राजनीति


एकीकृत समाजवादीलाई ल्याएर पुनः मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राउत, मन्त्री राय फिर्ता हुने

एकीकृत समाजवादीलाई ल्याएर पुनः मन्त्रिमण्डल विस्तार गर्दै मुख्यमन्त्री राउत, मन्त्री राय फिर्ता हुने

मन्त्री बन्न लागेका शत्रुधन महतो र सरकारबाट फिर्ता हुने मन्त्री रामनरेश राय


शैलेन्द्र महतो
कात्तिक २८, २०७८ आइतबार २०:४६, काठमाडौँ

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेकपा (एकीकृत समाजवादी) लाई दुई मन्त्रालय दिएर सरकार विस्तार गर्ने तयारी गरेका छन्।

एक महत्त्वपूर्णसहित दुई मन्त्रालय दिन सरकार तयार नहुँदा एकीकृत समाजवादी सरकारमा सहभागी हुन चाहेको थिएन। एकीकृत समाजवादीले कार्तिक ३० गतेसम्म सरकारमा जाने वातावरण नमिलाएपछि सरकारमा नजाने चेतावनी दिएको थियो। 

अन्ततः मुख्यमन्त्री राउतले सुरुदेखि सरकारमै रहेका जसपाकै उद्योग वन पर्यटन तथा वातावरणमन्त्री रामनरेश रायलाई फिर्ता बोलाएर समाजवादीलाई सो सहित दुई मन्त्रालय दिई मन्त्रिमण्डल विस्तार गर्न लागेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

सुरुमा पूर्व राष्ट्रिय जनता पार्टी नेपालका ६ संयोजक मण्डलका अध्यक्ष मध्ये महेन्द्र राय यादवको कोटाबाट रामनरेश राय मन्त्री बनेका थिए। पछि पार्टी एकता भएर जसपा हुँदा र पुनः विभाजन हुँदा महन्थ ठाकुर पक्षका महेन्द्र, रामनरेश र नवल किशोर साहले कित्ता फेरेर जसपा उपेन्द्र पक्षमै बसे। त्यसकारण रामनरेश र नवल किशोर साहको मन्त्री पद जोगिएको थियो।   

महेन्द्र राय अहिलेको गठबन्धन सरकारमा कृषिमन्त्री छन्। सोही कारण उनकै कोटाका मन्त्री राम नरेशलाई मुख्यमन्त्री राउतले फिर्ता बोलाउन लागेका हुन्।

स्रोतका अनुसार उद्योग वन पर्यटन तथा वातावरण मन्त्रालय र मुख्यमन्त्रीसँग रहेको वाणिज्य तथा शिक्षा मन्त्रालय एकीकृत समाजवादीलाई दिन टुंगो लागेको हो। मंगलबार एकीकृत समाजवादीका दुई मन्त्रीको सपथ हुने विश्वसनीय स्रोतले जनाएको छ।

एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुधन महतोको नेतृत्वमा सरकारमा जाने सम्भावना रहे पनि अन्य एकजना को मन्त्री बन्ने भन्ने टुंगो लागेको छैन।

एकीकृत समाजवादीभित्र मन्त्री बन्ने धेरै आकांक्षी रहेकाले सो विषय टुंगो लगाउन सकस भएको छ। भोलि सोमबार एकीकृत समाजवादीको स्थायी कमिटी बैठकले मन्त्रीको टुंगो लगाउने एक सांसदले जानकारी दिए। 

मुख्यमन्त्री लालबाबु राउत कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा ल्याउन केही मन्त्रालय फुटाएर बनाइएका १० मन्त्रालयमध्ये बाँकी रहेका दुई मन्त्रालय एकीकृत समाजवादीलाई दिने योजनामा छन्। 

मुख्यमन्त्री राउतसँग कानुन न्याय तथा प्रदेश मामिला र वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय बाँकी छ। तर वाणिज्य आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालयलाई संशोधन गरी वाणिज्य तथा शिक्षा मन्त्रालय बनाएको स्रोतको भनाइ छ। 

नेकपा (एमाले)बाट फुटेर एकीकृत समाजवादी गठन भएपछि एमालेका २१ प्रदेश सांसदमध्ये १३ जना नयाँ पार्टीमा लागेका छन्। 

प्रदेश सांसदहरू गोविन्दबहादुर न्यौपाने, प्रमोद यादव, अशोक यादव, मदन जैन श्रीवास्तव, शत्रुधन महतो, मञ्जु यादव, बेची लुंगेली, डिल्लीप्रसाद उप्रेती, रवीन्द्र बैठा, खुसिमा खातुन, नागेन्द्र यादव, सुन्दर विश्वकर्मा र सीता गुरुङ एकीकृत समाजवादीमा आबद्ध भएका हुन्। 

प्रदेश २ मा जनता समाजवादी पार्टीको नेतृत्वमा सरकार छ। पछिल्लो राजनीतिक घटनाक्रममा जसपाकै तत्कालीन अध्यक्ष महन्थ ठाकुर पक्ष प्रधानमन्त्री ओलीको सरकारमा सहभागी भएपछि उनका पक्षका २ मन्त्री र राज्यमन्त्रीलाई मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए। 

केन्द्रमा बनेको पाँच दलीय गठबन्धनका हिसाबले प्रदेश २ सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र र तत्कालीन एमाले माधव नेपाल पक्ष समेट्न मुख्यमन्त्री लालबाबु राउतले ६ मन्त्रालय फोडेर १० मन्त्रालय बनाएका थिए। 

कांग्रेस तीन मन्त्रालयसहित जेठ २६ गते र एक मन्त्रालयसहित साउन २ गते माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी भएको थियो। 

माधव नेपाल पक्ष भने पार्टी विवादका कारण त्यसबेला सहभागी हुन सकेको थिए। नेपाल पक्षका नेताहरुले पार्टी विवाद समाधान हुनेबित्तिकै सरकारमा सहभागी हुने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .