ad ad

राजनीति


जनकपुरमा तनाव : एकातिर राष्ट्रियसभा निर्वाचन, अर्कातिर जनमतको उग्र प्रदर्शन

निशानामा जनप्रतिनिधि र सांसदका गाडी
जनकपुरमा तनाव : एकातिर राष्ट्रियसभा निर्वाचन, अर्कातिर जनमतको उग्र प्रदर्शन

शैलेन्द्र महतो
माघ १२, २०७८ बुधबार १३:६, जनकपुरधाम

राष्ट्रियसभाको लागि सातै प्रदेशमा बुधबार निर्वाचन हुँदैछ। मधेश प्रदेशको मतदानस्थल जनकपुरधामको जिल्ला प्रहरी कार्यालय अगाडिस्थित महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानमा रहेको छ। 

बिहानै ९ बजेदेखि मतदान जारी छ। राष्ट्रियसभा निर्वाचनलाई लक्षित गरेर अर्कातिर बिहानैदेखि मतानस्थलसहित जनकपुरमा सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरिरहेको छ। 

जनमतका नेता कार्यकर्ताहरु 'पहिला किसानलाई मल देऊ, त्यसपछि मतदान गर' सहितका नारा लगाउँदै प्रदर्शनमा उत्रिएका हुन्। 

जनमतका कार्यकर्ताहरु लाठी र भाटासहित मतदानस्थलमा प्रवेश गर्न खोज्दा प्रहरीसँग झडप भएको छ। 

मतदानस्थल वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। जनमतका कार्यकर्ताले सरकारी सवारीसाधनलाई निशाना बनाएका छन्। 

मतदान गर्न प्रदेशका आठ जिल्लाबाट आउने प्रदेशसभा सदस्य, पालिका प्रमुख र उपप्रमुखको गाडीलाई लक्षित गरेर आक्रमण गरिरहेका छन्। 

जनकपुरको विभिन्न चोकहरुमा प्रदर्शनमा उत्रेका जनमतका कार्यकर्ताले मतदानस्थलसम्म पुग्न नदिन सरकारी सवारीसाधन तोडफोड र आक्रमक थालेका छन्। 

त्यही क्रममा सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाई सवार सरकारी गाडीमाथि उनीहरुले तोडफोड गरेका हुन्। तोडफोडका क्रममा मेयर प्रसाई र उपमेयर रेणुका पौडेलसहित तीनजना घाइते भएका छन्। 

त्यस्तै मधेश प्रदेशको राजधानी जनकपुरमा बुधबार राष्ट्रियसभाको निर्वाचनमा सहभागी हुन आउने क्रममा जनमतका कार्यकर्ताले स्थानीय तहका प्रतिनिधि र प्रदेश सभा सांसदका गाडीलाई निशाना बनाएका हुन्। 

सर्लाहीको हरिवनका मेयर गणेश प्रसाई सवार गाडी तोडफोड गरेका जनमतका कार्यकर्ताले एकजना जसपा सांसदको गाडीमा पनि आक्रमण गरेका छन्।  

प्रदेश सांसद अशोक यादवको गाडीमा पनि आक्रमण गरेको छ। त्यसक्रममा गाडीमा क्षति पुगेको छ भने सांसद यादवलाई चोट लागेको छ। उनी समान्य घाइते भएका छन्। 

मतदानस्थलतर्फ जाँदै गर्दा यादव सवार गाडीलाई जानकी मन्दिर अगाडि तोडफोड भएको हो। 

राष्ट्रिय सभाका मतदाताहरूको सवारीसाधन तोडफोड हुन थालेपछि मतदानका लागि आउने उनीहरु ससंकित बनेका छन्। मतदान स्थल जान समेत मतदाताहरू डराउन थालेका हुन्। 

प्रदेश सांसद यादव प्रदेशसभा अन्तर्गत अर्थ समितिका सभापति पनि हुन्। 

स्वतन्त्र मधेशको मुद्दासहित तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीमाझ आत्मसमर्पण गरेर मूलधारको राजनीतिमा आएका डा. सिके राउत पछिल्लो समय मधेशमा आन्दोलन चर्काइरहेका छन्। 

कहिले भ्रष्टाचारी भन्दै जनकारवाही त कहिले किसान आन्दोलनको नाममा आगजनी, तोडफोड जस्ता उग्र गतिविधिसहितका क्रियाकलाप जारी राखेका छन्। 

जनमत पार्टी नेकपा एमाले र लोकतान्त्रिक समाजवादीप्रति नरम देखिएको छ। तर जनमतका कार्यकर्ता जनता समाजवादीसहित पाँच दलीय गठबन्धन दलप्रति आक्रमक छन्। 

खास गरी जनता समाजवादी पार्टी जसपा सांसदलाई लक्षित गरी आन्दोलन गरिरहेका छन्। 

गत माघ ५ गते रौतहटको गौरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवलाई कार्यक्रम स्थलमा जान अवरोध गरेको थियो। 

त्यसपछि सुरक्षा घेरामा कार्यक्रममा पुगेकी मन्त्री यादवले आक्रोशमा सिके राउतप्रति लक्षित गर्दै पुनः गौर नरसंहार दोहोर्‍याउने र सिके राउतको हत्या गर्ने चेतावनी दिएकी थिइन्। त्यसयता उनी पनि विवादमा तानिकी छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .