ad ad

राजनीति


भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिइन् सिके राउतको हत्या गर्ने धम्की

भौतिक पूर्वाधारमन्त्री रेणु यादवले दिइन् सिके राउतको हत्या गर्ने धम्की

शैलेन्द्र महतो
माघ ६, २०७८ बिहिबार १०:२३, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) की नेतृ तथा संघीय सरकारको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवले हिंसात्मक अभिव्यक्ति दिएकी छन्।

हिजो बुधबार रौतहट सदरमुकाम गौरमा बलिदानी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले गौर नरसंहारको पुनरावृत्ति गर्ने अभिव्यक्ति दिएकी हुन्। 

पदीय मर्यादा विपरीत उनले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई गौर काण्ड भएकै राइस मिलमा घेरेर हत्या गर्ने चेतावनी दिएकी छन्।    

‘गौर नरसंहारको इतिहास राइस मिल जिवीत छ। गौरमा फँणा देखाउने प्रयास नगर,’ राउतलाई चेतावनी दिँदै मन्त्री यादवले भनिन्, ‘यहाँ लाठी भाँच्न मानिसले जानेका छन्। तुफानसँग टकराउने प्रयास नगर।’ 

हिन्दी भाषामा भाषण गर्दै फिल्मी शैलीमा उनले भनिन्, ‘तुफानसँग टकराउने प्रयास गर्यो भने त्यहि हालत हुन्छ। जुन गौरको राइस मिलमा भएको थियो। त्यो इतिहासलाई राउतले नभुलुन्। नत्र तपाइँको कार्यकर्ता मारिन्छन् र तपाइलाई पनि घेराबन्दी गरेर मारिदिन्छन्। हत्या हुन्छ। सतर्क रहनुस्।’

मन्त्री यादव बुधबार गौरमा कार्यक्रममा सहभागि हुन पुगेका बेला जनमत पार्टीका कार्यकर्ताले किसानको समस्या समाधान गर भन्दै नाराजुलुस गरेका थिए । उनीहरुले मन्त्री यादवलाई कार्यक्रम स्थल जान पनि अवरोध गरेका थिए। 

सुरक्षा घेरामा कार्यक्रम स्थल पुगेकी मन्त्री यादवले सभालाई सम्बोधनका क्रममा सिके राउतविरुद्ध हिंसात्मक अभिव्यक्ति दिएकी हुन्। 

उनले बलिदानी दिवस भएकै कारण गौरमा बुधबार नरसंहार रोकिएके संकेत समेत गरिन्। 

‘फणा फैलाउने प्रयास नगर । गौरका मानिसले लाठी भाँच्न राम्ररी जानेका छन्। तिम्रो फणालाई तोडफोड गरेर घरमा राखिदिन्छन् । हामीले आज रोकि दियौं। आज बलिदानी दिवसको दिनमा हिंसा गर्नु हुँदैन भनेर।’

मन्त्री यादवले सिके राउतलाई हिम्मत भए सिंहदरबार घेर्न चुनौती दिइन्। 
 
‘यदि तपाइँको कलेजोमा ताकत छ। गाई, भैँसीको दुध खानु भएको छ भने गएर सिंह दरबार घेराउ गर्नुस्। घरमा फासफुस हरियो साग सब्जी खानु भएको होला,’ मन्त्री यादवले राउतलाई चेतावनी दिँदै भनिन्, ‘तर जसको नसमा गाइ र भैँसीको दुधको रगतको ताकत छ उसलाइ फासफुस कहिल्यै पनि हुँदैन। लड्ने प्रयास नगर्दा वेश हुन्छ।’

के हो गौर नरसंहार?
७ चैत २०६३ को दिन गौरको राइस मिलमा तत्कालीन माओवादी समर्थित मधेसी राष्ट्रिय मुक्ति मोर्चा र उपेन्द्र यादवले नेतृत्व गरेको तत्कालीन मधेसी जनअधिकार फोरमले एकै स्थानमा छुट्टा छुट्टै मञ्च बनाएर कार्यक्रम गरेका थिए।

कार्यक्रम गर्ने विषयमा विवाद हुँदा भएको झडपमा २७ जनाको हत्या भएको घटनालाई गौर नरसंहार भनेर चिनिन्छ। उक्त घटनामा तत्कालीन माओवादीका २७ जना कार्यकर्ताको हत्या भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .