राजनीति


यी हुन् ओलीको ‘कोर टिम’ का पाँच नेता, जसले बनाउँदै छन् ९९ जनाको पोलिटब्युरो सूची

यी हुन् ओलीको ‘कोर टिम’ का पाँच नेता, जसले बनाउँदै छन् ९९ जनाको पोलिटब्युरो सूची

सागर न्यौपाने
मंसिर २१, २०७८ मंगलबार ८:५१, काठमाडौँ

एमालेको दसौँ राष्ट्रिय महाधिवेशनबाट दोस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष केपी शर्मा ओलीले पार्टी हाँक्न आफूनिकट नेताहरु सम्मिलित नयाँ ‘कोर टिम’ को अभ्यास थालेका छन्। जसमा उनीसहित ६ नेता छन्। 

महाधिवेशनबाट पदाधिकारीमा निर्वाचित १९ नेतामध्ये आफ्ना विश्वासपात्र समेटेर ओलीले उक्त टिम बनाएका हुन्। 

ओलीनिकट स्रोतहरुका अनुसार उक्त टिममा उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिवहरु प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमाल छन्। अब एमालेका सबैजसो निर्णयमा यिनैले ओलीको निर्देशनअनुसार कार्यकारी भूमिकामा काम गर्ने केही नेताहरूको भनाइ छ।

त्यसो त वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र उपाध्यक्ष सुवास नेम्वाङ पनि ओलीनिकट मानिन्छन्। उनीहरुसँग ओलीले सरसल्लाह लिने नै भए तर अन्तिम निर्णय भने ‘कोर टिम’ बाट हुँदै जाने नेताहरू बताउँछन्। 

दसौँ राष्ट्रिय महाधिवेशनबाट पदाधिकारीसहित ३ सय १ केन्द्रीय सदस्य चयन गर्न पनि ओलीले यिनै मध्येका चार नेता– विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङलाई जिम्मा दिएका थिए। उनीहरु सौराहाको होटल पार्क सफारीमा पनि ओलीसँगै बसेका थिए। 

ओलीनिकट एक नेताले नेपालखबरलाई दिएको जानकारीअनुसार यो टोलीले अहिले स्थायी कमिटी र पोलिटब्युरो गठनको गृहकार्य गरिरहेको छ। जसबारे मंसिर २५ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट निर्णय गर्ने ओलीको तयारी छ। 

‘उपाध्यक्ष पौडेल, महासचिव पोखरेल र उपमहासचिवत्रय ज्ञवाली, गुरुङ र रिमालको कोर टिमले अब अध्यक्ष ओलीलाई सघाउने छ,’ ती नेताले भने, ‘त्यसबाहेक सञ्चार, आर्थिक, विषयगत विषयका विज्ञहरुको सचिवालय पनि बनाउने तयारी छ।’

‘त्यो टिम अध्यक्षको प्रत्यक्ष र नियमित सम्पर्कमा रहनेछ। हरेक निर्णय गर्नुअघि त्यो टिमले सुझाव र सल्लाह दिनेछ,’ ती नेताले थपे।

ओलीले मंसिर २५ गते बस्ने केन्द्रीय कमिटी बैठकबाट केन्द्रीय सदस्यहरुको कार्यविभाजन पनि गर्दैछन्।

को को अटाउलान् स्थायी कमिटीमा?
एमालेको स्थायी कमिटी ४५ सदस्यीय हुनेछ। दसौँ महाधिवेशनमा १९ जना पदाधिकारी चुनिएका छन्। उनीहरु स्वतः स्थायी कमिटी सदस्य बन्नेछन्। 

अन्य सदस्यको हकमा एउटा मापदण्ड बनाइएको छ–एमालेको नवौँ राष्ट्रिय महाधिवेशनपछिका पोलिटब्युरो सदस्यहरुलाई स्थायी कमिटीमा समेट्ने।

‘स्थायी कमिटीमा पार्ने नेताहरुको मापदण्ड बनाउने काम भइरहेको छ,’ पदाधिकारीका एक नेताले नेपालखबरसँग भने, ‘पुरानो पोलिटब्युरोमा रहेर काम गरेका साथीहरु अबको स्थायी कमिटीमा समेटिनुहुन्छ।’

एमाले र माओवादी केन्द्रबीचको एकता भंग गर्ने २०७७ फागुन २३ को सर्वाेच्च अदालतको फैसलापछि गत वैशाख ११ गते एमालेको स्थायी कमिटी १९ सदस्यीय बनाइएको थियो। ती १९ मध्ये मणि थापा मात्रै अहिले पदाधिकारीमा अटाएका छैनन्।

यस्तै, वैशाखयता स्थायी कमिटीमा रहेका किरण गुरुङ, सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, केशव बडाल, पुष्पराज कँडेल पनि दसौँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा चुनिएका छन्। उनीहरु अब बन्ने स्थायी कमिटीमा स्वतः समेटिने ती नेताले ठोकुवा गरे।

अघिल्लो स्थायी कमिटीमा रहेका रघुजी पन्त, घनश्याम भुसाल र भीम आचार्य पनि केन्द्रीय सदस्य छन्। उपाध्यक्षमा पराजित भुसालले केन्द्रीय सदस्यको शपथ लिएका छन्। सचिवमा पराजित आचार्य पनि स्थायी कमिटी सदस्य बन्ने पक्काजस्तै छ। 

यस्तै एमालेको नवौँ महाधिवेशनपछि गठित वैकल्पिकसहित ६२ सदस्यीय पोलिटब्युरोमा रहेका खगराज अधिकारी, भानुभक्त ढकाल, थममाया थापा र यामलाल कँडेलको यसपटक बढुवा हुने निश्चित छ। 

अग्नि खरेल, अरुण नेपाल, काशीनाथ अधिकारी, विन्दा पाण्डे, राधा ज्ञवाली, लालबाबु पण्डित र श्रीमाया थकाली पनि स्थायी कमिटी बन्ने सूचीमा छन्।

उतिबेलाको ६२ सदस्यीय पोलिटब्युरोमा रहेकामध्ये १६ जना माधवकुमार नेपालले गठन गरेको नेकपा समाजवादी पार्टीमा लागेका छन्। एमालेमै रहेकामध्ये पशुपति चौलागाईं र रामनाथ ढकालको निधन भइसकेको छ।

त्यतिबेला वैकल्पिक पोलिटब्युरो सदस्य रहेका शेरधन राई, कर्णबहादुर थापा र गोकुल घर्ती अनि कृष्णगोपाल श्रेष्ठ, शिवमाया तुम्वाहाङ्फे र माओवादीबाट आएका प्रभु शाह लगायतका केही नयाँ नेतालाई पनि स्थायी समितिमा राखिने ती नेताले बताए।

एमालेको ९९ सदस्यीय पोलिटब्युरो पनि गठन हुँदैछ। आगामी २५ र २६ गते बस्ने केन्द्रीय समितिको बैठकले स्थायी कमिटी र पोलिटब्युरो दुवै गठन गर्ने लागेको हो।

नवौँ महाधिवेशनमा जितेका नेताहरु पोलिटब्युरोको पहिलो प्राथमिकतामा छन्। नेकपाको विवाददेखि महाधिवेशनसम्म अध्यक्ष ओलीलाई साथ दिएका नेताहरु प्राथमिकताको दोस्रो नम्बरमा छन्।

माओवादी केन्द्रमा नगएर एमालेमै रहेका नेताहरु यसमा पनि समेटिने ती नेताले दाबी गरे। ‘सबै क्लस्टर मिलाएर पोलिटब्युरो गठन हुन्छ,’ ती नेताले थपे।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad