काम गरेका थिए। 

२९ वर्ष नेपालको परराष्ट्र सेवामा बिताएका आचार्य संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कमा सन् २००९ देखि सन् २०१२ सम्म स्थायी प्रतिनिधि थिए। 

उनी सन् २००३ देखि सन् २००७ सम्म संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग जेनेभामा स्थायी प्रतिनिधि थिए। उनले सन् २०१७ मा प्रधानमन्त्री शेरबहादुर देउवाको विशेष आर्थिक सल्लाहकार रुपमा काम गरेका थिए। 

 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .