ad ad

राजनीति


लुम्बिनीमा राष्ट्रिय सभा चुनाव : १५ सय मतान्तरले जित्ने गठबन्धनको दाबी

लुम्बिनीमा राष्ट्रिय सभा चुनाव : १५ सय मतान्तरले जित्ने गठबन्धनको दाबी

सुदीप भण्डारी
माघ ३, २०७८ सोमबार १७:२०, काठमाडौँ

यही माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा पाँच दलीय गठबन्धनका नेताहरूले १५ सय मतान्तरले एमालेका उम्मेदवारलाई जित्ने दाबी गरेको छ।

गठबन्धनले सोमबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेदवारहरुको परिचय गराएको थियो। पत्रकार सम्मेलनमा पाँच दलका जनप्रतिनिधिको संख्यात्मक हिसाबले जित सुनिश्चित भएको र गठबन्धन बाहिरबाट पनि आफूहरुलाई मत आउने दाबी गरिएको थियो।

नेकपा एकीकृत समाजवादीका लुम्बिनी प्रदेश अध्यक्ष मेटमणी चौधरीले एमालेका असन्तुष्ट पक्ष र स्वतन्त्र उम्मेदवारहरुको भोट पनि आफूलाई आउने बताए। चौधरीले गठबन्धन १०९४ मतान्तरले अघि रहेको र अझै ४ सय भोट थप्न सकिने सम्भावना रहेको बताए। 

‘एमालेबाट उम्मेदवार भएर किन यती चाँडै छोड्ने भन्ने बाध्यता छ। त्यस्तो मनोविज्ञान भएका मानिसहरुको भोट हामीले ल्याउने सम्भावना छ’ उनले भने, ‘एमालेसँग जोडिएका मात्र नभई गठबन्धनबाहेकका मतदाताले पनि हामीलाई भोट हाल्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ। यसरी ४ सय मत थप्न सकिने सम्भावना छ।’ 

कार्यक्रममा राष्ट्रिय सभामा कांग्रेसबाट उम्मेदवार युवराज शर्मा, एकीकृत समाजवादीका उम्मेदवार राज्यलक्ष्मी गैरे र राष्ट्रिय जनमोर्चाबाट उम्मेदवार भएका तुलप्रसाद विश्वकर्मा (राजेश विक)ले प्रतिगमनको विरुद्धमा आफूहरुको उम्मेदवारी रहेको भन्दै विजयी भएमा पदको गरिमा बढाउने बताएका थिए।  

राष्ट्रिय सभाको निर्वाचनको लागि सोमबारबाट माघ ९ गतेसम्म प्रदेशका सबै जिल्लामा उम्मेदवारको भेटघाट कार्यक्रम राखिएको जनाएको छ। चुनावमा गठबन्धनका उम्मेदवारहरुले एमालेका रामदयाल गुप्ता, भारती खनाल र कृष्ण सुनारसँग प्रतिस्पर्धा गर्नेछन्।

लुम्बिनी प्रदेशमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सहितको गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना देखिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .