ad ad

राजनीति


सुनसरीमा माधव नेपाल सक्रिय हुँदा एमालेमा एक्लिँदै भीम आचार्य

सुनसरीमा माधव नेपाल सक्रिय हुँदा एमालेमा एक्लिँदै भीम आचार्य

फाइल तस्बिर : एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र नेकपा एमालेका केन्द्रीय सदस्य भीम आचार्य।


कृष्ण बहाब
पुस २०, २०७८ मंगलबार १२:११, इटहरी

कुनै समय भीम आचार्यका विश्वासपात्र हुन्– धर्म निरौला। नेकपा एमालेको नवौं महाधिवेशनबाट आचार्य सचिव हुँदा निरौला केन्द्रीय सदस्य भए। साथै निरौला सुनसरी एमालेका इन्चार्ज पनि थिए। भीम आचार्य सचिव भएकै बेला उनकै जोडबलमा निरौला सुनसरी इन्चार्ज भएका थिए।

पहिले तत्कालीन नेकपा र पछि एमालेभित्रको अन्तरसंघर्षमा माधव नेपाल पक्षमा रहेका दुवै नेता १० बुँदे सहमतिपछि नेपालले अलग्गै पार्टी गठन गरे पनि एमालेमै रहे। दसौं महाधिवेशनसम्म आइपुग्दा नवौं महाधिवेशनमा जसरी यी दुवै नेता पार्टीको ‘पावर’मा पुगेनन्। अर्थात् एमालेभित्र उनीहरूको राजनीतिक ‘पोजिसन’ पूरै परिवर्तन भयो।

एमाले सचिव रहेका आचार्य दसौं महाधिवेशनमा सचिव पदमै हारे। अहिले उनी पार्टीमा केन्द्रीय सदस्य र स्थायी कमिटी सदस्य मात्र हुन्। निरौला त केन्द्रीय सदस्य पनि हुन सकेनन्। केन्द्रीय सदस्य बन्ने आसमा रहेका निरौलाको नाम महाधिवेशनका बेला अध्यक्ष केपी शर्मा ओलीको सूचीमा नपरेपछि उनले दाबी नै गरेनन्।

नवौं महाधिवेशनका बेला सुनसरीबाट केन्द्रीय सदस्य बनेका जगदीश कुसियत, भगवती चौधरी र तैयव हुसेन दसौं महाधिवेशनबाट पनि दोहोरिए, तर निरौला बाहिरिए। सक्रिय राजनीति गरिरहेका निरौला सल्लाहकारको भूमिकामा मात्र रहेपछि उनी असन्तुष्ट थिए।

त्यसैलाई नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने आफ्नो अवसर बनाए। आइतबार मात्र इटहरीमा एक कार्यक्रमबीच उनले निरौलालाई पोलिटब्युरो सदस्य बनाउँदै नेकपा एकीकृत समाजवादीमा भित्र्याएका छन्। 

आइतबार इटहरीमा आयोजित पार्टीको विद्यार्थी संगठन अनेरास्ववियुको प्रदेश (१) अधिवेशनका अवसरमा निरौलासहित ३२५ जनालाई अध्यक्ष नेपालले पार्टीमा प्रवेश गराएका हुन्। निरौलासँगै एमालेको प्रदेश कमिटीमा रहेका अन्य नेतासमेत नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका हुन्। 

एक्लिँदै आचार्य
२०४८ सालमा एमाले सुनसरी जिल्ला समितिका सचिव थिए– भीम आचार्य। त्यही बेलादेखि एमाले सुनसरीमा उनको विशेष प्रभाव थियो। झलनाथ खनालसँग ससुरा–ज्वाइँको सम्बन्ध भएका कारण पनि पार्टीमा आचार्यको पकड बलियो थियो।

एमाले माले र एमालेमा विभाजन भएपछि आचार्य त्यही पारिवारिक सम्बन्धको बलमा एकैचोटि एमालेको केन्द्रीय सदस्य बन्न सफल भए। त्यो बेलाको फुटले फाइदा पुगेका आचार्यलाई यसपटकको विभाजनले भने घाटा लागेको देखिन्छ।

तत्कालीन समयमा माधव नेपालको समूहमा रहेर पार्टी विभाजनपछि एमालेमै रहेका आचार्यको राजनीतिक यात्रा यतिबेला ओरालोतिर लागेकोे देखिन्छ। माधव नेपालले एकीकृत समाजवादी बनाउने बेला एमालेमै बसेर मुख्यमन्त्री बन्न कस्सिएका आचार्यको राजनीतिक अधोगति त्यहिबेला सुरु भएको हो। 

कुनै समय आचार्यले जने भन्यो त्यही निर्णय गर्ने एमाले सुनसरीमा उनको प्रभावको स्खलन पार्टीलाई जेठ २ मा फर्काउने सहमति कार्यान्वयन गर्ने विषयमा देखिएको थियो। जेठ २ मा फर्किएर रमेश बस्नेतलाई जिल्ला अध्यक्ष बनाउन नसकेपछि सुनसरी एमालेमा आचार्यको निरीहता झल्किएको थियो।

‘जेठ २’ त महाधिवेशनअघिको विषय भयो। महाधिवेशनपछि त झन् आचार्यलाई विश्वासपात्रहरूले नै छाड्दै गएका छन्। १० बुँदे सहमतिपछि आचार्यकै कारण एमालेमा बसेका धर्म निरौलाको बहिर्गमनले अहिले आचार्यको राजनीतिक नेतृत्वमै प्रश्न उठ्ने स्थिति बनेको छ। 

त्यति मात्र होइन, आचार्य निकट कार्यकर्ताहरू नै एमालेको आसन्न जिल्ला अधिवेशनमा आफूहरूको स्थान के होला भनेर तनावमा छन्। तर आचार्यको सक्रियता अहिले त्यसतर्फ देखिएको छैन।

‘खै कसरी व्यवस्थापन हुने हो? अधिवेशन प्रतिनिधिको संख्या पनि धेरै छ’, सुनसरी जिल्ला कमिटीमा सदस्य बन्ने आसमा रहेका आचार्य निकटकै एक कार्यकर्ताले नेपालखबरसँग भने, ‘अहिले अलि समस्या छ। हामीले यो विषयमा उहाँ (भीम आचार्य) सँग कुरा पनि गरिरहेका छौं।’  

सुनसरीमा सक्रिय माधव नेपाल
गत कात्तिक २४ मा सुनसरी एमालेको विस्तारित बैठक थियो। जेठ २ मा फर्किने विषयका कारण बैठकको अध्यक्षता कसले गर्ने भन्ने विवाद भयो। जेठ २ अघिका जिल्ला अध्यक्ष रमेश बस्नेत र पछिल्लो अध्यक्ष रेवतीरमण भण्डारीको समूह आआफ्ना अडानमा रहेपछि तत्कालीन पार्टी इन्चार्ज धर्म निरौलाले बैठकको अध्यक्षता गरे। 

यसपछि बैठकको अध्यक्षता गर्न आफूले पाउनुपर्ने भन्दै इटहरी उपमहानगरका मेयर तथा एमाले सुनसरीका पूर्वअध्यक्ष द्वारिकलाल चौधरीले मञ्चमै पुगेर भाँडभैलो मच्चाए। अवैधानिक कमिटी र अवैधानिक व्यक्तिले अध्यक्षता गरेको बैठकमा अतिथि नहुने भन्दै चौधरीले माइक नै खोसे।

त्यसको २ दिन नबित्दै एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल द्वारिकलाल चौधरीको घरमै पुगे। त्यो बेला चौधरीको निकै चर्चा भयो। सुनसरी एमालेभित्र चरम विवाद भइरहेकै बेला एकीकृत समाजवादीका अध्यक्ष नेपालले एमाले प्रदेश कमिटी सदस्य चौधरीको घरमा खाना खाए। जसले गर्दा चौधरी पनि एमाले छाडेर माधव नेपालको पार्टीतिर लाग्न लागेका हुन् त भन्ने प्रश्नसमेत उठेको थियो। 

दसौं महाधिवेशनपछि समेत चौधरीले नेपाललाई आँखा अस्पतालको शिलान्यास गर्न बोलाए। एमालेमा केन्द्रीय सदस्यको दाबेदार चौधरी ओलीको सूचीमा पर्न नसकेपछि माधव नेपाललाई बोलाएर अस्पताल शिलान्यास गराए। इटहरी १७ लबीपुरमा कसैको निजी जग्गामा आँखा अस्पतालको भवन शिलान्यास गर्दा नेपाल विवादमा समेत परेका थिए।

यी घटनाबाटै बुझ्न सकिन्छ– सुनसरीमा माधव नेपालको सक्रियता निकै बढेको छ। सुनसरी आउन उनलाई अचेल ठूला कार्यक्रम नै हुनु पर्दैन। जेठ २ को विवाद चर्किएको जिल्ला भएकाले होला, सुनसरीलाई  माधव नेपालले विशेष चासो दिइरहेका छन्। 

‘अहिले त त्यस्तो धेरै कार्यकर्ताहरू हामीतिर आएका छैनन्, अध्यक्ष कमरेड (माधव नेपाल) ले पनि अन्य नेताहरूसँग छलफल गर्दै हुनुहुन्छ’, एमालेबाट एकीकृत समाजवादीमा प्रवेश गरेका एक नेताले नेपालखबरसँग दाबी गरे, ‘एमालेको जिल्ला अधिवेशनपछि झन् धेरै संख्यामा हाम्रोतिर साथीहरू आउनुहुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .