राजनीति


प्रदेश २ मा कांग्रेस नेतृत्व चयनका लागि निर्वाचन हुँदै, शीर्ष नेताहरु जनकपुरमा

प्रदेश २ मा कांग्रेस नेतृत्व चयनका लागि निर्वाचन हुँदै, शीर्ष नेताहरु जनकपुरमा

शैलेन्द्र महतो
पुस ६, २०७८ मंगलबार ९:३१, काठमाडौँ

प्रदेश २ मा नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि आजबाट निर्वाचन प्रक्रिया सुरु हुँदैछ।

केही जिल्लाको क्षेत्रबाट प्रतिनिधि छनोट हुन नसक्दा केन्द्रीय महाधिवेशनपछि पुस ६ र ७ गते अधिवेशन गर्ने गरी स्थगित गरिएको थियो। ७२ सदस्यीय प्रदेश समितिको लागि आज जनकपुरधाममा मनोनयन दर्ता हुन लागेको हो।

जनकपुरको गोपालधर्मशालमा अधिवेशन स्थल राखिएको छ। बिहान ११ बजेदेखि मनोनयन दर्ता हुने पूर्व तालिका रहेपनि केहि क्षेत्रहरुबाट मतदाता नामावली नआइसकेकाले समय केही पर सर्ने निर्वाचन अधिकृत प्रह्लाद गौतमले बताए। 

प्रदेश २ को ६४ प्रदेश निर्वाचन क्षेत्रबाट झण्डै २ हजार मतदाता अधिवेशनमा भाग लिँदैछन्। एक निर्वाचन क्षेत्रबाट ६० जना प्रतिनिधि छनोट गरिएको काँग्रेसका एक नेताले जानकारी दिए। 

आज मनोनयन दर्ता र भोलि मतदान हुने निर्वाचन अधिकृत गौतमले बताए। अधिवेशनको उद्घाटन सत्र सम्पन्न भइसकेको छ। 

देउवा र निधि पक्षका दुई उम्मेदवार मैदानमा 

पार्टी नेतृत्वले प्रदेश २ मा सर्वसहमतिबाट नेतृत्व चयन गर्ने प्रयास गरेको थियो। पार्टी सभापति शेरबहादुर देउवा पक्षका उम्मेदबार रौतहट जिल्लाका सभापति कृष्ण यादव र हालै सभापतिमा नराम्ररी पराजय व्यहोरेका पूर्व उपसभापति बिमलेन्द्र निधि पक्षबाट प्रदेश संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदबारी घोषणा गरेका छन्।

दुवै पक्षले आफ्नो दावेदारी नछाडेपछि निर्वाचन प्रक्रियामा गएर नेतृत्व छनोट गर्ने तयारी कांग्रेसले गरेको हो।

प्रदेश २ मा देउवाको उम्मेदबारलाई रोक्न शेखर कोइराला पक्षले निधिका उम्मेदवार रामसरोज यादवलाई समर्थन गर्ने जनाएको छ। यधपि औपचारिक घोषणा भने भएको छैन। 

शेरख पक्षले निधिका उम्मेदबार रामसरोजलाई सघाएमा दुवै पक्षबीच कडा प्रतिष्पर्धा हुने सम्भावना छ । नभएको खण्डमा देउवा पक्षका उम्मेदबार कृष्ण यादव सहजै प्रदेश सभापतिमा विजयी हुने सम्भावना देखिन्छ। 

केन्द्रीय महाधिवेशनमा देशभरिबाट निधिले मात्र २४९ मत ल्याएपछि प्रदेश २ मा पनि उनको धरातल निकै कमजोर रहेको आँकलन गर्न थालिएको छ। देउवा पक्ष भने प्रदेश २ मा बलियो देखिन्छ। 

कांग्रेसका शीर्ष नेता जनकपुरमा 
आ-आफ्नो पक्षलाई जिताउन कांग्रेसका शीर्ष नेताहरु जनकपुरमा भेला भएका छन्। देउवा पक्षका बर्तमान गृहमन्त्री बालकृष्ण खाँण, चित्रलेखा यादव, रमेश रिजाल, फर्मुला मन्सुर, उमाकान्त चौधरी, महेन्द्र यादव लगायका नेता जनकपुर आइसकेका छन् भने निघि पनि जनकपुरमा आफ्ना उम्मेदबार जिताउन सक्रिय छन्। 

आज शेखर कोइराला, गगन थापा लगायतका नेता पनि जनकपुर आउने एक नेताले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .