ad ad

राजनीति


विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग, रवीन्द्र मिश्रसँग ‘सम्बन्ध विच्छेद’

विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग, रवीन्द्र मिश्रसँग ‘सम्बन्ध विच्छेद’

फाइल तस्बिर : विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्र र उक्त पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समितिका संयोजक सुरेश भट्ट (दायाँ)।


नेपालखबर
पुस २४, २०७८ शनिबार १३:५७, काठमाडौँ

विवेकशील साझा पार्टीको अन्तर्राष्ट्रिय समिति भंग गरिएको घोषणा गरिएको छ। 

पार्टीको अन्तर्राष्ट्रिय सद्भाव समितिका संयोजक सुरेश भट्टले शनिबार विज्ञप्ति जारी गरी समिति भंग गरिएको र अध्यक्ष रवीन्द्र मिश्रसँग ‘सम्बन्ध विच्छेद’ भएको घोषणा गरेका हुन्। 

‘विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रवीन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसँग सम्बन्ध बिच्छेद गरेको घोषणा गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘तथापि वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ शिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरूसँगै अन्तर्राष्ट्रिय समितिसमेत भंग भएको घोषणा गर्दछु।’

सुरेश भट्टले जारी गरेको विज्ञप्तिकाे पूर्णपाठ ​:

‘विवेकशील साझा अन्तर्राष्ट्रिय समिति भंग तथा पार्टीविरोधी मिश्र समूहसँग सम्बन्ध विच्छेदको घोषणा’

‘व्यवस्था हैन, अवस्था परिवर्तन’लाई राजनीतिको मूल ध्येय बनाएर एक दशकदेखि विवेकशील आन्दोलन हुँदै स्थापित विवेकशील साझा पार्टीलाई अस्वाभाविक हिसाबले व्यवस्थाविरोधी, संविधानविरोधी, परिवर्तनविरोधी र प्रवासी नेपाली विरोधी, परिवर्तनविरोधी पार्टीको रूपमा चित्रित गर्ने रवीन्द्र मिश्रको दुष्प्रयासप्रति विवेकशील साझा अन्तर्रष्ट्रिय समिति घोर भर्त्सना गर्दछ।

असहज परिस्थितिमा समेत विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भई बनेको विवेकशील साझा पार्टीमार्फत वैकल्पिक राजनीतिलाई नेतृत्व गर्न पाएको अवसरलाई दुरुपयोग गर्दै राप्रपामा मिसिनको लागि ‘बार्गेनिङ टुल’को रूपमा पार्टीलाई दुरुपयोग गरेकोमा गम्भीर विमति र आपत्ति व्यक्त गर्दछौँ।

साथै, यही विज्ञप्तिमार्फत विवेकशील साझाको अन्तर्राष्ट्रिय समितिले रवीन्द्र मिश्र नेतृत्वको राप्रपा छिर्न उद्दत समूहसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्दछौँ। तथापि, वैकल्पिक राजनीतिको महाअभियानलाई नयाँ शिराबाट संगठित र पुनर्गठन गर्न फरक परिस्थितिको विकास भएकाले पार्टीका समस्त राष्ट्रिय सद्भाव समूहरूसँगै अन्तर्राष्ट्रिय समिति समेत भंग भएको घोषणा गर्दछु।

पुनश्चः पार्टीको विचार त्यागेर बाटो परिवर्तन गरी नागरिक अभिमतबाट अपदस्थ राजतन्त्रको पक्षमा विवेकशील साझाको नाम, चिह्न र पहिचान प्रयोग नगर्न सचेत गराउँदछौँ। पार्टीका सद्भाव समूहहरू तथा अन्तर्राष्ट्रिय समिति भंग भए पनि पुनः नयाँ तरिकाले प्रवासी नेपालीहरूको हकहितका लागि प्रवासमा रहेका वैकल्पिक राजनीतिका शुभेच्छुकहरू संगठित हुने नै हुँदा यस निर्णयबाट नआत्तिन र पुनः वैकल्पिक राजनीतिको मूल–बाटोमा संगठित हुन हार्दिक अपिल गर्दछु। आगामी दिनमा प्रवासी नेपालीलाई मताधिकार दिलाउन ‘नोट चल्ने, भोट नचल्ने?’ अभियानलाई तीव्रता दिनेछौँ र प्रवासी नेपाली समुदायसँग सधैँ उभिनेछौँ।
सुरेश भट्ट
संयोजक
विवेकशील साझा अन्तर्राष्ट्रिय सद्भाव समिति
२४ पौष २०७८

विज्ञप्तिका साथ राखिएकाे पाेस्टर

यो पनि :

विवेकशील साझा पार्टी विवाद : सर्वाेच्च अदालत जाँदै मिलन पाण्डेको पक्ष

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .