नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि राष्ट्रियताको एजेन्डा चर्काएर त्यसकै बलमा आगामी निर्वाचन जित्ने रणनीति सार्वजनिक गरेका छन्। राष्ट्रियताको मुद्दाकै बलमा फेरि सरकारमा फर्किने संकेत उनले गरेका छन्।
शुक्रबार पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै ओलीले अब आगामी निर्वाचनमा केन्द्रित हुने बताएका हुन्।
झण्डै दुई लाख जना सहभागी उद्घाटन सत्रमा ओलीले सर्वसम्मत नयाँ नेतृत्व चयन, आगामी चुनावमा बहुमत र राष्ट्रियताको विषय उठाएका हुन्।
'हामीलाई नयाँ जनमतमा जान रोकियो तर अब चुनाव त हुन्छ नै। चुनाव नजिकै आउँदै छ। अब हामी बहुमतका लागि काम गर्छौँ', उनले भने, 'देश बनाउन अब नयाँ जनमतबाट बहुमत ल्याउँछ एमालेले। देशमा विकासको लहर ल्याउन पनि एमालेले बहुमत ल्याउँछ।'
त्यति मात्र हाेइन, नारायणी नदी किनारमा आयाेजित कार्यक्रममा ओलीले फेरि राष्ट्रियताको कुरा उठाए र एमालेले लिम्पियाधुरा फिर्ता ल्याउने दाबी पनि गरे।
'मिचिएको भूमि लिम्पियाधुरा हामी वार्ता गरे फिर्ता ल्याउँछौँ। नल्याएसम्म हामीलाई हीनताबोध भइरहन्छ', उनले भने, 'त्यो जमिन फिर्ता नभएसम्म हामी हेपिएको, थिचिएको, मिचिएको अनुभूति भइरहन्छ। त्यसैले हाम्रो नक्सामा समेटिएको भूमि फिर्ता ल्याउँछौँ।'
ओलीले यसअघि अघिल्लो चुनावमा पनि राष्ट्रियताको मुद्दा उठाएका थिए। ओली नेतृत्वकै सरकारका पालामा भारतीय अतिक्रमणमा परेकाे नेपाली भूमि फिर्ता ल्याउन नसकेको आरोपको खण्डन भने उनले गरेनन्।
अध्यक्ष ओलीले सहमतिकै आधारमा एमालेको दसौँ महाधिवेशनबाट नेतृत्व चयन गर्ने र एउटा नयाँ उदाहरण दुनियाँलाई देखाउने घोषणा गरेका छन्।
सर्वसम्मत पुन: पार्टीकाे अध्यक्ष बन्ने योजना बनाएका ओलीलाई उपाध्यक्ष भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेपछि धक्का लागेको छ।
त्यसैले उनी सहमति जुटाउन बिहीबारदेखि नै नेताहरूसँग छलफलमा सक्रिय भइरहेका छन्। ओलीले आफूनिकट नेताहरूलाई त्यसकै लागि खटाएका छन्।
Shares

प्रतिक्रिया