ad ad

राजनीति


एमाले सुनसरी जिल्ला अधिवेशन : नेतृत्व छान्न ‘दसबुँदे’ समूह निर्णायक!

एमाले सुनसरी जिल्ला अधिवेशन : नेतृत्व छान्न ‘दसबुँदे’ समूह निर्णायक!

फाइल तस्बिर : सुनसरी एमाले अध्यक्षमा प्रमुख प्रतिस्पर्धामा रहेका नेताद्वय खेमराज पोखरेल र रेवतीरमण भण्डारी।


कृष्ण बहाब
पुस २४, २०७८ शनिबार १६:५४, इनरुवा

नेकपा एमाले विभाजन हुनुअघि भएको दसबुँदे सहमति कार्यान्वयनमा उग्र विवाद भएको जिल्लामध्ये एक हो– सुनसरी। तत्कालीन नेकपाभित्र अन्तरसंघर्ष चल्दा माधव नेपाल–प्रचण्ड पक्षका नेताहरू पार्टीको नेतृत्वमा भएकाले ओली समूहले आफ्नो जिल्ला कमिटी बनाएको थियो।

सर्वोच्च अदालतको आदेशले एमाले पुनःस्थापना भएपछि तत्कालीन ओली समूहले रेवतीरमण भण्डारीको नेतृत्वमा बनाएको कमिटी नै आधिकारिकता पाएर जिल्लामा क्रियाशील थियो। अदालतको फैसलाबाट नेकपा भंग भई एमाले र माओवादी केन्द्र अलग भएपछि एमालेमा अन्तरसंघर्ष अझ चुलियो।

पार्टी विभाजन रोक्न भनेर दसबुँदे सहमति भए पनि जेठ २ मा फर्किने  विवादले एमाले एक ढिक्का भने हुन सकेन। तर १० बुँदे पक्षधर धेरै नेता माधव नेपालको पार्टी एकीकृत समाजवादीमा नगएर एमालेमै बसेका थिए।

दसबुँदे सहमति भएपछि पुनः नेतृत्वमा पुग्न पाइन्छ कि भन्ने आस माधव नेपाल पक्षका नेताहरूमा थियो। तर सुनसरीमा दसबुँदेको किचलोले रूप लिँदै गयो। जेठ २ अघिका जिल्ला अध्यक्ष रमेश बस्नेतलाई पार्टीको जिम्मा दिन नसकिने निष्कर्ष संस्थापन पक्षको थियो भने संस्थापनतर्फका अध्यक्ष रेवती भण्डारीलाई अध्यक्ष स्वीकार्न नसकिने अडानमा दबुँदे पक्षधर। 

पार्टीको दसौं महाधिवेशनक हुने मिति नजिकै आइसक्दा पनि एमाले सुनसरीको विवाद टुंगिने छाँटकाँट देखिएन। त्यसपछि एउटा मध्यमार्गी उपाय निकालियो– जेठ २ अघिका अध्यक्ष र जेठ २ पछिका दुवै अध्यक्षको साटो अर्कैलाई अध्यक्ष बनाउने र उसैको नेतृत्वमा अधिवेशन  गर्ने। 

जसअनुसार खेमराज पोखरेलको अध्यक्षतामा आयोजक कमिटी कायम गरियो र दुवै पक्षका सबै जिल्ला सदस्यलाई समावेश गरियो। 

आयोजक सदस्य र अन्य प्रतिनिधि गरेर एमालेको सुनसरी जिल्ला अधिवेशनमा झन्डै १९ सय मतदाता छन्। हाल ९५१ सदस्यीय एमाले जिल्ला कमिटी रहेको सचिवालय सदस्य जीवी गजल बताउँछन्। जसमध्ये ४५० हाराहारी सदस्य दसबुँदे पक्षधर छन्। 

भण्डारी र पोखरेलबीच मुख्य प्रतिस्पर्धा 
एमालेको सुनसरी जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि चार जना आकांक्षी देखिएका छन्। अध्यक्षमा दाबी गर्नेमा संविधान सभा सदस्य रहेका रेवतीरमण भण्डारी, जिल्ला अध्यक्ष खेमराज पोखरेल, इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरी र इटहरी खानेपानी समितिका अध्यक्ष रामप्रसाद चौलागाईं छन्। सबै उम्मेदवार संस्थापन पक्षकै हुन्। 

सहमतिबाट नेतृत्व चयन गर्ने प्रयास जारी रहे पनि दाबेदारहरूबीच चुनाव नै हुने स्थिति देखिन्छ। अध्यक्ष पद दाबी गरिरहेकामध्ये चौधरी, पोखरेल र भण्डारी जिल्ला पदाधिकारीमा बसेर काम गरिसकेका नेता हुन् भने चौंलागाईं नयाँ अनुहार हुन्। चार जनाको दाबी रहे पनि प्रमुख प्रतिस्पर्धा रेवतीरमण भण्डारी र खेमराज पोखरेलबीच हुने देखिन्छ।

पार्टीमा तीव्र अन्तरसंघर्षका बेला एमालेलाई जिल्लामा चलायमान गराउन भन्दै भण्डारीले अध्यक्ष पदमा दाबी गरेका छन्। छैटाैँ जिल्ला अधिवेशनबाट अध्यक्ष बनेका भण्डारीले २०७० मा संविधान सभा सदस्य चुनिएपछि पार्टीको नेतृत्व छाडेका थिए।

भण्डारी नजिकका एक नेता भन्छन्, ‘अन्तरसंघर्षका बेला उहाँ (रेवती भण्डारी) खरो रूपमा उत्रनुभएको थियो। त्यति बेला पार्टीको कति  गतिशील थियो, तपाईंहरूले पनि देख्नु नै भएको हो नि!’ 

यता खेमराज पोखरेल भने सहमतिबाटै नेतृत्वमा दोहोरिन चाहेका छन्। पाँचौं अधिवेशनताका जिल्ला उपाध्यक्ष रहेका पोखरेलले छैटौं अधिवेशनमा भने उम्मेदवारी दिएका थिएनन्। रेवतीरमण भण्डारीको सम्बन्ध भीम आचार्यसँग राम्रो नभएका कारण आचार्य पक्षले पोखरेललाई सहयोग गर्ने बुझिएको छ।

पोखरेललाई आयोजक कमिटीको अध्यक्ष बनाउँदा समेत आचार्य पक्षले समर्थन गरेकाले अहिले पनि अध्यक्ष बनाउन सहयोग गर्ने सम्भावना छ।

दसबुँदे पक्षधर निर्णायक!
राष्ट्रिय महाधिवेशनमा खासै ठूलो शक्तिका रूपमा नदेखिएको ‘दसबुँदे’ पक्षधर सुनसरीमा भने निर्णायक हुने देखिएको छ। माथि नै भनियो– दसबुँदे पक्षधरको संख्या आयोजक कमिटीमै ४५० हाराहारीमा छन्। भूगोलबाट प्रतिनिधि पठाउँदा सर्वसम्मत भएकाले प्रतिनिधिकै रूपमा समेत ३ सय जनाभन्दा बढी हुने दसबुँदे पक्षधरका एक नेता दाबी गर्छन्। 

निर्वाचनै हुने स्थिति आए प्रतिनिधिको संख्या हेर्दा सुनसरीमा एमालेको नेतृत्व दसबुँदे सहमति पक्षधरको हातमा रहेको देखिन्छ। यो पक्षले जुन उम्मेदवारलाई सघाउँछ, त्यसैले चुनाव जित्ने स्थिति छ।

रेवतीरमण भण्डारीको व्यक्तिगत सम्बन्ध दसबुँदे सहमतिका लिडरकै रूपमा रहेका भीम आचार्यसँग राम्रो नभएकाले निर्वाचन हुने स्थिति आए उनलाई सहयोग नमिल्ने देखिन्छ। कुनै समय आचार्य समूहमै रहेका भण्डारी र आचार्यबीचको सम्बन्ध २०७४ सालको निर्वाचनताका टिकटका कारण चिसिँदै गएको थियो।

त्यही कारण पोखरेललाई अध्यक्ष बन्न सजिलो हुने देखिन्छ। पार्टी स्रोतका अनुसार इनरुवाका पोखरेललाई इनरुवा नै घर भएका आचार्यले समेत सघाउने छनक दिएका छन्।

अध्यक्ष पदमा आफ्नै पक्षका व्यक्ति नभए पनि अन्य पदाधिकारीमा भने दसबुँदे पक्षधरले लबिङ गरिरहेका छन्। उपाध्यक्ष र एउटा उपसचिव पदमाा दसबुँदे पक्षधरले दाबी गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .