ad ad

राजनीति


सुनसरीमा चलेन भीम आचार्यको दम, द्वारिकलाललाई एमाले कार्यकर्ताले पत्याएनन्

कट्टर विरोधी रेवतीरमणको जितले थपिदियो झन् तनाव
सुनसरीमा चलेन भीम आचार्यको दम, द्वारिकलाललाई एमाले कार्यकर्ताले पत्याएनन्

फाइल फोटो


कृष्ण बहाब
पुस २९, २०७८ बिहिबार २३:१०, इनरुवा

नेकपा एमाले सुनसरीको सातौँ अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन्। 

दोस्रो संविधानसभा सदस्य समेत रहेका भण्डारी छैटौँ अधिवेशनमा समेत अध्यक्षमा निर्वाचित पात्र हुन्।

छैटौँ अधिवेशनमा तत्कालीन माधव नेपाल लाइनमा रहेका भण्डारी सातौँ अधिवेशनसम्म आउँदा अध्यक्ष केपी शर्मा ओलीनिकट भएका छन्।

२०७४ सालको प्रतिनिधिसभाको निर्वाचनमा भीम आचार्यले टिकट नदिएपछि भण्डारी लामो समय पार्टीमा गौण रहे। टिकटमा झेल गरेको भन्दै भण्डारी र आचार्यको सम्बन्ध अहिलेसम्म पनि राम्रो छैन।

प्रदेश १ एमाले संसदीय दल नेता चयनका क्रममा भण्डारीले आफ्नो लाइन क्लियर गरे। दल नेतामा शेरधन राई र आचार्यको प्रतिस्पर्धा चल्दा भण्डारीले राईको पक्षमा लबिङ गरेसँगै उनी ओलीनिकट भएका थिए।

२०७४ देखि बिग्रिएको सम्बन्धकै कारण भीम आचार्यले यो अधिवेशनमा भण्डारीलाई अध्यक्ष नबनाउने रणनीति चालेका थिए। 

तर, भण्डारीविरुद्ध अध्यक्षमा उठाउन आचार्यसँग 'दश बुँदे' पक्षधर लाइनमा 'हेभिवेट' उम्मेदवार नै थिएनन्। त्यसैले संस्थापन लाइनबाट अध्यक्ष अर्का उम्मेदवार खेमराज पोखरेललाई समर्थन गरेका थिए।

पोख्रेलको पक्षमा सार्वजनिक अपिल  नगरेका आचार्यले आफ्ना निकटस्थलाई उनकै प्यानलबाट उठाएका थिए। 

आचार्यनिकट र १० बुँदे पक्षधर मानिएका नन्दु बस्नेत र लोकेश निरौलालाई उनले पोख्रेल प्यानलबाट क्रमशः उपाध्यक्ष र उपसचिव पदमा उठाए।

तर, आचार्यको यो रणनीतिलाई एमालेका कार्यकर्ताहरूले इन्कार गरिदिए। आचार्य लगायतका दस बुँदे पक्षधरको समर्थन पाएका संस्थापनकै उम्मेदवार पोखरेलले पनि भण्डारीसँग पराजित भए। आचार्यनिकट नै मानिएका अध्यक्षका अर्का उम्मेदवार द्वारिकलाल चौधरीले सय मत पनि कटाउन सकेनन्।

भण्डारीले ९२० मत ल्याउँदा प्रतिस्पर्धी पोख्रेलले ७७५ मत ल्याए। तर इटहरी उपमहानगरपालिकाका विवादित मेयर द्वारिकलालले केबल ८० मत मात्रै ल्याए। इटहरीका मेयर चौधरीलाई उनको विवादित छवि र माधव नेपाललाई गरेको स्वागत भारी पर्न गयो।

आचार्यको गिर्दो शक्ति !

केन्द्रीय राजनीति गर्दै आएका भीम आचार्य मुख्यमन्त्री बन्ने योजनाका साथ २०७४ सालमा प्रदेशमा झरेका थिए। उनी एमालेको नवौँ महाधिवेशनमा सचिव पदमा निर्वाचित भएका थिए। 

तत्कालीन एमालेका ५१ जना सांसदहरूको संसदीय दलको निर्वाचनमा भीम आचार्य शेरधन राईसँग पराजित भएपछि त्यसबेला मुख्यमन्त्री बन्ने बाटो बन्द भएको थियो।

२०७५ जेठ ३ गते नेकपा गठन भएपछि राजनीतिक रूपमा उनी त्यति सक्रिय थिएनन्। नेकपा विभाजन र खारेजी हुँदै एमालेसम्मको अन्तरसंघर्षमा आचार्य निकै क्रियाशील रहे।

२०७७ फागुन २३ मा नेकपा विघटनसँगै माओवादी र एमाले छुट्टिएपछि एमालेको अन्तरसंघर्षमा आचार्य माधव नेपाल पक्षबाट अग्रपंक्तिमा उत्रिए। 

तर असार २७ गतेको दस बुँदे सहमतिपछि आचार्यले नेपाल लाइन छोडे। माधव नेपालले नयाँ पार्टी खोल्दा आचार्य एमालेमै फर्किए। 

जसका कारण उनलाई प्रदेश १ को मुख्यमन्त्री पद पनि पार्टीले सुम्पियो। तर, मुख्यमन्त्रीका रूपमा आचार्य लामो समय टिक्न सकेनन्। २ महिना नपुग्दै संसद् सङ्ख्या पुर्‍याउन नसकेर मुख्यमन्त्रीबाट बिदा भए।

संसदीय सत्तामा ओरालोसँगै पार्टीभित्रको पोजिसनमा समेत आचार्य त्यही बाटो लागे। नवौँ एमाले महाधिवेशनबाट सचिव जितेका आचार्य दसौँ महाधिवेशनमा त्यही पदमै हारे। 

प्रदेश १ इन्चार्ज समेत रहेका आचार्यले प्रायः जिल्लाहरूमा आफ्नो दबदबा बनाएका थिए। तर अहिले उनी पार्टीमा स्थायी कमिटी सदस्यमै खुम्चिएका छन्। 

केन्द्रीय पार्टीको सत्तामा मात्र होइन, गृहजिल्ला सुनसरी एमालेभित्र समेत आचार्य झन् झन् कमजोर बन्दै गएको अधिवेशनको नतिजाले देखाएको छ। कटुतापूर्ण सम्बन्ध रहेका रेवतीरमणले जितेसँगै आचार्य जिल्लामा थप कमजोर बनेको विश्लेषण पार्टीभित्र छ।

२०४८ सालमा एमाले सुनसरी सचिव रहेका आचार्यले त्यसपछिको समय जिल्ला पार्टीमा दबदबा राखे। तर, ०४८ सालदेखिको आचार्यको दबदबा अब जिल्ला कमिटीमा हटेको छ। 

आचार्य नजिक रहेका उपाध्यक्ष र उपसचिवका उमेदवारको हारपछि अब पदाधिकारीका रूपमा उनीनिकट कोही प्रतिनिधि जिल्ला कमिटीमा देखिने छैनन्।

एमालेभित्रको आन्तरिक चुनावले मात्र होइन, नजिकका पात्रहरू समेत एमाले छोडेर नेकपा एकीकृत समाजवादीमा लाग्न थालेपछि पनि उनी पार्टीमा कमजोर देखिएका हुन्। 

कुनै समय भीम आचार्यका विश्वासपात्र धर्म निरौला केही समय अगाडि मात्रै नेकपा एसमा प्रवेश गरिसकेका छन्।

उनीनिकट मानिने एमाले जिल्ला अध्यक्षमा हारेका द्वारिकलाल चौधरीले पनि माधव नेपालसँग हिमचिम बढाएका छन्। 

उनले यसअघि नै माधव नेपाललाई घरमै बोलाएर मिष्ठान्न भोजनसहित सत्कार गरिसकेका छन्। त्यस्तै उनले नेपालकै हातबाट केही विकासका पूर्वाधार पनि उद्घाटन गराएका छन्। 

इटहरी उपमहानगरपालिकाको मेयर भएयताको धेरै समय द्वारिकलालले अनेक विवाद र हल्लाखल्लामा बिताए।

पत्रकारहरुसँग सवाल जवाफदेखि दुर्व्यवहारसम्ममा उत्रिएका द्वारिकलालले पनि आफ्नो प्रभाव जिल्ला अधिवेशनमा देखाउन सकेनन्। 

उनलाई समाजवादी अध्यक्ष माधव नेपाल र प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई घरमै बोलाएर गरेको मेजमानीले ठूलो घाटा यो अधिवेशनमा लागेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .