धरान : नेपाली कांग्रेस सुनसरीमा सभापति शेरबहादुर देउवानिकट समूहलाई प्रदेश क्षेत्रस्तरीय निर्वाचनको मत परिणामले कमजोर बनाएको छ।
देउवा नजिकका दुई विश्वास पात्रहरू ज्ञानेन्द्रबहादुर कार्की र मीन विश्वकर्माले नै नेतृत्व गर्ने क्षेत्रहरूमा कमजोर देखिएको हो ।
सुनसरीका ४ वटा निर्वाचन क्षेत्रमध्ये सुनसरी क्षेत्र नम्बर १ भित्रको दुई प्रदेश निर्वाचन क्षेत्रको परिणामले देउवानिकट समूहमा तरङ्ग ल्याएको छ।
दुवै प्रदेश निर्वाचन क्षेत्रमा कोइराला-पौडेल समूहको प्यानल विजयी भएपछि देउवा पक्षमा चिन्ता थपिएको छ।
प्रदेशसभा (क) र (ख) मा कोइराला-पौडेल पक्षधर मानिएका अनिल श्रेष्ठ र मुरारी भट्टराईको प्यानल विजयी बनेका छन्।
संस्थापन पक्षबाट मदन ढकाल र अजय कुमार राई पराजित भएपछि प्रतिनिधिसभा क्षेत्रमा हारिने पिर देउवा समुहमा परेको छ।
प्रदेश (क) मा कोइराला-पौडेलका अनिल श्रेष्ठले ठूलो मतान्तरले ढकाललाई पराजित गरेका थिए।
ढकालले ९६ मत प्राप्त गर्दा श्रेष्ठले २६८ मत मात्र प्राप्त गरेका हुन्। त्यस्तै, प्रदेशसभा (ख) मा पनि भट्टराईको प्यानलै विजयी बनेको थियो।
भट्टराईले कुल २५१ मत खसेकामा १३९ मत प्राप्त गरे भने देउवा निकट समूहका प्रत्यासी राईले १०८ मत प्राप्त गरेका थिए।
कोइराला-पौडेल समूहनिकट तिलक राई देउवा समूहबाट क्षेत्रीय सभापतिमा उम्मेदवारी दिने घोषणाले पनि प्रदेश क्षेत्रमा देउवा समूह कमजोर भएको देखिएको छ।
देउवा समूहले इतर समूहका नेता तानेर उमेदवार बनाउनु नै प्रत्युत्पादक देखिएको हो।
प्रदेशसभा निर्वाचनको मतपरिणाम पछि हार हुने आँकलन गर्दै राईलाई 'ब्याक' गराएर देउवा समुहले युवा नेतृ लक्ष्मी खतिवडालाई सभापतिमा उठाउने घोषणा गरेको छ।
धरान-१२ स्थित होटल स्टार पूर्वीमा पत्रकार सम्मेलन गर्दै देउवा समूहले सभापतिमा खतिवडालाई उम्मेदवार बनाउने घोषणा गरेको हो।
क्याम्प परिवर्तनले समस्या!
पछिल्लो प्रदेशस्तरीय मत परिणाममा संस्थापन समूहको 'सेट' नै हारेपछि त्यसको प्रभाव केन्द्रीय महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापति चयनमा देखिने भय देउवा समूहलाई छ।
कोइराला-पौडेल समूहबाटै सुरेन्द्र तामाङ स्वभाविक उम्मेदवार हुने भएपछि राईले संस्थापन पक्षको साथ खोजेका थिए।
त्यही बमोजिम संस्थापन पक्षको मीन विश्वकर्मा समूहले पनि टिम बलियो बनाउन राईलाई समर्थन गरेको थियो।
तर, देउवा समूहकै किशोर राई निकट समूहले भने तिलक राईलाई संस्थापन लाइनमा ल्याएको मन भने परेको थिएन।
यसअघि धरान उपमहानगरपालिकाको निर्वाचनमा संस्थापन पक्षका उम्मेदवार किशोर राईलाई हराउन लागेका तिलक राई नै देउवा टिमबाट उठ्ने भएपछि द्वन्द्व बढेको थियो।
देउवा टिमले कार्यकर्ताको भावना विपरीत निर्णय गरेको भन्दै आफ्नो समूहभित्रकै किशोरले विरोध जनाउँदै आएका समेत थिए।
त्यही विरोधको संकेत अहिले प्रदेश निर्वाचनको मत परिणामले समेत देखाएको छ। देउवा लाइनभित्रका पुराना राजनीतिज्ञहरूलाई पाखा लगाएर तिलक राईलाई उम्मेदवार बनाएकोमा किशोर राईनिकट समूह बिच्किएको थियो।
Shares
प्रतिक्रिया