नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको तेस्रो बैठक शुक्रबार एउटा निर्णय गर्दै सकिएको छ।
भर्चुअल माध्यमबाट बसेको यो बैठकले ३७ सदस्यीय केन्द्रीय कार्य सम्पादन समिति बनाएको छ।
जसमा १३ जना पदाधिकारी स्वत: सदस्य भएका छन् भने २४ जनालाई मनोनित गरिएको छ।
मनोनीत भएकामध्ये २० जना सभापति शेरबहादुर देउवा पक्षका छन् भने चारजना डा. शेखर कोइराला पक्षका छन्।
यो बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवाले बालुवाटारबाट सानेपा पुगेर छोटो सम्बोधन गरे।
सानेपामा सभापति देउवासहित उपसभापतिहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा भर्चुअल्ली सहभागी भए।
अन्य पदाधिकारी र केन्द्रीय कार्य समितिका सदस्यहरु आफ्नो आफ्नो स्थानबाट बैठकमा सहभागी भएका थिए।
बैठकमा सभापति देउवाले कार्य सम्पादन समिति गठन गर्नुपर्ने भएकाले यो बैठक डाकिएको जानकारी गराए।
त्यसपछि देउवाले महामन्त्री गगनकुमार थापालाई बैठकको एजेण्डा प्रस्ताव गर्न आग्रह गरे।
बैठकको दृश्य
सभापति देउवा : कार्यसम्पादन समिति गठन गर्नुपर्ने भएको हुनाले बैठक बोलाइएको हो। कोरोनाका कारण हामी भर्चुअल मिटिङमा छौँ। कार्यसम्पादन समिति गठनका लागि प्रस्ताव पेश गर्न म महामन्त्री गगन थापाजीलाई अनुरोध गर्दछु।
महामन्त्री गगन थापा : कोरोना संकटका कारण हामीले भर्चुअल मिटिङ गर्नु परेको हो। सरकारले बनाएको प्रोटोकल अनिवार्य मान्नु पर्छ भनेर बैठक भर्चुअल भएको हो। साथीहरु पनि सुरक्षित रहनु होला।
सभापति, दुई उपसभापति, हामी दुई महामन्त्री गरी ५ जना सानेपास्थित केन्द्रीय कार्यालयबाट मिटिङमा जोडिएका छौँ। सभापतिको अनुमतिमा म कार्यसम्पादन समितिको प्रस्ताव पेश गर्दछु।
त्यसपछि उनले विधानअनुसार कार्य सम्पादन समितिमा १३ जना पदाधिकारी स्वत: सदस्य हुने सुनाए। अनि उनले मनोनयन गरिने नेताहरु डा. शेखर कोइरालासहित २४ जना पढेर सुनाए।
त्यसपछि जुममार्फत भर्चुअल बैठकमा सहभागी केन्द्रीय कार्य समिति सदस्यहरुलाई महामन्त्री थापाले हात उठाउन लगाए। एक केन्द्रीय सदस्यका अनुसार जुममार्फत भएको भर्चुअल बैठक उक्त प्रस्ताव पारित गरेपछि केबल ६ मिनेटमै सकियो।
ती केन्द्रीय सदस्यका अनुसार बैठकमा देउवा र थापाबाहेक अरु कसैले बोलेनन्। यसका साथै बाँकी अन्य विषयमा पनि बैठक प्रवेश गरेन।
एउटा प्रस्ताव पारित गरेपछि ६ मिनेटमै कांग्रेस बैठक सकेर देउवा सानेपाबाट बालुवाटार लागे। अन्य चार पदाधिकारी पनि सानेपाबाट निवासतिर सोझिए।
बैठकको प्रस्ताव
Shares
प्रतिक्रिया