ad ad

राजनीति


सुनसरीमा एमाले नेतृत्व लिन आज त्रिपक्षीय भिडन्त हुँदै, कसको सम्भावना?

सचिव र १६ सदस्य सर्वसम्मत
सुनसरीमा एमाले नेतृत्व लिन आज त्रिपक्षीय भिडन्त हुँदै, कसको सम्भावना?

एमाले सुनसरी अध्यक्ष पदका प्रत्याशी बायाँबाट क्रमशः खेमराज पोखरेल, रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरी।


कृष्ण बहाब
पुस २७, २०७८ मंगलबार ६:२७, इटहरी

सुनसरीमा नेकपा एमालेको जिल्ला अध्यक्ष पदमा तीन जनाबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ। 

पूर्व एमाले जिल्ला अध्यक्षद्वय रेवतीरमण भण्डारी र द्वारिकलाल चौधरी तथा वर्तमान अध्यक्ष खेमराज पोखरेलबीच नयाँ कार्यकालका लागि आज (मंगलबार) निर्वाचन हुने भएको हो। 

केन्द्रीय नेताहरूले अध्यक्षसहित पदाधिकारी चयनमा सहमति जुटाउने प्रयास गरे पनि सफल नभएपछि आज निर्वाचनबाट टुंगो लगाइने भएको हो। 

सचिव पदमा भने अध्यक्षका प्रत्याशी रेवतीरमण भण्डारी पक्षका परशुराम यादव सर्वसम्मत चयन भइसकेका छन्। साथै विभिन्न क्लस्टरका गरी १६ जना जिल्ला सदस्य पनि निर्विरोध चुनिएका छन्। 

तर अध्यक्ष र उपाध्यक्ष र उपसचिव पदमा सहमति हुन नसकेपछि आज चुनाव हुने भएको हो। उपाध्यक्ष पदमा नन्द बस्नेत र निलम खनालले उम्मेदवारी दिएका छन्। दुई उपसचिवका लागि ६ जनाभन्दा बढी उम्मेदवार बनेका छन्। 

एमाले सुनसरी जिल्ला अधिवेशन शुक्रबार सुरु भएको हो। 

कुन नेताको समर्थन कसलाई?
अध्यक्ष पदका लागि त्रिपक्षीय भिडन्त हुने निर्वाचनमा प्रमुख रूपमा रेवतीरमण भण्डारी र खेमराज पोखरेलबीच प्रतिस्पर्धा हुने देखिएको छ। पूर्वअध्यक्ष भए पनि यी दुई उम्मेदवारसामु  द्वारिकलाल चौधरी कमजोर देखिएका छन्।

विवादित प्रसंगका कारण बारम्बार चर्चामा आइरहने चौधरी भने चुनाव जित्नेमा आश्वस्त देखिन्छन्। पार्टी (एमाले) भित्र विवादका बेला प्रायः मौन बसेका हुनाले आफूलाई १० बुँदे पक्षधरले सहयोग गर्ने अपेक्षा उनको छ। 

तर दसबुँदे सहमतिपछि पार्टी काममा फर्किएका उपाध्यक्ष नन्द बस्नेत र उपसचिव पदका उम्मेदवार लोकेश निरौला भने खेमराज पोखरेलका पक्षमा देखिएका छन्। 

दसबुँदे सहमतिका हर्ताकर्ता भीम आचार्यले समेत पोखरेलकै प्यानलबाट आफ्ना निकट नन्द बस्नेत र लोकेश निरौलालाई उम्मेदवार बनाएपछि उनले पनि आचार्यलाई नै सहयोग गर्ने अनुमान गरिएको छ। 

भीम आचार्यसँग रेवतीरमण भण्डारीको व्यक्तिगत सम्बन्ध पनि खासै राम्रो छैन। त्यसैले पनि १० बुँदे पक्षका धेरैजसोले भण्डारीलाई सहयोग नगर्न सक्छन्। तर १० बुँदे पक्षधरका मत चौधरी र पोखरेललाई बाँडिएर आफूलाई फाइदा हुने आसमा भण्डारी देखिन्छन्।

भण्डारी पक्षले आफूलई संस्थापन समूहको आधिकारिक दाबेदार ठानेको छ। त्यसैले संस्थापन नजिकका प्रतिनिधिले सहजै आफूलाई मत दिनेमा भण्डारी ढुक्क देखिन्छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .