ad ad

राजनीति


पृथ्वी जयन्ती : सिंहदरबार अगाडि ज्ञानेन्द्र शाहसँग राजावादीहरुको ‘जम्का भेट’

सरकारले भोलि सार्वजनिक बिदा नदिने
पृथ्वी जयन्ती : सिंहदरबार अगाडि ज्ञानेन्द्र शाहसँग राजावादीहरुको ‘जम्का भेट’

फाइल तस्बिर


नेपालखबर
पुस २६, २०७८ सोमबार १९:१९, काठमाडौँ

नेपाल एकीकरणकर्ता पृथ्वी नारायण शाहको ३०० औं जयन्ती तथा राष्ट्रिय एकता दिवसका दिन मंगलबार मध्यान्ह पूर्वराजा ज्ञानेन्द्र शाह र राजावादीहरुको भेट सिंहदरबार अगाडि हुने भएको छ।

पुस २७ गते जनस्तरबाट विभिन्न कार्यक्रम गरेर मनाउने तयारी भइरहँदा आफ्ना पुर्वजको शालिकमा माल्यार्पणका लागि पूर्वराजा शाह निर्मल निवासबाट निस्किएर १३ वर्षपछि सिंहदरबार अगाडि पुग्दैछन्। 

२०६५ सालमा भएको गणतन्त्र घोषणायता पहिलो पटक पूर्व राजा शाहले आफ्ना पुर्खा बडामहाराजाधिराज पृथ्वी नारायण शाहको शालिकमा मंगलबार मध्याह्न साढे १२ बजे माल्यार्पण गर्ने कार्यक्रम तय भएको उनका स्वकीय सचिव फणिराज पाठकले बताएका छन्।

ज्ञानेन्द्र निर्मल निवासबाट निस्किएर दरबारमार्ग हुँदै सिंहदरबारसम्म आइपुग्ने रुट तय भइसकेको छ। 

राजावादी पनि पुग्दै 
पूर्वराजा शाह पुग्ने समयकै आसपासमा राजेन्द्र लिङ्देन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि एकता दिवस मनाउने योजना तय गरिसकेको छ।

हिन्दु राज्य र संवैधानिक राजतन्त्रको वकालत गरिरहेको राप्रपाले बिहान साढे ११ बजे भृकुटीमण्डपमा जम्मा भएर सिंहदरबार अगाडिसम्म पुग्ने कार्यक्रममा तय गरेको केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताएका छन्। 

अर्कातिर केशरबहादुर विष्ट नेतृत्वको राष्ट्रिय शक्ति नेपालले पनि बिहान साढे ११ बजे नारायणहिटी अगाडि रहेको महेन्द्रको सालिक अगाडि जम्मा भएर सिंहदरबार अगाडि आउने कार्यक्रम तय गरेको छ। 

राष्ट्रिय शक्ति नेपालका नेता विराज विष्टका अनुसार पृथ्वीनारायणको शालिकमा माल्यार्पण र राष्ट्रिय एकता दिवस मनाउन सिंहदरबार आइपुग्ने कार्यक्रम रहेको बताएका छन्। 

निर्मल निवासबाट साढे १२ बजे सिंहदरबार आइपुग्नु अघि यी दुवै राजावादी शक्तिहरु दरबारमार्ग र भृकुटीमण्डपबाट पृथ्वीनारायणको सालिक भए ठाउँ आइपुग्नेछन्। 

यस्तोमा यी दुई शक्ति र पूर्वराजा ज्ञानेन्द्रको सिंहदरबार अगाडि भेट हुनेछ। तर दुवै दलका नेताहरुले निर्मल निवाससँग यसबारे कुनै सल्लाह नभएको बताएका छन्। 

सरकारले राष्ट्रिय एकता दिवसमा बिदा नदिएको अवस्थामा राजावादी शक्तिहरुले त्यहाँ रोष प्रकट गर्न सक्नेछन्। 

अरु कार्यक्रम
पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा देवप्रकाश त्रिपाठी नेतृत्वको एकीकृत शक्ति नेपालले पनि कार्यक्रम गर्दैछ।

यो पार्टीका उपत्यका संयोजक जुलुमरत्न डङ्गोलले सोमबार  विज्ञप्ति निकालेर मंगलबार बिहान साढे ७ बजे सिंहदरबार पश्चिम ढोकास्थित पृथ्वीनारायणको शालिकमा माल्यार्पण कार्यक्रम रहेको बताएका छन्।

उता विवेकशील साझा पार्टीले भने बखुण्डोलस्थित कार्यालयमै पृथ्वी जयन्ती मनाउने भएको छ। 

विवेकशील साझाका अध्यक्ष रवीन्द्र मिश्रले पछिल्लो समय आफूलाई संघीयताको विरोधमा उभ्याउँदै आएका छन्। 

बिदा नदिने 

यसैबीच सरकारले पृथ्वी जयन्तीका दिन मंगलबार सार्वजनिक बिदा नदिने भएको छ। 

सत्ता साझेदार पुष्पकमल दाहाललाई कोरोना भएपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि कन्ट्याक्ट ट्रेसिङपछि आइसोलेसनमा छन्। 

यस्तोमा सोमबार मन्त्रिपरिषद् बैठक बस्न सकेन। अर्कातिर गृहमन्त्रालयले पनि यसबारे कुनै निर्णय लिन सकेन।

गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्रीबीच छलफल हुन नसक्दा सार्वजनिक बिदा सम्भव नभएको हो। 

गृहले पृथ्वी जयन्ती नभनी राष्ट्रिय एकता दिवसका नाममा सार्वजनिक बिदा दिन खोजेको थियो। तर प्रधानमन्त्री आइसोलेसनमा रहेर क्याबिनेट पनि बस्न नसकेपछि गृहले बिदा प्रक्रियालाई अघि बढाउन सकेन। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .