नेकपा माओवादी केन्द्रले आठौँ राष्ट्रिय महाधिवेशनबाट नयाँ नेतृत्व चयन प्रक्रिया थालेको छ। महाधिवेशनले अध्यक्षसहित १५ पदाधिकारी र २ सय ९९ सदस्यीय केन्द्रीय समिति चयन गर्नेछ।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदन र देव गुरुङको विधान संशोधन प्रतिवेदनमाथि छलफल सकिएपछि नेतृत्व चयनप्रक्रिया अघि बढ्नेछ।
दुई वटा प्रतिवेदनमाथिको छलफल नसकिँदै नेतृत्वमा पुग्न चाहने नेताहरुबीच प्रतिस्पर्धा सुरु भएको छ। खासगरी महासचिव र उपाध्यक्षका लागि नेताहरुबीच दौडधुप छ।
माओवादी केन्द्रको संसदीय राजनीतिमा आएपछिको यो दोस्रो महाधिवेशन हो। यसअघि २०६९ माघ २० देखि २४ सम्म मकवानपुरको हेटौँडामा सातौँ महाधिवेशन भएको थियो। त्यसअघिका सबै महाधिवेशनहरु जनयुद्धकै बेलामा भूमिगत रुपमा सम्पन्न भएका थिए।
गत ३३ वर्षदेखि माओवादीको नेतृत्व अध्यक्ष पुष्पकमल दाहालले नै गरिरहेका छन्। यसपटक पनि उनी नै अध्यक्ष बन्ने निश्चित छ।
तर, यसपटकको पदाधिकारी टोलीले माओवादीको आगामी नेतृत्वको संकेत दिने नेताहरु बताउँछन्।
खासगरी हालै सम्पन्न एमाले र कांग्रेसको महाधिवेशनले पनि ती पार्टीको आगामी नेतृत्वबारे संकेत गरेका छन्। एमालेमा महासचिव निर्वाचित शंकर पोखरेललाई अध्यक्ष केपी शर्मा ओलीको उत्तराधिकारीको रुपमा हेरिएको छ। कांग्रेसमा महामन्त्री निर्वाचित गगन थापा र विश्वप्रकाश शर्माको पुस्ताले अब वृद्ध नेताहरुलाई विस्थापित गर्ने आकलन गरिएको छ।
त्यसैले, माओवादीमा पनि महासचिव र उपाध्यक्ष पदमा को को चयन होलान्, निकै चासोका साथ हेरिएको छ।
अहिलेको माओवादीमा २०५० सालअघिका विभिन्न पार्टी र समूहका नेताहरु छन्। एकताकेन्द्रमा तीव्र विवाद भएपछि निर्मल लामा समूह अलग भयो र २०५१ सालमा नेकपा माओवादी जन्मियो।
महामन्त्री प्रचण्डको नेतृत्वमा गठन भएको सो पार्टीका १७ संस्थापक केन्द्रीय सदस्य थिए। मोहन वैद्य, बाबुराम भट्टराई, रामबहादुर थापा, पोष्टबहादुर बोगटी र सीपी गजुरेल पोलिट्ब्युरो सदस्य थिए।
त्यसबेलाका पोलिट्ब्युरो सदस्य कोही पनि अहिले प्रचण्डसँग छैनन्। बोगटीको मृत्यु भइसकेको छ। १७ जना केन्द्रीय सदस्यमध्ये पनि यानप्रसाद गौतम (आलोक), दण्डपाणि न्यौपाने र सुरेश वाग्ले युद्धमै मारिए। रामवृक्ष यादव जनयुद्ध घोषणा हुनुअघि नै मारिए।
बाँकी रहेका केन्द्रीय सदस्यमा टोपबहादुर रायमाझी र हरिभक्त कँडेल माओवादीमा छैनन्। अग्नि सापकोटा सभामुख छन्।
यसरी ५१ सालका १७ केन्द्रीय सदस्यमध्ये अहिले प्रचण्डसँग पम्फा भुसाल, देव गुरुङ, मात्रिका यादव, नारायणप्रसाद पौडेल, हरिबोल गजुरेल र कृष्णबहादुर महरा मात्रै छन्।
२०५५ साल भदौमा सम्पन्न चौथो विस्तारित बैठकले वर्षमान पुन, चन्द्रप्रसाद खनाल बलदेव, मणि थापा, शक्ति बस्नेत, नेत्रविक्रम चन्द, हितमान शाक्य र रवीन्द्र श्रेष्ठलाई केन्द्रीय सदस्य बनाएको थियो।
चन्द, थापा र श्रेष्ठले माओवादी छाडिसकेका छन्। त्यसैले माओवादीमा रहेका पुन, खनाल र बस्नेत पनि वरिष्ठ नेता हुन्।
२०५६ सालमा केन्द्रीय सदस्य बनाइए, जनार्दन शर्मा। २०५७ सालमा पोलिट्ब्युरो सदस्य बनेका उनी पनि पुरानामध्येका हुन्। उता माओवादीसँग एकता गरेर आएका नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेल र लीलामणि पोखरेल पनि वरिष्ठ हुन्।
अब ७ उपाध्यक्ष, एक महासचिव, दुई उप–महासचिव, तीन सचिव र एक कोषाध्यक्षमा यिनै नेताहरु समेटिने माओवादीका केन्द्रीय सदस्य युवराज चौलागाईं बताउँछन्।
त्यसबाहेक, क्लस्टर मिलाउन, जनयुद्धमा भूमिका निर्वाह गरेका विभिन्न नेताहरुलाई जिम्मेवारी दिएर पदाधिकारी चयन गरिने देखिन्छ।
समावेशी बनाउँदा भुसाल, गुरुङ, गजुरेल, मातृका यादव, महरा, श्रेष्ठ र लीलामणि पोखरेल उपाध्यक्षमा समेटिन सक्छन्।
तर, भुसालले महासचिवमा दाबी गर्दै आएकी छन्। हरिबोल गजुरेलले पनि आफू संगठन हाँक्न योग्य रहेको बताउँदै आएका छन्। उनले संगठन हाँक्न पाको मानिस चाहिन्छ भनेर अध्यक्ष प्रचण्डलाई सुनाएका छन्।
उता महासचिवमा वर्षमान पुन र जनार्दन शर्माबीच प्रतिस्पर्धा छ। दुवैले आफू महासचिवको लागि योग्य रहेको बताउँदै आएका छन्। अर्थमन्त्री समेत रहेका शर्माले त त्यसकै लागि प्रचण्डपथ छाडेर पार्टी कमजोर भएको तर्क पनि पेस गरिसकेका छन्।
पुन स्वास्थ्य उपचारका लागि चीनमा छन्। उनले त्यहाँ रहँदा चिनियाँ नेतासँग राजनीतिक भेटघाट गरेर यता सन्देश दिने प्रयत्न गरेको महाधिवेशनमा संलग्न रहेका माओवादी नेताहरूबीच चर्चा छ।
यी दुईजनाको प्रतिस्पर्धामा अहिले प्रवक्ता रहेका महरालाई महासचिव बनाएर दुवैलाई उपमहासचिव बनाइने सम्भावना पनि छ।
तर, उपाध्यक्ष भने वरिष्ठ नै हुने माओवादी स्रोत बताउँछ।
‘महासचिव कार्यकारी भए पनि वरीयतामा अध्यक्षपछि उपाध्यक्ष नै हुन्छ, त्यही भएर जुनियरहरु पार्ने सम्भावना हुँदैन,’ प्रचण्ड निकट एक नेताले भने।
२०५५ सालमै केन्द्रीय सदस्य बनेका शक्ति बस्नेत पनि महासचिवका दाबेदार हुन्। उनले आफूभन्दा पाका र सिनियर नेताहरुलाई उपाध्यक्ष बस्न सुझाव दिएका छन्।
‘पाका नेताहरु उपाध्यक्ष बस्नुस् म संगठन चलाउँछु,’ बस्नेतले नेताहरुसँग भन्ने गरेका छन्।
चन्द्रप्रसाद खनालको रुचि पनि यही पदमा छ।
प्रचण्डले महासचिवमा दाबी गर्ने वरिष्ठ जति सबैलाई उपाध्यक्ष बनाएर विवाद अन्त्य गर्न सक्ने पनि एक नेताले दाबी गरे।
‘महासचिवमा दाबी गर्ने नेताहरुलाई उपाध्यक्ष बनाएर सम्मान गरिन्छ,’ ती नेताले भने, ‘महासचिवमा भने अलि भरपर्दाे, आस गरेका नेता ल्याइन्छ। यदि अहिलेकै नेताहरुबाट सम्भव भएन भने नयाँ प्रयोग पनि हुनसक्छ।’
अध्यक्ष प्रचण्डले लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन्।
निर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने आवाज महाधिवेशन प्रतिनिधिहरुले उठाइरहेका छन्। माओवादी केन्द्रको विधानअनुसार सुरुमा केन्द्रीय समिति चयन हुनेछ र सोही समितिले नेतृत्व चयन गर्नेछ।
२ सय ९९ मा जनामा पर्ने नेताहरुले सर्वसम्मतिबाट नेतृत्व स्वीकार गरे प्रचण्डले बनाएको योजनाअनुसार नेताहरु नेतृत्वमा पुग्न सक्छन् नभए अलग खालको नतिजा पनि निस्कन सक्छ।
Shares
प्रतिक्रिया