ad ad

राजनीति


सत्ता गठबन्धन बैठक : स्थानीय सरकारको अन्तिम मितिमा अड्कियो कुरो

कार्की भन्छन् : संविधानविदसँग छलफल गरेर मिति घोषणा हुन्छ
सत्ता गठबन्धन बैठक : स्थानीय सरकारको अन्तिम मितिमा अड्कियो कुरो

गठबन्धन बैठकपछि पत्रकारसँग बोल्दै सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की। तस्बिर : नेपालखबर


नेपालखबर
माघ ७, २०७८ शुक्रबार १९:०, काठमाडौँ

सत्तारुढ पाँच दलीय गठबन्धनको बैठकमा २०७४ मा निर्वाचित स्थानीय तहको अन्तिम मितिलाई लिएर कुरो अड्किएको छ।

गत मंगलबारको बैठकमा पहिले संघीय संसदको निर्वाचन गर्ने पक्षमा पुगेका गठबन्धनको शुक्रबारको बैठकमा स्थानीय तहको अन्तिम मितिबारे छलफल भएको हो। 

'आजको बैठकमा स्थानीय तह निर्वाचनबारे नै गम्भीर छलफल भएको छ। खासगरी स्थानीय निर्वाचन नै संविधानको स्पिरिट अनुसार सम्पन्न गर्ने कुरा भएको छ', बैठकपछि सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बालुवाटारमा भने, 'संविधान र कानुनमा रहेको द्विविधालाई हटाउने कुरा भएको छ।'

कार्कीले २०७४ सालमा तीन चरणमा स्थानीय तह निर्वाचन भएकाले कुनलाई अन्तिम मिति मान्नेबारे कानुनविद् र निर्वाचन आयोगसँग छलफल गरिने पनि बताए।

'२०७४ वैशाख ३१ गते पहिलो, जेठ ३१ गते र असोज २ गते तेस्रो चरणमा निर्वाचन भएको थियो। हामी अहिले पनि स्थानीय सरकारलाई प्रभावकारी बनाउन चाहन्छौँ', उनले भने, 'स्थानीय सरकारको परिकल्पना गर्दै गर्दा सिंहदरबारको सेवा गाउँमै पुग्नुपर्छ भनेका हौँ। स्थानीय सरकार मजबुत बनाउनेबारे बैठकमा गम्भीर कुरा भएको छ।'

कार्कीले तीन चरणमा स्थानीय तह निर्वाचन भएकाले कुनलाई अन्तिम मिति मान्नेबारे निचोडमा पुग्न नसकिएको बताएका छन्। 

'तीन चरणको निर्वाचनमा कुन मितिलाई अन्तिम मान्नेबारे छलफल भएको छ। अब यसबारेमा संविधानविद र निर्वाचन आयोगसँग पनि कुरा गर्ने छौँ', उनले भने, 'संविधानले जे व्यवस्था गरेको छ, त्यही अनुसार निर्वाचन मिति घोषणा हुन्छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .