ad ad

राजनीति


जनता समाजवादी पार्टी फुटनजिक पुगेकै हो त?

उपेन्द्रको एकलौटीले किचलो, मोर्चाबन्दी गर्दै बाबुराम
जनता समाजवादी पार्टी फुटनजिक पुगेकै हो त?

सागर न्यौपाने
पुस ३०, २०७८ शुक्रबार २०:४७, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव, नेताहरु डा. बाबुराम भट्टराई र अशोक राईको स्वभाव उस्तै छ– तीनै जना अड्कलेर बोल्छन्, अन्तर्मुखी छन्। अर्काे पनि समानता छ– उनीहरु आफ्नो विचारमा अडिग छन्। 

कुनै समय तीनै जना फरकफरक पार्टीको नेतृत्वमा थिए।

यादव मधेस आन्दोलनपछि चर्चामा आएका नेता हुन्। २०६४ मा उनी मधेसी जनअधिकार फोरमका अध्यक्ष थिए। त्यसयता सो पार्टी पटक–पटक टुक्रिएको छ। 

२०७२ असोज १० गते एकीकृत नेकपा माओवादी परित्याग गरेका डा. भट्टराईले २०७३ जेठ ३० मा दशरथ रङ्गशालाबाट ‘नयाँ शक्ति पार्टी नेपाल’को घोषणा गरे। 

संघीयता र पहिचानको मुद्दामा एमालेको आधिकारिक धारणाप्रति असन्तुष्टि जनाउँदै २०६९ मा अशोक राईले एमाले पार्टी परित्याग गरेर संघीय समाजवादी पार्टी बनाए। राईको पार्टीले २०७० मा भएको दोस्रो संविधानसभाको निर्वाचनमा नमज्जासँग हार बेहोर्यो।

एमालेमा हुँदा सर्वाधिक मत ल्याएर आठौं महाधिवेशनमा उपाध्यक्ष जितेका राईले संविधानसभाको दोस्रो निर्वाचनमा व्यहोरेको पराजयले उनलाई टिक्न गाह्रो भयो। त्यसपछि तराईमा क्रियाशील उपेन्द्र यादवको मधेसी जनाधिकार फोरमसँग एकता गर्न पुगे। 

मधेसकेन्द्रित दल फोरम नेपाल र जनजाति केन्द्रित दल संघीय समाजवादीबीच एकीकरणपछि ‘संघीय समाजवादी फोरम’ नामकरण भयो। आफू वरिष्ठ नेता र संसदीय दलको नेता बन्दै राईले अध्यक्षमा उपेन्द्र यादवलाई अघि सारे।

नयाँ शक्ति पार्टीलाई देशकै नयाँ बनाउने लक्ष्यसहित निकै तामझामसहित बनेको भट्टराईको पार्टीले पनि योजना अनुसार काम गर्न सकेन। भट्टराईलाई साथ दिएका पूर्व माओवादीका केही नेता र केही पूर्वप्रशासकहरुले पनि पार्टी छोड्न थाले। त्यसपछि भट्टराईले पनि विभिन्न पार्टीहरूसँग एकताको पहल गरे।

२०७६ वैशाख २३ गते संघीय समाजवादीसँग नयाँ शक्ति पार्टी नेपालको एकता भयो, पार्टीको नाम राखियो, ‘समाजवादी पार्टी नेपाल’। यादव अध्यक्ष र भट्टराई संघीय परिषद् अध्यक्ष बन्दा राई वरिष्ठ नेतामा बसे। 

तीनै जना कम्युनिस्ट पृष्ठभूमिका थिए। यादव त केही समय डा. भट्टराईसँग जनयुद्धमा समेत सहभागी भएका थिए। निकै लामो समय एमाले पार्टीमा योगदान गरेका, पूर्वमा एमालेको संगठन राम्रो बनाएको जस राईलाई जान्छ। लगभग उस्तै पृष्ठभूमिबाट आएका ती नेताहरुको पार्टी एक वर्षसम्म राम्रैसँग चल्यो।

२०७७ वैशाख ८ गते प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याए। आफ्नो पार्टी विभाजन गर्न अध्यादेश ल्याएको भन्दै तराईमै केन्द्रित रहेको अर्को दल राष्ट्रिय जनता पार्टी नेपालसँग समाजवादीले २०७७ वैशाख १० गते एकता गर्यो। र, पार्टीको नाम राखियो, जनता समाजवादी पार्टी (जसपा)।

तर, दल विभाजन रोक्न गरिएको सो एकता एक वर्ष पनि टिक्न सकेन। प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादका कारण सोही वर्षको पुस ५ गते संसद् विघटन गरेपछि जसपामा विभाजन पनि विभाजन आयो। 

अध्यक्ष महन्थ ठाकुर–राजेन्द्र महतो लगायतले ओलीको संसद् विघटनको कदमलाई समर्थन गरे। त्यही कारण पार्टीभित्र तीव्र विवाद चुलियो। ठाकुर पक्षका नेताहरु ओली सरकारमा समेत सहभागी भए। 

२०७८ असार २८ गते सर्वाेच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दियो। देउवा सरकारले भदौ १ गते दल विभाजन गर्न खुकुलो प्रावधान राखेर अध्यादेश ल्याइदियो। 

एमाले  विभाजन गराएर माधवकुमार नेपाललाई नयाँ पार्टी खोल्न सहज बनाउने उदेश्यले ल्याएको सो अध्यादेशले जसपा पनि विभाजन भयो। जसपाबाट ठाकुरपक्षका केही नेता बाहिरिएका छन्। तर, उस्तै स्वभाव र कार्यशैली भएका यादव, भट्टराई र राई नै सो पार्टीको नेतृत्वमा हुँदा पनि जसपाभित्र अर्काे विवाद सुरु भएको छ। 

अहिलेसम्म भित्रभित्र रहेको विवाद  उत्कर्षमा पुग्न थालेको नेता मोहम्मद इस्तियाक राईले बताए।

कहाँबाट निस्कियो विवाद? 
जसपामा दुई अध्यक्षको व्यवस्था थियो। महन्थ ठाकुर र उपेन्द्र यादव अध्यक्ष थिए।

महन्थ ठाकुर–राजेन्द्र महतो लगायतका नेताहरुले जसपाबाट बाहिरिएर नयाँ पार्टी गठन गरेपछि जसपाको अध्यक्ष पद रिक्त छ। 

मंसिर पहिलो साता बसेको जसपा कार्यकारिणी समितिको बैठकले रिक्त पदको व्यवस्थापन गर्दै पार्टीलाई सामूहिकतामा लैजाने निर्णय गरेको थियो। तर, झण्डै पाँच महिना हुन लाग्दा समेत पार्टीका निर्णय सामूहिक हुन सकेनन्।

राष्ट्रिय सभा निर्वाचनको सिट संख्यामा समेत पार्टीमा छलफल नै नगरी यादवले एकल रुपमा निर्णय गरेपछि जसपाका नेताहरु थप रुष्ट बने। 

‘अहिले जसपामा देखिएको मूल समस्या यादवजीले एकल रुपमा पार्टी चलाएपछि उत्पन्न भएको हो,’ राईले नेपालखबरसँग भने, ‘उहाँ रुपान्तरित हुन्छु, पुस्तान्तरणमा लैजान्छु भन्नुहुन्छ तर व्यवहारमा पुरै एकलौटी गर्दै हिँड्नुहुन्छ।’

विवादको अर्काे कारण हो, एकता प्रक्रियापछि रहेका महिन्द्र राय यादव, राजकिशोर यादव लगायतका नेता र जिल्ला तहमै समायोजनको कुरा। जसपा विभाजन गर्ने ठाकुर–महतोपक्षलाई साथ नदिएका नेताहरु अध्यक्ष यादवको पछिल्लो कार्यशैलीप्रति रुष्ट छन्। 

‘पूर्वराजपा पृष्ठभूमिका साथीहरुले सामूहिकताको महसुस गर्न नपाएको, समायोजनमा एकलौटी भएको गुनासो गर्न थाल्नुभएको छ,’ कार्यकारिणी सदस्य नवराज सुवेदीले नेपालखबरसँग भने, ‘व्यक्तिले एकल रुपमा पार्टी चलाउने कुरा कार्यकारिणी समितिको निर्णयविरुद्ध छ।’ 

पार्टीभित्र देखा परेका विवाद समाधानको उपाय खोजीका लागि डा. भट्टराई र वरिष्ठ नेता अशोक राईबीच छलफल भइरहेको छ।

भट्टराईको नयाँ शक्ति नेपाल र समाजवादी पार्टी नेपालबीच एकता गराउन पनि अशोक राईकै भूमिका थियो। राईले बताएअनुसार ०७३ देखि ०७५ सम्म २ वर्ष दुई नेताबीच विभिन्न चरणमा पार्टी एकताकै विषयमा छलफल भएको थियो। जसपाभित्रको चुलिँदो विवादमा पनि दुई नेता एकैठाउँमा उभिएको सुवेदीले बताए। 

‘पार्टीलाई नयाँ ढंगले चलाउनु पर्छ भन्ने सबै नेताहरुको माग छ,’ उनले थपे, ‘भट्टराईजी, अशोक राईजी, महिन्द्र यादवजी लगायतका सबै साथीहरुको धारणा त्यही हो।’

जसपाले देशव्यापी चलाएको सुज अभियानमा पनि नेताहरु नेताहरु एक्लाएक्लै हिँडे।

बैठक बोलाउन डेडलाइन, नमाने विधानअनुसार 
विवाद समाधानको लागि केन्द्रीय कार्यकारिणी समितिको बैठक छिट्टै बोलाउनुपर्ने असन्तुष्ट पक्षको माग छ। उनीहरुले माघको पहिलो हप्ताभित्र बैठक बोलाउन आग्रह गरेका छन्।

तर, सो आग्रहअनुसार बैठक नबोलाए विधानअनुसार जाने उनीहरुको तयारी छ। 

‘बैठक बोलाउन अध्यक्ष यादवजीलाई दबाब छ,’ राईले भने, ‘यदि मान्नुभएन भने अर्कै मोड लिनसक्छ।’

जसपा महासचिव गंगा नारायण श्रेष्ठले पनि स्वेच्छाचारी रुपमा पार्टी चलाउने प्रयास जारी रहे अर्कै कदम चालिने बताए।

‘कार्यकारिणी समिति बैठकको निर्णय पालना भएको छैन। यसरी स्वेच्छाचारतिर पार्टीलाई लैजाने हो भने त्यो विघटनको बाटो हुन्छ,’ श्रेष्ठले भने, ‘अब छिट्टै बैठक बस्नुपर्छ। बैठक नबोलाए पार्टी जोगाउन विधानले व्यवस्था गरेअनुसार गर्छौँ।’

नेताहरुका अनुसार २५ प्रतिशत केन्द्रीय कार्यकारिणी समिति सदस्यले कारणसहित खुलाएर बैठक माग गरे तत्काल बैठक बस्नुपर्छ र त्यही बैठकले जुनसुकै निर्णय गर्न सक्छ।

यादव पक्षका नेता प्रमोद साहले भने पार्टी व्यवस्थाअनुसार चलिरहेको दाबी गरे। 

‘पार्टी सिस्टम अनुसार चल्छ,’ साहले नेपालखबरसँग भने, ‘कार्यकारिणी समितिको बैठकमा नआउनेहरुले अहिले विभिन्न कुरा निकालेर भाँडभैलो मच्चाउन खोजेका हुन्, विवाद छ भनेर मिडियामा प्रचारबाजी गराएका हुन्।’ 

तीन अध्यक्ष बनाउन प्रस्ताव 
जसपामा तीन अध्यक्ष बनाएर लैजानुपर्ने प्रस्ताव छ।

राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउन पनि तीन अध्यक्ष बनाएर जानुपर्ने प्रस्ताव गरिएको महासचिव श्रेष्ठले बताए।

‘हामीले राष्ट्रिय चरित्रको समावेशी पार्टी बनाउन चाहेका हौँ, त्यो बनाउन तीन क्लस्टरबाट अध्यक्ष बनाउन प्रस्ताव गरेका छौँ,’ श्रेष्ठले थपे, ‘खसआर्य, मधेसी, आदिवासी जनजाति।’

यो यादव, भट्टराई र राईलाई अध्यक्ष बनाउने प्रस्ताव हो।

‘पार्टीमा व्यक्तिवादी एकलौटी प्रणाली हटाउन, विवाद आउन नदिन र वैचारिक बहस गर्न तीन अध्यक्षको प्रस्ताव गरे पनि यादवजीले मान्नुभएन, तीन अध्यक्ष प्रणाली नै नेपालमा असफल भएको उहाँको विश्लेषण रहेछ,’ श्रेष्ठले भने।

यादव एकल अध्यक्ष बनाएर जान चाहन्छन्। तर, डा. भट्टराई सामूहिक नेतृत्वको पक्षमा छन्।  

‘यो कसैलाई हटाएर कसैलाई पद दिने व्यक्तिकेन्द्रित योजना होइन, पार्टी समावेशी र सामूहिक हुनुपर्छ भन्ने हो,’ जसपाका अर्का नेता डम्बर खतिवडाले भने।

विचारमै मतभेद भएपछि जसपा विभाजनको डिलमा पुग्न लागेको केही नेताहरु अनुमान गर्छन्। तर, कार्यकारिणी समितिको बैठक बसेपछि यी सबै विषयमा छलफल गरेर एउटा निष्कर्षमा पुग्न सकिने उनीहरुको भनाइ छ।

‘केही समय कुर्नै पर्छ नयाँ ढंगले म्यानेज हुने सम्भावना छ,’ खतिवडाले भने, ‘केन्द्रीय कार्यकारिणी समिति बैठकले केही सहज बनाउला।’

यादवको एकल नेतृत्वको चाहनाकै कारण अहिले विवाद जस्तो देखिएको उनले बताए। 

‘जसपाको संरचना सुरुदेखि नै एकल नेतृत्व होइन तर, जसपाबाट महन्थजीहरु बाहिरिएपछि यादवजीले एकल अध्यक्षको अभ्यास गर्नुभयो,’ खतिवडाले थपे। 

तर, जसपाभित्रको विवाद समाधान गर्न ढिलाइ भए यसले गम्भीर परिणाम ल्याउने उनी पनि स्वीकार गर्छन्। 

‘नयाँ शक्ति र समाजवादी पार्टी मिल्दा जुन सिस्टममा काम भएको थियो अहिले त्यसो हुन सकेन, पार्टी जस्तो नै भएन,’ उनले भने, ‘अहिलेको विवाद चुलियो भने त फुटमै जानसक्छ तर त्यहाँसम्म पुग्न नदिने प्रयास भइरहेको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .