ad ad

राजनीति


शेखर कोइरालाले भने : मेरो घरमा निगरानी गर्न देउवाले गुप्तचर पठाए

कांग्रेस नेतृत्व फेरिए पनि गठबन्धन फुट्न नदिने वाचा
शेखर कोइरालाले भने : मेरो घरमा निगरानी गर्न देउवाले गुप्तचर पठाए

अनुपम फुडल्यान्डमा आफू पक्षीय भेलालाई सम्बोधन गर्दै शेखर कोइराला। तस्बिर : कृष्ण बहाब/नेपालखबर


कृष्ण बहाब
मंसिर २६, २०७८ आइतबार १८:४६, काठमाडौँ

नेपाली कांग्रेसमा सभापतिका उम्मेदवार शेखर कोइरालाले कांग्रेस नेतृत्व फेरिँदैमा पाँच दलीय गठबन्धन नभत्किने बताएका छन्। 

कोइरालाले जारी १४ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व परिवर्तन गराएरै छाड्ने पनि दाबी गरेका छन्। 

बत्तीसपुतलीको अनुपम फुडल्याण्डमा कार्यकर्तालाई सम्बोधन गर्दै कोइरालाले कांग्रेसको नेतृत्व फेरिँदैमा सत्ता गठबन्धन नभत्किने पनि दाबी गरेका हुन्। 

देउवाले आफूले नजिते आफूलाई प्रधानमन्त्रीबाट पनि हटाउने डर रहेको आइतवारै अभिव्यक्ति दिएका थिए। 

त्यसको जवाफमा कोइरालाले भने, ‘गठबन्धन सरकार जान्छ भन्ने कुरा गर्नुभयो। हामी एउटै समूहमा हौं। पार्टी हो, नेतृत्वका लागि हाम्रो स्वस्थ प्रतिस्पर्धा हुँदैछ। उहाँले जुन कुरा बोल्नुभयो अत्यन्तै गैर जिम्मेवार कुरा बोल्नुभयो। नेतृत्व परिवर्तन हुन्छ, हुन्छ, हुन्छ। तर गठबन्धन सरकार कायम रहन्छ र त्यसलाई अझै दरिलो बनाएर लैजान्छौं। हामी उहाँहरु जस्तो गैर जिम्मेवार भएर काम गर्न चाहँदैनौँ।’

कोइरालाले महाधिवेशनका क्रममा बसुन्धरास्थित आफ्नो निवासमा देउवाले गुप्तचर पठाएर निगरानी गर्न लगाएको पनि खुलासा गरेका छन्। 

कार्यकर्तालाई सम्बोधनपछि पत्रकारहरुले उनलाई घरमा निगरानी गर्न गुप्तचर पठाएको बारे प्रश्न गरेका थिए। 

'तपाईंको घरमा देउवाले गुप्तचर पठाएको हो?', पत्रकारले यति सोधिसकेपछि उनले जवाफमा भने, 'म यति भन्न चाहान्छु कि तपाईँको प्रश्न सही छ। त्यो कुरा सत्य हो, म अहिले यति नै भन्छु।'

देउवाले आफूले सभापतिमा हारे गठबन्धन टुट्ने पनि आइतवारै बताएका थिए। त्यही प्रसङ्गमा कोइरालाले नेतृत्व परिवर्तन गरेर सरकारलाई थप मजबुत बनाउने बताएका हुन्।

'हाम्रा प्रधानमन्त्रीले भोट माग्दा काङ्ग्रेसका कार्यकर्ताको मन दुखाउनुभयो। मेरो नेतृत्वमा म हारे भने यो गठबन्धन सरकार ढल्छ भन्नुभयो', उनले भने, 'म तपाईँहरूको अगाडि भन्न चाहन्छु नेतृत्व परिवर्तन हुन्छ। नेतृत्व परिवर्तनपछि हामी यो सरकारलाई थप मजबुत बनाउँछौ।'

आफ्नो नेतृत्वमा सबैलाई समेटेर अगाडि बढ्ने पनि कोइरालाले बताए।

‘हिजो अस्तिसम्म के भयो, कसो भयो त्यो कुरालाई अब बिर्सौँ। अब नयाँ सिराबाट हामी अगाडि बढ्नुपर्छ। नयाँ नेतृत्व, नेतृत्वमा म आफुलाई मात्रै भनिरहेको छैन। उपसभापतिदेखि सदस्यसम्मको टिम। सामुहिक नेतृत्वको हिसावले हामी चल्न खोजेको हो’, कोइरालाले भने, ‘हाम्रा केही संकल्पहरु छन्। संघीय गणतन्त्रात्मक व्यवस्थालाई अझै सुदृढ बनाएर लैजानु छ। संविधानमा केही कमजोरीहरू छन्। त्यसलाई कसरी सुदृढ गर्नुपर्छ संसदमा लगेर हामी त्यो पनि गर्नु पर्नेछ। सुदृढ कांग्रेस बनाउनलाई अनुभव र ऊर्जाको मिश्रणले मात्रै बनाउन सक्छ।’

शेरबहादुर देउवादेखि रामचन्द्र पौडेलसम्मको अनुभवलाई पार्टीले उपयोग गर्ने कोइरालाले बताए। यस्तै युवा नेताहरुको उर्जाले पार्टीलाई थप क्रियाशिल र गतिशिल बनाउने उनको दाबी छ। 

‘हामीसँग अहिलेका सभापति जी शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, अर्जुननरसिंह केसी, बलबहादुर केसी, डा. रामशरण महत, दिलेन्द्र बडुजी हुनुहुन्छ। उहाँहरुको अनुभव र युवाहरुको उर्जाले हामी नेपाली कांग्रेसलाई क्रियाशिल, गतिशिल नेपाली कांग्रेस बनाउन चाहन्छौं’, डा. कोइरालाले भने।

पार्टीभित्र बेथिति रहेको भन्दै त्यसको अन्त्य गर्नका लागि जवाफदेही नेतृत्व आवश्यक रहेको र जवाफदेही, पारदर्शी, उत्तरदायी बनाउन सके कार्यकर्ताले सोचे जस्तै कांग्रेस हुने उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .