ad ad

राजनीति


राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ‘क्रस भोट’ले गठबन्धनमा अविश्वास!

एमाले-लोसपाले भोट तानेपछि अनेक शंका
राष्ट्रियसभा निर्वाचन : मधेश प्रदेशमा ‘क्रस भोट’ले गठबन्धनमा अविश्वास!

शैलेन्द्र महतो
माघ १४, २०७८ शुक्रबार १३:५६, जनकपुरधाम

मधेश प्रदेशमा बुधबार भएको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनको मत प्रतिपक्षी नेकपा एमाले-लोकतान्त्रिक समाजवादी गठबन्धनका उम्मेदवारलाई गएको छ। 

मधेश प्रदेशमा महिला र अन्यतर्फ दुई पदका लागि बुधबार भएको मतदानमा सत्ता गठबन्धनका धेरै मतदाताले भोट क्रस गरेका हुन्। 

सबैभन्दा बढी महिला तर्फका उम्मेदवार र त्यसपछि अन्यतर्फ क्रस भोटिङ गरेको देखिएको छ। 

यद्यपि सत्ता गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार खालिद सिद्धिकी र नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याल विजयी भइसकेका छन्। 

प्रतिपक्षी गठबन्धन एमाले र लोसपाका दुवै उम्मेदवार पराजित भएका छन्। तर, उनीहरुले सत्ता गठबन्धनको धेरै मत तान्न सफल भएका छन्। 

मधेश प्रदेशमा २ सय ६८ जना स्थानीय तहका मतदाता थिए। जसमा २६४ जनाले मतदान गरेका थिए। 

मधेश प्रदेशसभा सदस्यतर्फ १०४ जना मतदाता रहेकोमा १०२ जनाले मतदान गरेका छन्। 

यस प्रदेशमा पाँच दलीय गठबन्धनबाट प्रदेशतर्फ ८० मतदाता थिए। जसमा ७८ मत खसेको थियो। 

स्थानीय तह तर्फ १९५ मतदातामध्ये १९२ जनाले मतदान गरेका थिए। एमाले-लोसपा गठबन्धनको प्रदेशतर्फ २४ जनाले मतदान गरे। स्थानीय तहतर्फ ७३ जनामा एकमात्रै अनुपस्थित थिए। 

यस्तोमा सत्ता गठबन्धनकी उम्मेदवार उर्मिला अर्याल ६१५६ मतभारसहित विजयी भइन्। 

उनले प्रदेशतर्फ ६९ र स्थानीय तहतर्फबाट १५८ मत पाइन्। उनकी निकटतम प्रतिद्वन्द्वी एमाले-लोसपा गठबन्धनकी उम्मेदवार रुपा यादवले प्रदेशतर्फ २७ र स्थानीय तहतर्फ ८१ मत पाइन्। 

एमालेबाट उम्मेदवार दर्ता गराएर गठबन्धन बन्ने बेला फिर्ता लिएकी विनादेवीले समेत मत पाएकी छन्। 

उनले प्रदेशतर्फ ३ र स्थानीय तहतर्फबाट ९ मत पाइन्। प्रदेशतर्फ ३ र स्थानीयतर्फ १६ मत बदर भएको छ। 

यहाँ बदर मत प्रदेशतर्फको ३ घटाउँदा ९९ र स्थानीय तहतर्फको १६ मत घटाउँदा २४८ हुन्छ। 

जोडघटाउ गर्दा पनि गठबन्धनकै महिलातर्फकी माओवादीकी उम्मेदवार उर्मिला अर्याललाई गठबन्धनकै झण्डै दुई दर्जन मत पाइनन्। 

स्थानीय तहमा उनका निकटतम प्रतिद्वन्द्वी रुपा यादवलाई १२ बढी मत र ९ वटा मत उम्मेदवारी फिर्ता लिएकी एमालेकी विना देवीलाई खसेको ९ मत पाँच दलीय गठबन्धनकै क्रस भोट हो। 

त्यस्तै प्रदेशतर्फ लोसपा-एमाले गठबन्धनलाई २४ र स्थानीय तहतर्फ मात्रै ७२ मतदान भएको थियो यस्तोमा रुपा यादवले प्रदेशतर्फ २७ र स्थानीय तहतर्फ ८१ मत पाएकी छन्। 

उम्मेदवारी फिर्ता लिएकी विनादेवीले तीन गरी ३० मत पाएका छन्। जबकि ३ मत बदर समेत भएको छ। 

गठबन्धनबाट ७८ जनाले मतदान गरेकोमा विजयी उम्मेदवार उर्मिला अर्याललाई प्रदेश तर्फ ६९ मतमात्र गठबन्धनको परेको छ। उनलाई पर्ने ७ मत लोसपा-एमाले गठबन्धनलाई क्रस भएको देखिन्छ। 

त्यस्तै अन्यतर्फका उम्मेदवारमा पनि सत्ता गठबन्धनका मतदाताले भोट क्रस गरेका छन्। 

अन्यतर्फ सत्ता गठबन्धनका उम्मेदवार खालिद सिद्धिकी ६६७८ मतभारसहित विजयी भए। 

जसपाका उम्मेदवार सिद्धिकीले प्रदेश तर्फ ७५ र स्थानीय तर्फ १७१ मत प्राप्त गरेका छन्। उनलाई गरेको मतदानमा पनि गठबन्धनकै मतदाताले अन्तर्घात गरेका छन्।   
उनका निकटतम प्रतिद्वन्द्वी एमाले लोसपा गठबन्धनका उम्मेदवार उसमान अन्सारीले प्रदेश तर्फबाट २५ र स्थानीयतर्फ ८७ मतसहित मात्र २७६६ मत भार ल्याउन सके।  

अन्यतर्फ प्रदेशबाट २ र स्थानीय तर्फ ६ मत बदर भएको छ। अन्यतर्फ सत्ता गठबन्धनका मतदाताले प्रतिपक्षी गठबन्धनका उम्मेदवार अन्सारीलाई प्रदेश तर्फ १ बढी र स्थानीय तहतर्फ १५ भन्दा बढी मत क्रस गरेका छन् । 

भोट क्रस भएको विषयमा नेकपा माओवादी केन्द्र मधेश प्रदेशका सचेतक दिलीप साहले गठबन्धनको बैठक बसेर समीक्षा गर्ने बताए। 

‘गठबन्धनभित्रको विश्वासलाई टिकाइ राख्न यो विषयमा समीक्षा जरुरी छ', उनले भने, 'हामीलाई एक एक भोटको महत्व छ।’

यता प्रदेश सरकारका भूमि व्यवस्था तथा कृषि सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गठबन्धनमा थोर बहुत भोट क्रसिङले कुनै फरक नपर्ने दावी गरे। 

‘गठबन्धनका सहयात्री दलले गठबन्धनका उम्मेदवारलाई मत दिएको छ। ठूलो जमात भएको पाँचवटै दलको गठबन्धनका मतदाताले थोर–बहुत जान अन्जानमा क्रस भएको होला भन्ने आफ्नो स्थानमा छ,’ जसपाका नेता एवम् राज्यमन्त्री यादवले भने, 'गठबन्धनमा कुनै असमझदारी वा बेइमानीको स्थिति छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .