सत्तारुढ दल नेपाली कांग्रेसको जारी महाधिवेशनमा सबैभन्दा रोचक प्रतिस्पर्धा महामन्त्री पदमा देखिएको छ। दोस्रो र तेस्रो पुस्ताका लोकप्रिय नेताहरु चुनावी मैदानमा उत्रिएकाले मतपरिणाम पनि रोचक हुने देखिएको छ।
सभापति र उपसभापतिको परिणाम आइसकेको छ। सभापतिमा शेरबहादुर देउवा दोहोरिएका छन्। उपसभापतिमा मतदाताले दुवै प्यानललाई एक एक पद दिएका छन्।
महाधिवेशन प्रतिनिधिले उपसभापतिमा देउवा प्यानलका पूर्णबहादुर खड्का र डा. शेखर कोइराला प्यानलका धनराज गुरुङलाई जिताइदिएका छन्।
सभापति र उपसभापतिको परिणाम आएसँगै बिहीबार बिहानदेखि कांग्रेसमा अर्को शक्तिशाली पद महामन्त्रीको मतगणना सुरु भएको छ।
मतपरिणामको सुरुवाती नतिजा हेर्दा कोइराला प्यानलका गगन थापा लोकप्रिय देखिएका छन्। संस्थापन र कोइराला प्यानलले नपत्याएपछि प्रकाशमान सिंहसँग मिलेर उठेका विश्वप्रकाश शर्मा पनि गगनपछि बलिया देखिएका छन्।
कांग्रेस महामन्त्रीको भिडन्तमा उत्रिएका गगन र विश्वप्रकाशसँगै प्रदीप पौडेल पनि नेविसंघ महामन्त्री हुँदै माउपार्टीको राजनीतिमा आइपुगेका हुन्।
कांग्रेस महामन्त्रीको सुरुवाती नतिजाले तेस्रो पुस्ताका गगन, विश्वप्रकाश र प्रदीप पौडेलले दोस्रो पुस्ताका डा. मिनेन्द्र रिजाल, डा. प्रकाशशरण महत र डा. राजाराम कार्कीलाई पछि पार्ने देखिएको छ।
दुई महामन्त्रीका लागि भएको भिडन्तको सुरुवाती मतविवरण अनुसार गगन सबैभन्दा अगाडि छन्। त्यसपछि विश्वप्रकाश अनि प्रदीप पौडेल छन्। तर उनीहरुभन्दा सिनियर कोइराला प्यानलका मिनेन्द्र, देउवा प्यानलका प्रकाशशरण पछि परेका छन्। विमलेन्द्र निधिले साथ दिएका डा. कार्की धेरै पछि छन्।
रोचक पक्ष के छ भने महामन्त्री ६ जना उम्मेदवार विद्यार्थी राजनीतिबाट उदाएका हुन्। उपसभापतिको परिणाम हेर्दा महामन्त्रीमा पनि एउटै प्यानलको सेट आउने सम्भावना न्यून छ। सुरुवाती मतपरिणाम पनि त्यस्तै आइरहेको छ।
भृकुटीमण्डपमा चलेको महाधिवेशनका क्रममा गगन र विश्वप्रकाशलाई जिताउने सामूहिक अभियान नै चलेको थियो। फरक प्यानलबाट उठे पनि यी दुई नेताका लागि महाधिवेशन प्रतिनिधि र कार्यकर्ताहरूले जिताऊ अभियान चलाएका थिए।
कांग्रेसको १४ औं महाधिवेशनमा तल्ला कमिटीदेखि महाधिवेशन प्रतिनिधिसम्म पनि युवाहरुको बाहुल्यता थियो। युवा प्रतिनिधिहरुले सभापतिमा परिवर्तन नखोजे पनि अन्य पदमा भने परिवर्तनको झल्को दिएका छन्। महाधिवेशन प्रतिनिधिहरुले पनि दोस्रो पुस्ताका भन्दा तेश्रो पुस्ताका नेतालाई महामन्त्री चाहेको देखिएको छ।
विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माले १३ औं महाधिवेशनमा १६२० मत ल्याएर १६ औँ नम्बरमा केन्द्रीय सदस्य जितेका थिए। सभापति देउवाले शर्मालाई २०७४ मा पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए।
तर, देउवाले महामन्त्री नबनाउने संकेत पाएपछि उनले भदौ २४ गते सुन्दरीजल पुगेर महामन्त्रीको उम्मेदवारी एक्लै घोषणा गरेका थिए। उम्मेदवारी दिन हतार गरेको भन्दै देउवा उनीसँग असन्तुष्ट थिए।
शर्मा झापा निवासी हुन्। वाककलामा प्रख्यात उनी २०५३ सालमा नेविसंघ महामन्त्री र २०५७ मा सभापति बनेका थिए। ०७० को संविधान सभा र ७४ को संघीय संसदको निर्वाचनमा उनी पराजित भएका थिए।
शर्मा प्रवक्ता भएको फाइदा र व्यक्तिगत प्रदर्शनकै कारण आफू महामन्त्री जित्ने विश्वासमा छन्। उनी प्रकाशमान सिंहसँग मिलेर चुनावी मैदानमा थिए। प्रकाशमानले सभापतिमा ३७१ मत मात्रै ल्याएका थिए।
तर शर्माले व्यक्तिगत सम्बन्धका आधारमा भोट तानेर जित्ने विश्वास लिएका थिए। उनको त्यही विश्वासलाई साथ दिँदै महाधिवेशन प्रतिनिधिले गगनपछि भोट उनैलाई दिएका छन्। प्रवक्ताको रुपमा ४७ सय प्रतिनिधिसँग कुनै न कुनै माध्यमबाट सम्पर्क रहेकोले उनलाई केही फाइदा मिलेको छ।
त्यसबाहेक शशांक कोइराला र देउवा पक्षका प्रतिनिधिले समेत आफूलाई मत दिने उनको अपेक्षा थियो।
तर, शर्माको मुख्य चुनौती उनको टिम बलियो थिएन। प्रकाशमानसँग मिलेर लडेकाले प्यानल भोट नआउने चिन्ता उनमा थियो। तर वैचारिक र बौद्धिक नेताको छवि बनाएकै कारण उनलाई मतदाताले गगनपछि भोट दिएका छन्। सुरुवाती नतिजाले महामन्त्रीमा गगन र उनी नै आउने सम्भावना देखाएको छ।
गगन थापा
काठमाडौं क्षेत्र नम्बर ४ बाट २०६४ र २०७० मा संविधान सभा र र २०७४ मा संघीय संसदको निर्वाचन जितेका थापा महामन्त्रीका उम्मेदवारमध्ये सबैभन्दा बढी चर्चामा छन्।
१३ औँ महाधिवेशनमा कृष्ण सिटौला पक्षबाट महामन्त्री लडेका उनी पराजित भएका थिए।
१४ औं महाधिवेशनमा भने सिटौलालाई छाडेर उनी रामचन्द्र पौडेल र कोइराला परिवारसँग नजिकिएका हुन्। संसदमा बोल्दा होस् वा अन्य खुला कार्यक्रममा, थापा जनताको ध्यान आकर्षित गराउन सक्ने क्षमता भएका नेता हुन्।
बलियो ठानिएको कोइराला प्यानलको उम्मेदवार भएकाले महामन्त्री जित्नेमा थापा ढुक्क थिए।
थापा २०५९ सालदेखि २०६१ सालसम्म नेविसंघको महामन्त्री थिए। १२ औँ महाधिवेशनमा सबैभन्दा बढी मत प्राप्त गरी केन्द्रीय सदस्य बनेका उनी १३ औँ महाधिवेशनमा कृष्ण सिटौला समूहबाट महामन्त्रीमा उठेका थिए।
सधैँ लोकप्रिय रहे पनि ‘फर्स्टम्यान’ भएर संगठन हाँकेको अनुभव उनीसँग छैन।
प्रदीप पौडेल
१३ औँ महाधिवेशनमा २५ जना केन्द्रीय सदस्यमध्ये सबैभन्दा बढी मत ल्याउने पाँचौँ (१७०९) व्यक्ति हुन् प्रदीप पौडेल।
कृष्ण सिटौलालाई छोडेर गगन थापा कोइराला समूहमा मिसिन गएपछि पौडेलले महामन्त्रीको उम्मेदवार बन्ने अवसर पाएका हुन्।
सभापति तथा प्रधानमन्त्री समेत रहेका देउवाको प्यानलबाट महामन्त्री उम्मेदवार बनेका पौडेलले सिंगो देउवा समूह, सिटौला समूह र रामचन्द्र पौडेल खेमाबाट समेत मत पाउने आशा गरेका थिए।
तर बिहीबार सानेपामा जारी मतगणनाको परिणामले उनलाई निराश बनाउने देखिएको छ। प्रदीप पौडेल गगन, विश्वप्रकाश र प्रकाश शरणभन्दा पछि परेका छन्।
