गत वैशाख २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ शुक्रबारदेखि प्रदर्शनको छैटौँ सातामा प्रवेश गरेको छ। यो वर्ष २०८३ मा हालसम्म प्रदर्शन भएका अन्य नेपाली फिल्मभन्दा ‘लालीबजार’ निकै अगाडि देखिएको छ।
साथै घरेलुबजारमा ९ करोड बढी ग्रस कलेक्सन गरिसकेको ‘लालीबजार' को यात्रा १० करोड क्लबतर्फ अगाडि बढेको छ। फिल्मले छैटौँ सातामा प्राप्त गरेको शो संख्याले यसको यात्रा १० करोडमा पुग्ने सुनिश्चित छ।
फिल्म ‘लालीबजार' को डायस्पोरा प्रदर्शन युरोपको डेनमार्कबाट सुरु हुने भएको छ। निर्माता म्याक्स दीपेश खत्रीका अनुसार फिल्म आगामी असार ५, ६ र ७ गते डेनमार्कको कोपेनहेगनमा प्रदर्शन हुने भएको छ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ। यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गरेका हुन्।
निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्तरूपमा तयार गरेका हुन्। फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता छन्।
Shares

प्रतिक्रिया