राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्षमा कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन चार वर्षका लागि नेतृत्वमा पुगेका छन्।
लामो समयदेखि राप्रपामा बर्चस्व जमाइरहेका थापालाई पुराना नेताको साथ पाएर हराउँदै लिङ्देन नेतृत्वमा पुगे। तर, उनले आफूले चाहे जस्तो टिम भने जिताउन सकेनन्।
त्यही कारण उनलाई पार्टी हाँक्न अवसर र चुनौती आइ परेको छ। यस्तो अवस्थामा लिङ्देनले कसरी पार्टी चलाउलान्?
आइतबार विहान निर्वाचन परिणाम घोषणा भएपछि राप्रपाका धेरै नेताहरुमा यसमै चासो देखियो।
झण्डै ५० वर्ष राजनीतिमा बिताएका थापालाई हराएर लिङ्देन अध्यक्ष बने पनि पदाधिकारी र केन्द्रीय समितिमा थापाकै बर्चस्व रह्यो।
पदाधिकारीमध्ये लिङ्देनको पक्षका उपाध्यक्ष विक्रम पाण्डे र महामन्त्री धवल शम्शेर जबराबाहेक अन्य ५ जना थापा पक्षका हुन्।
एक नेताका अनुसार ७० प्रतिशत नतिजा थापाको पक्षमा गएको छ। बाँकी ३० प्रतिशत मात्रै लिङ्देनको आएको छ। उनले केही पदहरुमा नियुक्त गर्न बाँकी छ।
अध्यक्षको ‘पावर’मा बहुमत पदाधिकारी नियुक्त गरेर लिङ्देनले सजिलो बनाउलान् त?
हुँदैन।
त्यसबारे चर्चा गर्नुअघि पहिला नियुक्तिको प्रक्रिया बुझौँ।
राप्रपाको १ सय ४९ पदका लागि निर्वाचन भएको हो। १ सय ९९ सय कार्यसमितिमा अध्यक्ष, एक महिलासहित ४ उपाध्यक्ष, १ महिलासहित ३ महामन्त्री गरी ८ सदस्य पदाधिकारीसहित १ सय ४९ सदस्यीय कार्यसमितिमा झण्डै ३० प्रतिशत मात्रै लिङ्देन पक्षका छन्।
अब ४ उपाध्यक्ष, ३ महामन्त्री, सहमहामन्त्री र सहायक महामन्त्रीमा ७÷७ जना, कोषाध्यक्ष, सह कोषाध्यक्षसहित ५० केन्द्रीय सदस्य नियुक्त गर्ने अधिकार अध्यक्ष लिङ्देनलाई छ।
तर, उनले ती पदमा एक्लै नियुक्त गर्न सक्दैनन्।
राप्रपाको विधान मस्यौदा समितिका एक सदस्य कृष्णप्रसाद पाण्डेले नेपालखबरलाई दिएको जानकारी अनुसार त्यो नियुक्तिको निर्णय माथिबाट गराउनुपर्छ।
त्यो माथि भनेको कहाँ हो ?
निर्देशन समिति, कार्यसम्पादन समिति र संसदीय समिति।
राप्रपामा हाल अध्यक्ष रहेका तीनजना कमल थापा, पशुपति शम्शेर जबरा र प्रकाशचन्द्र लोहनी यी समितिका पदेन सदस्य छन्।
थापाले अध्यक्षमा चुनाव हारे पनि निर्देशन समितिको स्वतः सदस्य बन्ने विधानमा व्यवस्था छ। उनलाई कसैले नियुक्त गर्नु पर्दैन।
निर्देशन समिति मात्रै होइन, तीनैजना अध्यक्ष रहेको अर्काे कार्यसम्पादन समिति छ। र, यी तीनै नेता रहेको अर्काे पनि संसदीय समिति छ।
अध्यक्षमा चुनाव हारे पनि थापा केन्द्रीय समितिमा रहन्छन्।
यी समितिहरुले राजनीतिक नियुक्ति, जिम्मेवारी बाँडफाँड लगायत निर्णय गर्ने अधिकार पाउँछन्।
यस हिसाबमा पार्टीमा पदाधिकारी थप लगायत निर्णय सुरुमा यही समितिबाट निर्णय गराएर मात्रै केन्द्रीय समितिबाट अनुमोदन गर्नुपर्छ।
‘उहाँहरुले निर्णय नगरीकन कुनैपनि नियुक्ति, पदाधिकारीको मनोनयन, सरकारमा जाने निर्णय, चुनावमा टीकट दिने लगायतका कुनै निर्णय अध्यक्ष एक्लैले गर्न सक्नु हुन्न,’ पाण्डेले नेपालखबरसँग भने, ‘अध्यक्ष एक्लैले केही गर्न सक्नुहुन्न। राप्रपा टीमवर्कमै काम गर्नुपर्ने विधानको स्पिरिट हो।’
अहिलेको नतिजाले पनि ‘विन विन’को अवस्था देखाएको उनले बताए।
अर्काे हेभी वेट नेताहरु
अध्यक्ष लिङ्देनले यस्ता नेता मानिससँग काम गर्नुपर्छ, जो उनीभन्दा पुराना पृष्ठभूमिका छन्।
बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधान जस्ता केही फिगर छन्। यस्तै उनकै टिमबाट जितेका विक्रम पाण्डे, धवलशमशेर जबरालाई मिलाएर अघि बढाउनुपर्नेछ।
‘अहिले आएको टिममा ठूला फिगर छन्, अध्यक्ष लिङ्देनले सबैलाई मिलाएर लैजान सक्नुपर्छ, नत्र काम गर्न सक्नुहुन्न’, थापा पक्षीय एक नेताले भने।
महामन्त्रीमा निर्वाचित कुन्ती शाहीले राजतन्त्रको मुद्दा कमजोर बनाउन कमल थापालाई हराएको बताइन्।
‘कमल थापा राष्ट्रवादी मानिस हुन्, हिन्दू र राजतन्त्रको मुद्दा कमजोर बनाउन उनलाई हराइयो’, महिला महामन्त्रीमा जितेकी शाहीले नेपालखबरसँग भनिन्, ‘यसको परिणाम भोलिको दिनमा थाहा हुन्छ।’
यो त भयो निर्वाचन परिणाममा आएको टिम।
यदि २३ जना पदाधिकारीसहित ५० केन्द्रीय सदस्य आफैँले नियुक्ति गरेर पार्टीमा बहुमत पुर्याए पनि लिङ्देनलाई पार्टीभित्र निर्मल निवास मिलाउन त्यति सजिलो छैन।
लामो समय च्यापेर निर्मल निवासले थापालाई राप्रपाको नेतृत्वबाट फ्याँकिदिएको छ।
पार्टीदेखि निर्मल निवाससम्म सन्तुलन नमिले, मिलाउन नसके लिङ्देनलाई कुनै बेला असहयोग खतरा सधैँ छ।
लिङ्देनको जितमा निर्मल निवास (ज्ञानेन्द्र शाह)को मुख्य भूमिका रहेको थापाले खुलासा नै गरेका छन्।
निर्वाचन मतपरिणाम लगत्तै ट्वीट गर्दै थापाले भने, ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु।’
‘बधाई छ ज्ञानेन्द्र शाह अनि धन्यवाद पनि। मैले राहत र उन्मुक्ति पाएको छु।’
उनले राप्रपा अध्यक्षमा हारेपछि सिंगो मुलुक गणतन्त्रमय हुँदा पनि शिरमा कफन बाँधेर राजसंस्था बोक्दै हिँडेको पुरस्कार पाएको भन्दै असन्तुष्टि जनाए।
‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो’, उनले भने, ‘उक्त एजेण्डाको मूल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’
थापाको यो ट्वीटको गहिरो अर्थ छ।
त्यसकारण अध्यक्ष लिङ्देनले चाहेको जस्तो गर्न सक्दैनन्।
हिन्दू धर्म र संवैधानिक राजतन्त्रको पक्षमा माहोल बनाउन त्यति सजिलो छैन। गणतन्त्र र धर्म निरपेक्ष मुलुक नेपालमा सजिलै यो व्यवस्था पल्टिने अवस्था बनिसकेको छैन।
मानिसलाई नेता मन नपरेको हो, गणतन्त्र होइन।
कुनै एक धर्मलाई मात्रै मान्ने कुरा पनि नेपालीले अस्वीकार गरिसकेका छन्। फेरि त्यही लयमा मुलुकलाई लैजाने कुरा चानचुने छैन।
अर्काे कुरा भनेको, राप्रपामा एकले अर्कालाई स्वीकार गरेर हिँड्ने नेताहरुको संख्या ज्यादै कम छ।
‘राप्रपाभित्र एकले अर्कालाई स्वीकार गर्ने नेताहरु कम छन्। यस्तो बेलामा सबैलाई मिलाएर एकतावद्ध बनाएर लैजाने कुरा निकै कठिन छ,’ अर्का एक नेताले भने, ‘आज कमल थापालाई हराउने तिनै नेताहरु लिङ्देनमाथि जाइ लाग्नेछन्।’
लिङ्देनले २०७४ संघीय संसदको निर्वाचन जितेका थिए। उनको जितमा एमालेको भूमिका थियो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको सहयोगकै कारण लिङ्देन जिते।
तर, राप्रपा अध्यक्ष रहेका कमल थापा हारे। राप्रपाले संघीय संसदमा ३ प्रतिशत थ्रेस होल्ड पु¥याउन सकेन।
आगामी निर्वाचनमा गठबन्धन बनाउने, पार्टीलाई थ्रेसहोल्ड कटाउने लागयतका जटिल कामको जिम्मेवारी पूरा गर्नुपर्ने दबाबमा छन् लिङ्देन।
एकता महाधिवेशनको उद्घाटन भएको दिन मंसिर १५ गतेदेखि १७ गतेसम्म भृकुटीमण्डपमा प्रतिनिधिहरूसँग भेट्दा उनीहरुको अपेक्षा भनेको पुरानाबाट भएन, नयाँ चाहिन्छ भन्ने थियो।
स्याङ्जाबाट प्रतिनिधि बनेकी छमकला कुँवरले बताएअनुसार अब नयाँ नेतृत्व नभएर पो पो पार्टी कमजोर भएको हो कि भनेर लिङ्देनलाई मत दिने संख्या बढेको हो।
२५ सिट रहेको राप्रपा कसरी १ सिटमा झर्यो, पार्टीका अध्यक्ष पटक पटक मन्त्री भएका थिए, किन हामी झन् कमजोर भयौं,’ उनले भनिन, ‘नेतृत्व परिवर्तन गरेर नयाँ अनुहार जिताएपछि पार्टी राम्रो होला भन्ने अपेक्षा हो।’
Shares

प्रतिक्रिया