राजनीति


पढाउन छोडेर २० वर्षपछि राजनीतिमा फर्केकी विद्या

पढाउन छोडेर २० वर्षपछि राजनीतिमा फर्केकी विद्या

कृष्ण आचार्य
कात्तिक २०, २०७६ बुधबार १३:४५,

सोमबार नेकपाले उपनिर्वाचनका लागि उम्मेदवारको टुंगो लगायो। कास्की–२ को प्रतिनिधिसभा सदस्यमा विद्या भट्टराई उम्मेदवार बन्ने निश्चित भयो।

हेलिकोप्टर दुर्घटनामा उनका पति पर्यटनमन्त्री रवीन्द्र अधिकारीको निधनपछि रिक्त सो क्षेत्रमा पार्टीले विद्यालाई अघि सारेको छ। यससँगै उनी २० वर्षपछि राजनीतिको मैदानमा फर्केकी छन्।

उपनिर्वाचन लड्ने निश्चित भएपछि विद्याले उपप्रध्यापक पदबाट राजीनामा दिइसकेकी छन्। यसपछि कास्की २ का मतदातालाई रिझाउने प्रयासमा छिन् उनी।

‘रवीन्द्रजीबाट मैले एउटा राजनीतिकर्मीमा हुनुपर्ने सकारात्मक सोच, उत्प्रेरणा जगाउने सीप, कामप्रतिको निरन्तरता र अब्बल गुण सिकेकी छु। त्यसैलाई प्रयोग गर्नेछु,’ उनी भन्छिन्।

राजनीतिको गुरुकुल पद्मकन्या
राष्ट्रिय पञ्चायतका सदस्य एवं सिन्धुपाल्चोकको सिन्धु गाउँका प्रधानपञ्च हेमराज र भगवती भट्टराईकी छोरी हुन् विद्या। भगवती २० वर्षको हुँदा ३० कात्तिक २०३० सालमा विद्याको जन्म भयो।

विद्या जन्मनुअघि उनकी आमाको कोखबाट ६ सन्तान खेर गएका थिए। त्यसैले सानैदेखि परिवारमा उनी प्रिय थिइन्।

पशुपति मित्र माविबाट औपचारिक शिक्षा सुरु गरेकी उनी हाजिरीजवाफ र वक्तृत्वकलाजस्ता अतिरिक्त क्रियाकलापमा भाग लिन्थिन्। कक्षामा प्रथम बन्न थालेपछि उनी शिक्षक र विद्यार्थीमाझ लोकप्रिय बन्दै गइन्। ८ कक्षादेखि विद्या पद्मकन्या माविमा पढ्न थालिन्।

विद्याको परिवारमा पनि राजनीतिक माहोल थियो। घरमा बुबालाई भेट्न आएका व्यक्तिहरुबीच भएका कुराकानी सुन्थिन् र बुझ्ने प्रयास गर्थिन्।

तर, उनका लागि राजनीतिको गुरुकुल भने पद्मकन्या बन्यो।

‘स्कुलमा अनेरास्ववियूको आयोजनामा हुने विद्यालयस्तरका सरसफाइ, वृक्षरोपणलगायतका चेतनामूलक कार्यक्रममा सहभागी हुँदाहुँदै राजनीतिप्रति रुची बढ्यो,’ विद्या भन्छिन्।

यता स्कुलमा विद्याको प्रतिभा देखेर विद्यार्थी नेताहरुले उनलाई संगठित राजनीतिमा ल्याउन खोजे। विद्यालयमा हुने कार्यक्रममा खाका र योजना बनाउनमा उनको भूमिका महत्वपूर्ण हुँदै गयो। व्यवस्थापनमा पनि उनी चुस्त देखिइन्।

राजनीतिक यात्रा
०४५ सालको भारतले नाकाबन्दी लगाएको थियो। त्यसको विरोधमा सचेतनामूलक कार्यक्रमहरुमा उनी सहभागी भइन्।

एसएलसी पास गरेपछि विद्या ०४६ सालमा पद्मकन्या क्याम्पस भर्ना भइन्। त्यहाँबाट उनको सक्रिय राजनीति सुरु भयो। उनी अनेरास्ववियु प्रारम्भिक कमिटी सदस्य पनि बनिन्।

०४६ मा पञ्चायती व्यवस्थाविरोधी आन्दोलनमा पनि उनी सहभागी भएकी थिइन्। जतिबेला उनको उमेर १६ वर्षमात्र थियो।

क्याम्पसमा हुने राजनीतिक गतिविधिमा उनको सक्रियता बढ्दै गयो। ०४८ मा पोखरामा भएको अनेरास्ववियूको सम्मेलनमा भाग लिने अवसर पाइन् र राष्ट्रिय परिषद् सदस्यमा निर्वाचितसमेत भइन्।
लगातार राजनीतिमा उकालो चढिरहेकी विद्याले ०४९ मा पद्मकन्याबाट स्ववियू सभापतिको टिकट पाइन्। तर, उनी चुनावमा भने उनले हार बेहोर्नुपर्‍यो। ‘तर, पराजयले मेरो राजनीतिक यात्रा भने रोक्न सकेन,’ उत्साहित हुँदै विद्याले नेपालखबरसँग भनिन्।

०५१ मा हेटौँडामा भएको अनेरास्ववियूको १२ औँ राष्ट्रिय सम्मेलनबाट महिला विभाग प्रमुख भइन्। त्यतिबेला योगेश भट्टराई अध्यक्ष र रवीन्द्र अधिकारी कोषाध्यक्ष चुनिएका थिए।

०५४ मा एमाले विभाजन भयो। रवीन्द्र र विद्या दुवै मालेमा लागे। ०५५ को सम्मेलनबाट विद्या अनेरास्ववियू केन्द्रीय सचिव बनिन्। उनको राजनीतिक यात्राले नयाँ उचाइ पायो। उनलाई भावी अध्यक्षको रुपमासमेत हर्न थालिसकिएको थियो।

रवीन्द्रसँगको भेट
पोखरा सम्मेलनमा विद्याले रवीन्द्र अधिकारीलाई टाढैबाट देखेकी थिइन्। तर, बोलचाल भएन। पछि हेटौँडा सम्मेलनमा उनीहरुबीच चिनजान भयो।

०५५ मा विद्या केन्द्रीय सचिव हुँदा रवीन्द्र महासचिव थिए। सोही समयमा उनीहरुबीचको मित्रता झांगिँदै गयो। जसलाई धेरैले प्रेम सम्बन्धको रुपमा बुझेका थिए। संगठन र मित्रमण्डलीमा अनेक चर्चा चले। तर, विद्या र रवीन्द्रले जीवनभर यो सम्बन्धलाई कायम राख्ने निधो गरे।

जसअनुसार २६ असार ०५६ मा विद्या र रवीन्द्रले विवाह गरे।

राजनीतिबाट विश्राम
त्यसबेला विद्यार्थी राजनीतिमा रवीन्द्र लोकप्रिय थिए। विद्या पनि कम थिइनन्। तर, दुईमध्ये एकले राजनीति र अर्कोको पारिवारिक जिम्मेवारी सम्हाल्नु सल्लाह गरे।

‘दुवै जना राजनीतिमा लागेर घर–व्यवहार चलाउन मुस्किल हुने भयो। श्रीमान्–श्रीमतीमध्ये एक राजनीतिमा निष्क्रिय हुनुपर्ने अवस्था थियो,’ विद्या भन्छिन्, ‘त्यसैले मैले उहाँलाई साथ दिनेगरी सचिवबाट राजीनामा दिएर अध्ययनमा लागेँ।’

सक्रिय राजनीतिबाट टाढा रहे पनि विद्याको राजनीतिप्रतिको चासो र जिज्ञासा कायमै थियो। उनी रवीन्द्रलाई आवश्यक सल्लाह–सुझावसमेत दिन्थिन्।

यसबीचमा उनी अनेमसंघ केन्द्रीय सदस्य तथा कार्यालय सचिव पनि बनिन्। तर, आमा बन्ने भएपछि उनी सक्रिय राजनीतिबाट विदा भइन्।

पोखरा बसेर उनले ०५९ मा समाजशास्त्र विषयमा स्नातोत्तर गरिन्। सोही वर्षदेखि उनले पृथ्वीनारायण क्याम्पसमा अध्यापन गर्न थालिन्।

केही वर्ष पोखराको बसाइपछि विद्या ०६२ सालमा फेरि काठमाडौं फर्किइन्। त्यसपछि ग्रामीण आदर्श र पछि सगरमाथा क्याम्पसमा अध्यापन गर्न थालिन्।

‘विभिन्न अनुसन्धानमूलक कार्यक्रममा पनि सहभागी भएँ,’ उनी भन्छिन्, ‘०६० देखि चार वर्ष उच्चशिक्षा पाठ्यक्रम निर्माण समिति सदस्यको रुपमा पनि मैले काम गरेँ।’

०६४ मा उनी एमालेको संघीय मामिला केन्द्रीय विभाग सदस्य भइन्। अध्यापन पेसामा समेत सामेल विद्या ०६६ मा एमाले प्रध्यापक इलाका समिटी उपाध्यक्ष भइन्। ०६७ मा महिला अध्ययन केन्द्रको संस्थापक सचिव पनि बनिन्। यसरी विद्याको प्राज्ञिक र राजनीतिक यात्रा चलिरह्यो।

‘सक्रिय राजनीतिमा नलागे पनि म राजनीतिको छायाबाट भने हराइनँ,’ विद्या भन्छिन्।

०७२ मा समाजशास्त्रमा एमफिल गरेपछि उनले ०७४ मा त्रिवि सेवा आयोगबाट खुला प्रतिस्पर्धामा उपप्रध्यापक पदमा नाम निकालिन्। रत्नराज्य क्याम्पसमा पढाइरहेकी उनी पछिल्लो केही महिनादेखि त्रिविमा अध्यापन गर्थिन्।

छोराहरु विराज र स्वराजको अभिभावकीय दायित्व पनि उनले पूरा गरिरहेकी छिन्।

०७५ फागुनमा रवीन्द्रको दुःखान्त भएपछि पार्टीले उनलाई उम्मेदवार बनाएको छ।

उनी मतदाताको साथ पाउनेमा ढुक्क छिन्। भन्छिन्, ‘कास्कीका जनताले माया दिनुहुनेछ भन्नेमा विश्वस्त छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .