कला


फेरिँदै संगीतको बाटो: ‘भाइरल’ हुने होडमा अस्थायी भए कलाकार

फेरिँदै संगीतको बाटो: ‘भाइरल’ हुने होडमा अस्थायी भए कलाकार

राधिका अधिकारी
माघ १० , काठमाडौँ

उतिबेला गीतसंगीत सुन्ने माध्यम सीमित थिए। गीत गाउने र सुन्ने दुवै ठाउँ रेडियो नेपाल नै थियो। गायक/गायिका पनि सीमित। मिठो स्वर भएका सबैले गाउन पाउने अवस्था थिएन। रेडियो नेपालबाट स्वर परीक्षा पास नगरी गीत गाउन पाइन्नथ्यो।

स्वर परीक्षाको पनि आफ्नै दायरा थियो। वर्षको एक पटक निश्चित समयमा मात्रै स्वर परीक्षा हुन्थ्यो। त्यतिबेला बिरामी परे स्वर परीक्षा दिन अर्को एक वर्ष कुर्नु पर्ने हुन्थ्यो। त्यसैले त्यतिबेला जतिले परीक्षा पास भएर गाउने अवसर पाउँथे, तिनको स्वर माझिएको हुन्थ्यो। 

संगीतकार सुरेश अधिकारी सानो छँदा यही युग थियो। उनी तन्नेरी हुँदै जाँदा गीतसंगीत रेकर्ड गर्ने र सुन्ने/हेर्ने माध्यमहरु थपिँदै गए। टेलिभिजन आयो, रेडियो नेपालको एकाधिकार एफएम स्टेसनहरुले तोडे। क्यासेटपछि सीडी र पेनड्राइभ आयो। मानिसहरुले आफूलाई मन परेका गीत छानीछानी सुन्न थाले।

अधिकारीले संगीत गर्दागर्दै गीत/संगीतको बजारले काँचुली फेर्यो। अहिले गीत/संगीत किन्ने/बेच्ने अनेक अनलाइन स्ट्रिमिङ र डाउनलोड प्लाटफर्म छन्। नेपालमा गीत, म्युजिक भिडिओहरु प्रायः युट्युबमा राख्ने चलन छ। यी सबैले गीत/संगीतको स्वाद नै अलग्गै बनाइदिएको छ।

तर, यी सब परिवर्तनका बीच केही छुटेजस्तो, संगीतले केही गुमाएजस्तो लाग्छ, संगीतकार अधिकारीलाई। 

‘पहिलाको संगीतको ट्रेन्ड युगौँसम्म चल्ने खालको थियो। उतिबेला गीत एउटा डिभाइसमा किनेर ल्याएर मान्छेले आफ्नो घरमा राख्थे। घरमा यसरी गीत राख्नुको अर्थ संगीतको उपभोक्तासँग त्यो गीत सधैँ छ भन्नु हो। अहिले त्यो मेकानिकल मार्केट हामीले पुरै कोल्याप्स गरिसक्यौँ,’ उनी भन्छन्, ‘विकसित देशहरुमा मेकानिकल मार्केटले एक खालको आफ्नो स्थान बनाएको छ र त्यहाँ व्यवस्थित छ। पाइरेसीले गाँजेको छैन। हामीकहाँ कपिराइटको कानुनलाई राम्रोसँग लागू गर्न सकिएको छैन।’

अधिकारी अहिलेको पुस्ताले आफ्नो स्वादअनुसारका गीत सुन्नै नपाएको बताउँछन्। र, अधिकांश गीतको आयु क्षणिक हुने गरेको उनको अनुभव छ। 

‘अहिले कसको गीत कस्तो छ भनेर सुन्नेभन्दा पनि युट्युबमा सर्च गर्दा कसको गीत प्रमोसन भएर अगाडि आइरहेको छ, त्यही सुन्ने हो। त्यो चिज आज सुन्यो, भोलि सुन्यो, पर्सि फेरि त्यो गीत मेरो लिस्टबाट हराइसक्छ,’ उनी भन्छन्, ‘अर्कोदिन फेरि अर्को कुन गीत प्रमोसन गरेर माथि तानिएको हुन्छ, त्यो गीत सुन्ने हो। केही रेडियोहरुले आफ्नो लाइबे्ररीमा लगेर राखेका, केही म्युजिक कम्पनीहरुले आफ्नो कन्टेन्ट भनेर आफ्नो सर्भरमा राखेकाबाहेक अन्य ठाउँबाट यस्ता खालका गीतहरु नपाउँदा गीतहरुको आयु छोट्टिँदै छ।’

डिजिटल मार्केटको सुरुवात भएसँगै गीत/संगीतमा ‘भाइरल’ हुन खोज्ने प्रवृत्ति हाबी भएको छ। तर, यसले सबै कलाकारलाई अस्थायी बनाउँदै लगेको अधिकारीको तर्क छ। 

भन्छन्, ‘भाइरल हुन गीतमा स्तर, त्यसको मेलोडी, गीतको अर्थ, त्यसले दिने सन्देश र गुणस्तरलाई हामीले बिर्सिरहेका छौँ।’

हुन पनि पछिल्लो समय जो भाइरल, उसैको बजार बनिरहेको छ। अहिलेका गीत/संगीतले गुणस्तरका हिसाबले प्रतिस्पर्धा गर्न पाइरहेका छैनन्। कसले कालजयी गीत बनाउने भन्दा पनि कसले भाइरल बनाउने भनेर गीत/संगीतको बजार बिस्तार भइरहेको छ। भाइरल हुन कहिले कहिले गायकको ग्लयामर बेचिन्छ त कहिले कलाकारको बजारभाउ हेरिन्छ।

हिजोआज भाइरलका लागि गीत/संगीतको जसरी प्रमोसन गरिँदैछ त्यसले गुणस्तरको लेखाजोखा नगरेको अधिकारीको भनाइ छ। 

अधिकारीकै भनाइमा सहमत छन्, संगीतकार शम्भुजीत बाँस्कोटा। 

‘एउटा बल्ब कोठामा बलिरहेको हुन्छ। बजारमा कम बिजुली खपत गर्ने भन्दै अर्को बल्ब आउँछ। र, त्यही नयाँ बल्ब प्रयोगमा आउँछ। पुरानो हराउँछ,’ बाँस्कोटा भन्छन्, ‘संगीतको बजार पनि त्यस्तै भइरहेको छ।’

अहिले बजारमा आएका गीतको आयु कति दिनको हुन्छ, त्यो थाहा नहुने उनी सुनाउँछन्। 

‘तर, नेपाली संगीतको एउटा युग छ, त्यो युगका संगीत अहिले पनि कालजयी भएर बसेका छन्,’ उनले भने।

हुन त यसबीचमा केही सदाबहार गीत पनि बजारमा आएका छन्। केही गायक/गायिकाले आफ्नो गुणस्तरलाई कायम राख्ने कोसिस गरेका छन्। तर, दुःखको कुरा राम्रा सिर्जना पनि भाइरलको सिकार भएको अधिकारी बताउँछन्। 

‘पछिल्लो समय बजारमा आएका गीत एक वर्षसम्म टिकेको मलाई थाहा छैन। स्रोताले सम्झना गरेको याद छैन,’ उनले भने।

संगीतमा मौलिकता चाहिन्छ भन्ने पुरानो पुस्ता छँदैछ। उनीहरु आफ्नो संगीत भनेर गर्व गर्नलायक हुनुपर्ने बताउँछन्। नेपालमा मात्रै होइन, विश्वमै ‘नेपाली संगीत’ भनेर चिनिनु पर्ने कतिपय संगीतकर्मीको तर्क छ। तर डिजिटल टेक्नोलोजीका कारण संगीतको स्वाद चाँडोचाँडो परिवर्तन भइरहेको छ।

एक  समय पुराना चर्चित गीतलाई ‘रिमिक्स’ गरेर गाउने, रेकर्ड गराउने चलन पनि व्याप्त थियो। धेरै कलाकारले यसलाई पुरानो लोकप्रियताको जगमा टेकेर आफ्नो पहिचानको सजिलो खुड्किलो बनाए। अलिपछि कभर सङ रेकर्ड हुन थाले। यसका माध्यमबाट पनि थुप्रै गायक गायिका चर्चामा आए। कभर सङको विरोध भइरहे पनि यो क्रम रोकिएको छैन। पातलिँदै भने गएको छ। अहिलेकी चर्चित गायिका रचना रिमाल पनि कभर सङ गाउँदा गाउँदै चर्चामा आएकी हुन्। अहिले उनका थुप्रै गीत हिट छन्।

रेडियोमा गीत बजे, टीभीमा देखिए हिट हुने दिन निक्कै पर छुटिसक्यो। अहिलेका कलाकार र स्रोताका लागि सबैभन्दा सहज माध्यम युट्युब बनेको छ। प्रायः कलाकारका आफ्नै च्यानल छन्। कलाकारको एउटा पुस्ता त टिकटकबाटै स्थापित भइसकेको छ। 

शम्भुजित, सुरेश अधिकारीका पालाका पुराना कलाकार पनि युट्युब तथा टिकटकमा जोड दिइरहेका छन्। बिगँ्रदै गएको सांगीतिक बजार सुध्रिनका लागि संगीतकारले नै पहल लिनुपर्ने संगीतकार सन्तोष श्रेष्ठ बताउँछन्। एउटा सिर्जना गीत हो कि होइन भनेर छुट्याउने काम संगीतकारले गर्नु पर्ने उनको तर्क छ। 

‘हातमा आएको कुनै चिज गीत हो कि होइन मात्र होइन, त्यसलाई कस्तो धुन दिने, मान्छेलाई कुन तहसम्म त्यो धुनमा डुबाउने, त्यो शब्दलाई कति प्रभावकारी बनाउने त्यो पनि संगीतकारले गर्छ,’ श्रेष्ठ भन्छन्, ‘र त्यो गीत कस्तो मान्छेलाई गाउन दिने, कस्ता आवाज भएको व्यक्ति र प्रतिभालाई अगाडि बढाउने, गायकका रूपमा समाजमा कस्ता मान्छे स्थापित बनाउनु पर्छ भन्ने पनि संगीतकार हो।’ 

यति धेरै शक्तिशाली संगीतकार आर्थिक कारणले निरीह बन्नेगरेको संगीतकार तथा गायक सागर अधिकारी बताउँछन्। नेपालमा कुनै पनि संगीतकारको आफ्नो ब्यान्ड नहुनुले हाम्रा गीत/संगीत गुणस्तरी हुन नसकेको उनको तर्क छ।

‘हामी प्राविधिक रूपले पनि कमजोर छौँ। जबसम्म यो बजार स्थापित हुँदैन तबसम्म संगीतकारहरु बलिया हुँदैनन्। संगीतकार भन्ने संस्था बलियो भइसकेपछि मात्रै सिर्जनाको एउटा मूल्य हुन्छ,’ उनले भने।

नेपालमा संगीतको बजार स्थापित हुन अझै धेरै पुस्ताले ठूलो मेहनत र कोसिस गर्नुपर्ने उनको भनाइ छ। 

प्रविधिको प्रयोगले गुणस्तरीय र कम गुणस्तरको स्वरमा रहने फरक मेटिदिएको उनको ठम्याइ छ। 

‘रियाज गरेकाहरूको र भर्खर गाउन आएका सबैको स्वर उस्तै सुनिन्छ। पहिला फरक छुट्टिन्थ्यो,’ उनी भन्छन्, ‘अहिले किन एउटै सुनिन्छ भने एउटा मेसिनमा हालेर अटो ट्युनर लगाएपछि हामीले मेच ठोक्दा निक्लेको आवाजलाई पनि गीत बनाउन सकिन्छ।’ 

गायिका काव्या आचार्यको तर्क छ, दर्शकस्रोताले अहिलेका गीतसंगीत रोजेर, खोजेर नभई स्पोन्सर गरेर उनीहरुलाई सुनाइने बताउँछिन्।

‘अहिलेका पुस्ता म फलानोको गीत सुन्छु भनेर संगीत बजारमा जाँदैन। उसलाई थाहा हुँदैन कसको, कस्तो गीत स्पोन्सर भएर युट्युबको हिट लिस्टमा आएको हुन्छ। त्यही गीत क्लिक गरेर सुन्छ। यसरी क्लिक गरेर सुन्ने लाखौँ स्रोता हुन्छन्। एकएक क्लिक गर्दा त्यो गीत मार्केटमा भाइरल भइसकेको हुन्छ। तर कसैले पनि छानेर मन पराएर सुनेको गीत त्यो हुँदैन,’ उनले भनिन्, ‘मन पराएर, खोजेर सुनेको गीतको भ्युज लाखमा पुग्नै लामो समय लाग्छ। बजारमा आएको ५ दिनमा करोड क्लबमा प्रवेश गरेको गीत एक महिनापछि स्रोतालाई सोध्दा थाहा हुँदैन।’ 

जब संगीतको ट्रेन्डको कुरा चल्छ, तब संगीतकार सुरेश अधिकारी नोस्टाल्जिक बन्छन्। घरमा उनका गीतका क्यासेट छ भनेर पुराना स्रोताले सुनाउँदा उनी मक्ख पर्छन्।

‘कतिले मेरा गीतका हरफ कण्ठस्थ सुनाउँछन्,’ अधिकारी भन्छन्, ‘मलाई त्योभन्दा ठूलो कमाइ अरु लाग्दैन।’

माघ १०, २०७८, साेमबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

सम्पादक
अरुण बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad