ad ad

राजनीति


शर्मा र आचार्यलाई दोहोर्‍याएर राजदूत बनाइएकामा कांग्रेसमै असन्तुष्टि, खत्री नयाँ अनुहार

शर्मा र आचार्यलाई दोहोर्‍याएर राजदूत बनाइएकामा कांग्रेसमै असन्तुष्टि, खत्री नयाँ अनुहार

शंकर शर्मा भारत, ज्ञानचन्द्र आचार्य बेलायत र श्रीधर खत्री अमेरिकाका लागि राजदूत सिफारिस भएका छन्


सन्तोष घिमिरे
कात्तिक १३, २०७८ शनिबार २२:९, काठमाडौँ

सरकारले बिहीबार भारत, बेलायत र अमेरिकाका लागि राजदूतको नाम सिफारिस गरेको छ। भारत र बेलायतका लागि सिफारिस गरिएका शंकर शर्मा र ज्ञानचन्द्र आचार्य पहिले पनि राजदूत भइसकेका व्यक्ति हुन्, राजदूतको जिम्मेवारी पहिलोपटक पाउने अमेरिकाका लागि सिफारिस भएका श्रीधर खत्री मात्रै हुन्।

तीनै जना नेपाली कांग्रेसको कोटाबाट राजदूतमा सिफारिस गरिएका हुन्। एकै व्यक्तिलाई महत्त्वपूर्ण देशमा दोहोर्याएर राजदूत बनाउन लागिएको भन्दै कांग्रेसभित्र र बाहिरबाट पनि प्रश्न उठाइएका छन्।

शैक्षिक योग्यता, कूटनीतिक ज्ञान र अनुभवका हिसाबले उपयुक्त व्यक्ति भए पनि पटकपटक कूटनीतिक पदमा बसेर लाभ लिइसकेका उनीहरूलाई पुनः अवसर दिनु न्यायोचित हो कि होइन भन्ने कुरामा कूटनीतिक क्षेत्रका जानकार एकमत छैनन्। 

एकथरी पहिले राम्रो काम गरिसकेकालाई दोहोर्याउनु उचित हो भन्ने  तर्क गर्छन् भने अर्काथरी नयाँ व्यक्तिलाई अवसर दिएर हेरिएको भए हुन्थ्यो भनिरहेका छन्, खासगरी युवा पुस्ता।  

हाल भारतका लागि सिफारिस भएका शर्मा लामो समयदेखि कांग्रेसनिकट अर्थशास्त्रीका रूपमा चिनिन्छन्। उनी कांग्रेसको सिफारिसमा सन् २०५९ देखि २०६२ सम्म राष्ट्रिय योजना आयोगको उपाध्यक्ष बनेका थिए। त्यसपछि उनलाई एमाले—कांग्रेस गठबन्धन सरकारले २०६६ देखि २०७० सम्म अमेरिकाका लागि राजदूत बनाएको थियो। अर्थविद् डा. शर्मा त्यतिबेला पनि कांग्रेस कोटामै राजदूत बनेका थिए।  

आचार्य पूर्वपरराष्ट्र सचिव हुन्। परराष्ट्र सेवामा रहँदा नै उनले संयुक्त राष्ट्र संघका लागि नेपाली नियोग (जेनेभा) मा स्थायी प्रतिनिधिका रूपमा नियुक्ति पाएका थिए। परराष्ट्र सचिवबाट निवृत्त हुँदै गर्दा आचार्यलाई न्युयोर्कस्थित स्थायी प्रतिनिधि बनाइएको थियो। सो जिम्मेवारी ४ वर्ष निर्वाह गरेका आचार्य लगत्तै अति कम विकसित, भूपरिवेष्ठित विकासशील र विकासशील साना टापु हेर्ने संयुक्त राष्ट्रसंघीय उपमहासचिव बनाइए। यो महत्त्वपूर्ण जिम्मेवारी सकेर स्वदेश फर्केपछि पनि उनी खाली रहनु परेन। उनलाई तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले विशेष आर्थिक सल्लाहकार बनाए। प्रधानमन्त्री देउवासँग आचार्यको लामो समयदेखि राम्रो सम्बन्ध रहेको बताइन्छ। 

कांग्रेसभित्रै असन्तुष्टि 
शर्मालाई प्रधानमन्त्री देउवाकी पत्नीले राजदूतका रूपमा भारत पठाउन विशेष जोडबल गरेको स्रोत बताउँछ। आचार्यलाई चाहिँ परराष्ट्रमन्त्री डा. नारायण खड्काले राजदूत बनिदिन आग्रह गरेका हुन्। शर्मा र आचार्य कूटनीतिमा अनुभवी व्यक्ति हुन्। उनीहरूको कार्यक्षमता र योग्यताप्रति कसैले प्रश्न नउठाए पनि पटकपटक एउटै व्यक्तिलाई लाभको पद दिइएको भनेर कांग्रेसभित्र एकथरीले असन्तुष्टि जनाएका छन्। 

‘डा. शर्मा र ज्ञानचन्द्रबाहेक कांग्रेसभित्र अरू कोही भारत र बेलायतजस्ता मुलुकमा राजदूत बन्न योग्य व्यक्ति नै छैनन् कि भन्ने भान हुनेगरी सरकारले उनीहरूलाई राजदूत सिफारिस गरेको छ। उनीहरूको क्षमता, अनुभव र योग्यतामा खोट लगाउने ठाउँ त नहोला। तर तिनै व्यक्ति कतिपटक दोहोर्याइराख्ने भन्ने कुरा पनि विचार गरिनुपर्ने होइन र’, कांग्रेसनिकट एक पूर्वराजदूतले नेपालखबरसँग भने। 

कांग्रेसको विदेश विभागका पूर्वसदस्यहरूले पनि असन्तुष्टी जनाएका छन्। ​

भारतका लागि शर्मा उपयुक्त पात्र होइनन् : कर्मचारी वृत्त 
शर्मा राजदूत हुन संसदीय सुनुवाइ, भारतबाट एग्रिमो (सहमति) पाउनेलगायत औपचारिक प्रक्रिया त बाँकी नै छन्। यहीबीच परराष्ट्र मन्त्रालयको कर्मचारी वृत्तमा उनी भारतका लागि राजदूत बन्न उपयुक्त पात्र नभएको बुझाइ छ। 

डा. शर्मालाई नजिकबाट चिनेका मन्त्रालयका एक उच्च अधिकारी भन्छन्, ‘अमेरिकामा राजदूत हुँदा कार्यकाल राम्रो रह्यो। तर, भारतमा उहाँका लागि सफलता पाउन गाह्रो पर्ने देखिन्छ। किनकि उहाँको भारतीय सरकारी पक्षसँग खासै व्यक्तिगत सम्पर्क र पहुँच छैन।’ 

राजदूत भएर गएपछि भारतसँग आर्थिक मुद्दामा सहकार्य बढाउन शर्माले कोसिस त गर्नसक्छन् तर सफल हुन गाह्रो रहेको उनको दाबी छ। 

‘आर्थिक सहकार्यभन्दा भारतसँग राजनीतिक र सुरक्षासँग जोडिएका विषयले नै प्रधानता पाउने गर्छन्। द्विपक्षीय बैठकमा धेरैजसो भारतीय पक्ष हावी हुने गर्छ। त्यसैले आर्थिक सहकार्यका मुद्दामा पनि भारतसँग उहाँले खासै उपलब्धि ल्याउनेगरी काम गर्न सक्नुहोला भन्ने लाग्दैन’, उनले भने। 

नयाँ राजदूत पठाउँदैमा नेपाल–भारत सम्बन्ध सुध्रिन्छ भन्ने त होइन। तर राजदूत भनेका दुई मुलुकबीच उच्च तहमा सम्बन्ध र सम्पर्क बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने पुल हुन्। 

दोहोर्याइ/तेहर्याइ राजदूत हुनेको सूची लामो 
नेपालमा एकै व्यक्तिलाई दोहोर्याइ/तेहर्याइ राजदूत बनाउने चलन नयाँ भने होइन। त्यस्ताको सूची लामै छ। तीमध्ये धेरैजसो राजनीतिक पहुँच र प्रभावका कारण तथा केही परराष्ट्र सेवाबाट राजदूत बनेका थिए। पञ्चायतकालभर र २०४६ को राजनीतिक परिवर्तनपछि पनि यही परिपाटीले निरन्तरता पायो। 

पञ्चायतकालमा परराष्ट्र–सचिव यदुनाथ खनाल अमेरिका, चीन र भारतमा राजदूत बने। त्यस्तै झरेन्द्र नारायण सिंह भारत, बेलायत, रुस र इजिप्टमा गरी चार देशमा राजदूत बनेका थिए। पदमबहादुर खत्री अमेरिकाको वासिङटनस्थित नेपाली दूतावासमा दुईपटक र न्युर्योकस्थित स्थायी नियोगमा एकपटक राजदूत बने। त्यसैगरी डा. भेषबहादुर थापा अमेरिका र भारतका लागि राजदूत भएका थिए। तत्कालीन सहसचिव प्रकाशचन्द्र ठाकुर इटाली र जापानमा राजदूत बनेका थिए। तर पछि नेपालले इटालीमा दूतावासमा बन्द गर्यो। अर्का सहसचिव उपेन्द्रबहादुर बस्नेत पनि पाकिस्तान र बेलायतका लागि नेपालको राजदूत भए। परराष्ट्र सेवाकै शार्दूलशमशेर राणा फ्रान्स र बर्मामा नेपाली राजदूत बने। 

अतिरिक्त सचिव जयप्रताप राणाले अमेरिकाका लागि राजदूत एकपटक र न्युयोर्कस्थित नेपाली स्थायी नियोगका लागि स्थायी प्रतिनिधि पदमा नियुक्ति पाएका थिए। कांग्रेस पृष्ठभूमिका दुर्गेशमान सिंह पनि ब्रसेल्स र भारतमा राजदूत भए। बलबहादुर कुँवर श्रीलंका र पाकिस्तानमा राजदूत बने। त्यस्तै परराष्ट्र सेवाबाटै मदनकुमार भट्टराई जर्मनी र जापानका लागि राजदूत बनेका थिए। उनी जापानमा राजदूत हुनुअघि परराष्ट्र सचिव थिए। 

केही वर्षयता धेरैजसो व्यक्ति राजनीतिक भागबन्डाका आधारमा राजदूतका लागि सिफारिस भएको पाइन्छ। साथै परराष्ट्र सेवाबाट पनि राजदूतमा सिफारिस गर्ने गरिएको छ। राजनीतिक पहुँच र प्रभाव भए– राजनीतिक भागबन्डाबाट होस् वा कूटनीतिक सेवाबाट, दोहोर्याएर राजदूत बनेका उदाहरण पनि छन्। 

जस्तो : तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग काम गरेका डा. सुरेश चालिसे अमेरिका र पछि बेलायतमा राजदूत बने। चालिसेपछि २०६३ यता कांग्रेस पृष्ठभूमिबाट राजनीतिक कोटामा दोहोर्याएर राजदूत बन्नेमा शंकर शर्माको नाम आउँछ। 

परराष्ट्र सेवाबाट २०६३ यता दोहोर्याएर राजदूत बनेकामा सहसचिव अमृतबहादुर राई हुन्। पाँच वर्षअघि उनी दक्षिण अफ्रिकाका लागि नेपालको राजदूत बनेका थिए। तर उनको कार्यकाल सकिन ३ महिना बाँकी छँदै फिर्ता बोलाएर उनलाई तत्कालीन ओली सरकारले न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी प्रतिनिधि बनाएको थियो। कारण थियो– तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको साथ। ओली परराष्ट्रमन्त्री हुँदा निजी सचिवका रूपमा काम गरेका राई ओलीका लागि सधैं प्रिय रहे। 

ज्ञानचन्द्र आचार्यले २०६५ मा परराष्ट्र सचिव रहेकै बेला न्युयोर्कका लागि स्थायी प्रतिनिधि पदमा नियुक्ति पाए। उनै आचार्य अहिले राजनीतिक पहुँचका आधारमा बेलायतका लागि राजदूत सिफारिसमा परेका छन्। 

खत्री भने राजदूतमा नयाँ अनुहार 
अमेरिकाका लागि राजदूतमा सिफारिस गरिएका श्रीधर खत्री भने राजदूत पदमा नयाँ अनुहार हुन्। उनी परराष्ट्रविद् हुन्। भूराजनीति तथा सामरिक मामिलाबारे उनमा राम्रो ज्ञान छ। उनी नेपाल—अमेरिका सम्बन्ध तथा अमेरिकी राजनीति बुझेका व्यक्ति हुन्। उनले नेपालमा सञ्चालित धेरैवटा अमेरिकी परियोजनामा कन्सल्ट्यान्टका रूपमा पनि काम गरेका छन्। 

‘अबका दिनमा काम गर्दा उहाँले स्वार्थ बाझिनेगरी काम गर्नुभयो भने त्यसले मुलुकको हित गर्दैन। यसमा सरकारले हेर्नुपर्छ’, खत्रीबारे जानकार एक पूर्वराजदूतले नेपालखबरसँग भने। 

श्रीधर खत्री पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव तथा अमेरिकाका लागि पूर्वराजदूत पदमबहादुर खत्रीका छोरा हुन्। सैनिक पृष्ठभूमिका पदमबहादुरलाई तत्कालीन राजा वीरेन्द्रले सन् १९८२ मा परराष्ट्रमन्त्री बनाएका थिए। 

श्रीधर खत्री सन् २००१ देखि सन् २००२ सम्म परराष्ट्र मन्त्रालयअन्तर्गतको थिंक ट्यांक परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानमा कार्यकारी निर्देशक थिए। खत्रीले भूराजनीतिक तथा सामारिक मामिलामा पुस्तक लेखन, सहलेखन तथा सम्पादन गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .