शान्तिप्रेमी, स्वाभिमानी र स्वाधीन मुलुकका रुपमा नेपालले आफूलाई विश्वसामु परिचित गराउँदै संयुक्त राष्ट्रसंघका पाँच निकायमा कूटनीतिक कौशल प्रदर्शन गर्दै आएको छ।
दुईपटक राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्य बनेको नेपाल पुनः उक्त पदमा पुग्न असफल भए पनि पछिल्लो समय उक्त विश्वसंस्थाका महत्वपूर्ण पदमा रहेर काम गर्ने अवसर भने पाएको छ।
सिइडीएडब्ल्यको आगामी तीन वर्ष, मानवअधिकार परिषद् र लागुऔषध नियन्त्रण आयोगको आगामी दुई वर्ष, जनसंख्या तथा विकास आयोग र विज्ञान तथा प्रविधि आयोगमा सदस्यका रुपमा नेपालले यो वर्षभरि विश्वसमुदायसँग नेतृत्व तहमा रहेर काम गर्ने अवसर पाएको छ।
राष्ट्रसंघसँग नेपालको सहकार्यले शान्ति, सुरक्षा, विकास र मानवअधिकार जस्ता राष्ट्रसंघीय प्रणालीका तीनवटै स्तम्भलाई सुदृढ तुल्याउन योगदान पुगेको छ। नेपालले विश्वका जटिल समस्यालाई सम्बोधन गर्ने उपयुक्त संस्था संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वका द्वन्द्वग्रस्त विषम भूगोल र प्रतिकूल मौसम भएका स्थानमा सेना र प्रहरी पठाएर योगदान गर्ने नेपाल राष्ट्रसंघमा शान्ति सेना परिचालन गर्ने चौथो ठूलो राष्ट्र भएको छ।
यसबाट विश्वशान्ति स्थापनाका कार्यमा नेपालको प्रतिबद्धता झल्कन्छ। नेपाली शान्ति सैनिकले कोभिड–१९ महामारीको दोहोरो चुनौतीसँग लड्न र दिगो शान्ति कायम गर्न द्वन्द्वको चपेटामा परेका देशहरूलाई मद्दत गरेका छन्।
स्वतन्त्र, असंलग्न र सन्तुलित परराष्ट्र नीति अवलम्बन गर्ने नेपालले आफ्नो राष्ट्रियहित प्रवद्र्धनलाई केन्द्रमा राखेर प्रभावकारी कूटनीति सञ्चालन गर्दै आएको छ। आर्थिक–सामाजिक रुपान्तरणको राष्ट्रिय आवश्यकतामा सघाउन, प्राथमिकताका क्षेत्रमा विदेशबाट आर्थिक सहायता परिचालन गर्न आर्थिक कूटनीतिलाई पनि प्रभावकारीरुपमा सञ्चालन गरिएको परराष्ट्र मन्त्रालयले गत हप्ता सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ। रासस
प्रतिक्रिया