पौडेल २०५३ मा अमृत साइन्स क्याम्पसमा स्ववियु सभापतिमा निर्वाचित भएका थिए। २०५७ मा विश्वप्रकाश शर्माले पौडेललाई सहमहामन्त्री मनोनित गरे।
त्यसपछि गुरु घिमिरेले पौडेललाई उपाध्यक्षमा मनोनित गरे। २०६१ र २०६२ मा उनी फेरि मनोनित उपाध्यक्ष भएका थिए। २०६४ सालमा भने उनी नेविसंघको केन्द्रीय सभापति भए।
पौडेलको उम्मेदवारी देउवा पक्षमा असन्तुष्टि बढेको थियो। तर, देउवा समूहको सम्पूर्ण मत आफैंलाई प्राप्त हुने उनको विश्वास थियो। उनको अपेक्षाविपरीत देउवा समूहबाट प्यानल भोट झरेको देखिएन।
डा. प्रकाशशरण महत
१४ औँ महाधिवेशनमा शेरबहादुर देउवा प्यानलबाट महामन्त्री उम्मेदवार बनेका महत २०७५ देखि सहमहामन्त्री छन्। उनी २०४० देखि २०४४ सम्म नेविसंघको महामन्त्री थिए।
कांग्रेस प्रजातान्त्रिकको ११ औँ, कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनबाट उनी केन्द्रीय सदस्य भएका थिए। ०६४ को पहिलो र ०७० मा भएको दोस्रो संविधान सभामा महत सभासद थिए। देउवाका विश्वासपात्रमध्ये उनी पनि एक हुन्।
दोस्रो पुस्ताका महतले गगन थापा, विश्वप्रकाश शर्मा, मिनेन्द्र रिजाल जस्ता हस्तीहरू प्रतिस्पर्धा गर्नुपरेको छ। सानेपामा जारी मतगणनामा प्रकाशशरण अहिले गगन र विश्वप्रकाशभन्दा पछि परेका छन्। उनी सुरुदेखि नै तेस्रो र चौथो स्थानमा छन्।
महाधिवेशनमा सभापतिको उम्मेदवारमध्ये देउवा नै शक्तिशाली भएकाले अन्तर्घात नभए जितिने महतको विश्वास थियो। तर देउवा समूहकै भोट विश्वप्रकाशले तानिदिएका छन्।
तर, उनलाई युवाहरुको साथ त्यति धेरै नभएको कांग्रेस नेताहरु बताएका थिए। १३ औँ महाधिवेशनमा महतले १४९१ मत ल्याएका थिए।
डा. मिनेन्द्र रिजाल
डा. मिनेन्द्र रिजाल शेखर कोइराला प्यानलबाट महामन्त्री उम्मेदवार छन्। गगन थापासँग एउटै प्यानलमा रहेका उनी रामचन्द्र पौडेल पक्षको पनि साथ पाएर महामन्त्री जित्ने विश्वासमा छन्।
रिजाल अहिले रक्षामन्त्री छन्। तर महामन्त्रीको मतगणनामा उनी सुरुदेखि नै पछि परेका छन्। मिनेन्द्र सुरुदेखि नै पाँचौँ नम्बरमा छन्।
रिजाल कुनै समय देउवासँगै थिए। देउवा २०५३ मा प्रधानमन्त्री हुँदा उनको प्रमुख राजनीतिक सल्लाहकार थिए।
२०५९ मा कांग्रेस विभाजित हुँदा पनि रिजाल देउवासँगै थिए। तर, १२ औँ र १३ औँ महाधिवेशनमा संस्थापन पक्षमा जोडिएर केन्द्रीय सदस्य भए। १३ औँ महाधिवेशनमा उनले १४२० मत ल्याएर जितेका थिए।
अनुभवी भए पनि विश्वप्रकाश शर्मा, प्रदीप पौडेल जस्ता हस्तीहरूसँग प्रतिस्पर्धामा भएकोले उनको लागि चुनौती रहेको नेताहरु बताउँछन्। रिजालले गगन र विश्वप्रकाशको चुनौती चिर्न नसक्ने देखिएको छ।
डा. राजाराम कार्की
महामन्त्रीका अर्का उम्मेदवार हुन् डा. राजाराम कार्की।
पहिलो चरणमै सभापतिमा पराजित भइसकेका विमलेन्द्र निधिनिकट कार्की २०३० सालमा नेविसंघ धादिङ जिल्ला सभापति भएका थिए।
तरुण दलको पूर्व महासचिव उनी बागमतीका प्रदेश सांसद पनि हुन्। जारी मतगणनामा उनी सबैभन्दा पुच्छरमा परेका छन्।
Shares

प्रतिक्रिया