राजनीति


प्रधानन्यायाधीशले मागे ६ महिना, न्यायाधीशहरु निर्णय लिन छलफलमा जुटे

प्रधानन्यायाधीशले मागे ६ महिना, न्यायाधीशहरु निर्णय लिन छलफलमा जुटे

फाइल तस्बिर


नेपालखबर
कात्तिक १५, २०७८ सोमबार १३:१२, काठमाडौँ

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि कम्तीमा ६ महिना समय मागेका छन्। 

आइतवार न्यायाधीशहरूले बनाएको तीन सदस्यीय टोलीसँगको छलफलका क्रममा जबराले आफ्नो सम्मानजनक बहिर्गमनका लागि आगामी वैशाखसम्मको समय मागेका हुन्। 

जबराले उक्त समय मागेपछि सोमबार दिउँसो आन्दोलनरत १५ न्यायाधीशहरुको अलग्गै बैठक बसिरहेको छ। उक्त बैठकमा वार्ता टोलीका न्यायाधीशहरु सपना प्रधान मल्ल, अनिलकुमार सिन्हा र मनोजकुमार शर्मा पनि सहभागी छन्। 

उक्त छलफलमा प्रधानन्यायाधीशले राखेको प्रस्तावमाथि आवश्यक निर्णय लिने तयारी न्यायाधीशहरूले गरेका छन्। 

आइतवारको छलफलमा जबराले अहिलेको असामान्य अवस्थामा अपमानित भएर नबाहिरिने बताउँदै केही समय आफैंलाई काम गर्न दिन आग्रह गरेका थिए। एक न्यायाधीशका अनुसार आगामी वैशाखसम्मको समय जबराले मागेका छन्। 

'अहिलेको असामान्य अवस्थामा अपमानित भएर म बाहिरिन्नँ। स्थिति सामान्य अवस्था भएपछि मात्रै जानेछु', उनले आइतवार भनेका थिए, 'दुई चार महिना मलाई काम गर्न दिनुस्।

एक न्यायाधीशका अनुसार आगामी वैशाखमा आफैं पद त्यागेर जान तयार रहेको कुरा जबराले राखेका छन्। 

जबराले आइतवार न्यायाधीशहरूलाई काममा फर्किन र मुद्दाहरूको सुनुवाइ अघि बढाउन प्रस्ताव गरेका थिए। 

जबराले आइतवार उक्त प्रस्ताव गरे पनि सोमबारका लागि ६ वटा इजलासमा १/१ वटा बन्दीप्रत्यक्षीकरणका रिट मात्रै सुनुवाइका लागि पेसी चढाइएको छ।  

अन्य ३ सय ५३ मुद्दा स्थगित गरिएको छ। गत सोमबारदेखि सुनुवाइ स्थगित हुँदा आन्दोलनरत न्यायाधीशमाथि इजलासमा फर्किन दबाब बढिरहेको छ। 

उनको यही प्रस्तावलाई लिएर वार्ता समितिसहित न्यायाधीशहरु अहिले छलफलमा जुटेका छन्। 

प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमनको प्रस्तावमा न्यायाधीशहरु आजै धारणा बनाउनेछन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .