ad ad

राजनीति


‘भर्चुअल’बाट आमनेसामने संवादमा फर्किंदै नेपाली कूटनीति

‘भर्चुअल’बाट आमनेसामने संवादमा फर्किंदै नेपाली कूटनीति

ग्लास्गोमा भारतीय समकक्षी नरेन्द्र मोदीसँग संवाद गर्दै प्रधानमन्त्री शेरबहादुर देउवा


सन्तोष घिमिरे
कात्तिक २९, २०७८ सोमबार ७:५, काठमाडौँ

सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा नेपाल–दक्षिण कोरिया द्विपक्षीय संयन्त्रको बैठक सम्पन्न भयो, २३ कात्तिकमा। बैठकमा कोरियाली विदेश मन्त्रालयका महानिर्देशक सङ्ग्र्योल लीलगायत प्रतिनिधि मण्डलका सदस्यहरु सशरीर उपस्थित थिए। 

दक्षिण एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु सोमबार माल्दिभ्स आइपुग्दैछन्। उनी आगामी बुधबार (१ मंसिर) काठमाडौँ आइपुग्ने छन्। प्रधानमन्त्री शेरबहादुर देउवालगायत नेपाली शीर्ष अधिकारीहरुसँग उनको भेटवार्ता हुनेछ। 

कोरोना महामारीका कारण नेपालको कूटनीति ‘भर्चुअल स्पेस’ मा सीमित हुन पुगेको थियो। नेपाली अधिकारीहरु आमने–सामने वार्ताका लागि विदेश जान सकेनन्। विदेशी अधिकारीहरु पनि नेपाल भ्रमणमा आएनन्। 

तर, अब विस्तारै नेपाल पनि ‘फेस टु फेस’ कूटनीतिमा फर्किन थालेको छ। विदेशी अधिकारीहरु कूटनीतिक वार्ताका लागि धमाधम नेपाल आउँदैछन्। नेपाली अधिकारीहरुले पनि अन्य मुलुकको भ्रमण गरेर मुखामुख वार्ता गरिरहेका छन्। 

सुखद् सुरुवात
भारतका यातायातमन्त्री नितिन गडकरी बिहीबार (२ मंसिर) मा काठमाडौँ आउँदैछन्। सत्तारुढ भारतीय जनता पार्टीका पूर्वअध्यक्षसमेत रहेका गडकरी पतन्जली योगपिठ नेपालको निम्तोमा नेपाल आउन लागेका हुन्।   

उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई समेत भेट्ने कार्यक्रम भएकाले कूटनीतिक–राजनीतिक दृष्टिले उनको नेपाल आगमनको महत्व रहनेछ।  

सीमा जोडिएको छिमेकी मुलुक भारतका उच्च अधिकारीहरु भएकाले उनीहरुको नेपाल भ्रमणलाई सामान्य रुपमा लिन सकिएला। तर, अमेरिका र दक्षिण कोरियाका उच्च अधिकारीहरुको नेपाल भ्रमणले ‘फेस टु फेस डिप्लोमेसी’ पूर्ववत् अवस्थामा फर्कन लागेको संकेत गर्छ।

‘कोरोना संक्रमणपछि दक्षिण कोरियासँग पहिलोपटक भौतिक उपस्थितिमै प्रतिनिधिमण्डल स्तरमा छलफल गरेका छौँ,’ २३ कात्तिकको बैठकमा नेपाली पक्षको नेतृत्व गरेका सहसचिव लोकबहादुर थापा भन्छन्, ‘यसले हामी विस्तारै भर्चुअल कूटनीतिबाट पूर्ववत् अवस्थामा फर्किन लागेका छौँ भन्ने सन्देश दिएको छ।’

नेपाली कामदारको रोजगारीको आकर्षक र प्रमुख गन्तव्य हो, दक्षिण कोरिया। तर, भाषा परीक्षा उत्तीर्ण गरे पनि कोरोनाको कारण देखाउँदै कोरियाले करिब १० हजार नेपाली कामदार लैजान नमान्दा समस्या सिर्जना भएको थियो। 

दक्षिण कोरिया अब ती नेपालीहरुलाई रोजगारीका लागि अफ्नो मुलुक लैजान तयार भएको थापा बताउँछन्।

उनी भन्छन्, ‘त्यसकारण भौतिक उपस्थितिमा दक्षिण कोरियासँग भएको यो बैठकलाई ब्रेकथ्रु मान्नुपर्छ।’  

भर्चुअल डिप्लोमेसीः संकटको साथी
कोरोना महामारीको पहिलो र दोस्रो लहरका बेला अधिकांश मुलुकले द्विपक्षीय कुराकानीका लागि ‘भर्चुअल माध्यम’ को प्रयोग गरेका थिए। यस्तो ‘भर्चुअल डिप्लोमेसी’ खासमा संकटका बेला अपनाइएको उपाय मात्र थियो।   

नेपालले पनि महामारी उत्कर्षमा पुगेका बेला द्विपक्षीय कुराकानीका लागि भर्चुअल माध्यमलाई नै उपयोग गर्यो। खासगरी उत्तर छिमेकी चीनका शीर्ष नेताहरुसँगको कुराकानीका लागि नेपाली पक्षले भर्चुअल माध्यमको प्रयोग गरेको थियो। 

यति हुँदाहुँदै पनि गत साल प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजन रोक्न चिनियाँ राष्ट्रपति सी चिनफिङले अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौलाई काठमाडौँ पठाएका थिए। 

नेपाल भ्रमणका क्रममा उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रम ओली, नेकपाका शीर्ष नेता मात्र होइन, तत्कालीन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई समेत भेटेका थिए। 

चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको भर्चुअल सम्मेलनमा सहभागी हुँदै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड

यसैगरी नेपालमा मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) बारे विवाद चुलिएका बेला एमसीसीकी उपाध्यक्ष फातिमा सुमार भदौ २४ मा नेपाल भ्रमणमा आएकी थिइन्। 

यसबाट के देखिन्छ भने अत्यावश्यक पर्दाबाहेक चीन र अमेरिकी अधिकारीहरु महामारीका कारण द्विपक्षीय वार्ताका लागि सशरीर उपस्थित भएका थिएनन्। भारतीय अधिकारीहरु चाहिँ महामारीकै बीच पनि अक्सर नेपाल आइरहे। 

गत वर्ष भारतीय विदेश सचिव हर्षवर्धन श्रृङ्गला, भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणे र खुफिया एजेन्सी ‘रअ’ का प्रमुख सामन्त गोयल नेपाल आएका थिए।  

यसैगरी १२ असोजमा भारतीय विदेश मन्त्रालयका नेपाल डेस्क प्रमुख अनुराग श्रीवास्तवले नेपाल भ्रमण गरेका थिए। त्यसक्रममा उनले परराष्ट्र मन्त्रालयका सहसचिव प्रकाश सुवेदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए।  

तर, यसबीचमा न चीनबाट, न त भारतबाट नै नेपालमा उच्च तहको भ्रमण भयो। नेपालबाट पनि दुवै मुलुकमा उच्च तहको भ्रमण हुन सकेन। 

नेपालको पनि भौतिक उपस्थिति
कोरोना महामारीको प्रभाव कम भएसँगै विदेशी उच्च अधिकारीहरु मात्र नेपाल भ्रमणमा आएका छैनन्, नेपाली उच्च अधिकारीहरु पनि विदेश भ्रमणमा जान थालेका छन्। 

अर्थात्, अब नेपालको तर्फबाट पनि ‘फेस टु फेस’ कूटनीतिमा बढावा दिने प्रयास हुन थालेको छ। 

कात्तिक अन्तिम साता नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले भारत भ्रमण गरे। भारतीय सेनाको मानार्थ महारथीको उपाधि ग्रहण गर्न नयाँदिल्ली पुगेका उनले विदेशमन्त्री एस जयशंकरलगायत उच्च राजनीतिक नेतृत्वसँग भेटघाट गरेका थिए। 

कात्तिक दोस्रो हप्ता स्कटल्यान्डको ग्लास्गोमा भएको संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवा आफैँ सहभागी भएका थिए। त्यसक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उनको भेटघाट र कुराकानी भयो।  

त्यसअघि परराष्ट्रमन्त्री डा. नारायण खड्का असोज दोस्रो हप्ता संयुक्त राष्ट्रसंघीय महासभाका लागि न्युयोर्क पुगेका थिए भने असोज तेस्रो हप्ता असंलग्न आन्दोलनको बैठकमा भाग लिन सर्बिया पुगेका थिए। 

१२ कात्तिकमा भारतले बैंगलोरमा आयोजना गरेको द्विपक्षीय सुरक्षा संयन्त्रको बैठकमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखाका प्रमुख तीर्थ वाग्ले गएका थिए।  

ग्लास्गोमा अमेरिकी राष्ट्रपति जो बाइडेनसँग प्रधानमन्त्री देउवाको भेट

मुखामुख वार्ता बढी प्रभावकारी  
समय र खर्चका दृष्टिले आमने–सामनेभन्दा ‘भर्चुअल’ बैठक लाभदायी हुने गर्छ। यसमा जहाजको टिकट, होटल बुकिङ, अन्य व्यवस्थापनको खर्च पुरै जोगिन्छ भने यात्रा गर्नु नपर्ने भएकाले समयको पनि बचत हुन्छ। 

‘भर्चुअल’ माध्यमबाट कूटनीतिक वार्ता हुनु भनेको प्रविधिको भरपुर उपयोग पनि हो। अमेरिका र चीन जस्ता शक्तिशाली राष्ट्रका अधिकारीहरुबीचको भर्चुअल बैठकहरुले पनि भर्चुअल माध्यम कति लाभदायक रहेछ भन्ने कुरा देखाइसकेका छन्। 

अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच पनि भर्चुअल वार्ता हुँदैछ। २१ महिनादेखि मुलुकबाहिर नगएका चिनियाँ राष्ट्रपति सीले त कूटनीतिक प्रयोजनका लागि भर्चुअल माध्यमको भरपुर उपयोग गरेका छन्। 

तथापि, कूटनीतिक उदेश्य प्राप्तिका लागि मुखामुख संवाद बढी प्रभावकारी हुने बताउँछन् पूर्वराजदूत खगनाथ अधिकारी। 

त्यही कारण महामारीको प्रभाव कमजोर भएसँगै भौतिक उपस्थितिसहित कूटनीतिक भेटघाट र कुराकानी हुन थालेको उनको भनाइ छ।

‘प्रत्यक्ष भेटेर, आँखामा आँखा जुधाएर गरिने छलफल वा अन्तर्क्रियाको विकल्प भर्चुअल माध्यमबाट हुने बैठक कदापि हुन सक्दैन,’ अधिकारी भन्छन्, ‘कोरोना महामारीका कारण मात्र भर्चुअल बैठकमा जानैपर्ने बाध्यता सिर्जना भएको हो। अब विस्तारै आमनेसामने कुराकानीको क्रम बढ्छ।’   

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .