सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) भएको छलफल बिनानिष्कर्ष सकिएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवुकमार नेपालबीच एमसीसीबारे भएकाे कुराकानी सहमतिमा पुग्न नसकेकाे हाे।
स्रोतका अनुसार वार्तामा प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको आगामी बैठकमा एमसीसी टेबल गर्नुपर्ने धारणा राखे भने नेताद्वय प्रचण्ड र नेपालले भने दलहरुबीच सहमति नभई नहुने अडान लिएका छन्।
प्रचण्डको सचिवालय स्रोतका अनुसार नेपालखबसँग भन्यो, ‘प्रधानमन्त्री देउवाले अब बस्ने संसद बैठकमै टेबल गर्ने अडान लिनुभयो, तर प्रचण्ड र माधव नेपालले आम राष्ट्रिय सहमति नजुटी पेस नगर्न सुझाव दिए, कुरा मिलेन।’
बैठकमा सहभागी माधव नेपालनिकट कानुनविद् गोविन्द बन्दीले भने तीन शीर्ष नेताबीच एमसीसीबारे वार्ता जारी राख्ने सहमति भएको जानकारी दिए।
‘एमसीसीबारे कसैको कुनै विमती छैन। सबै सकारात्मक नै हुनुहुन्छ। तर, कसरी अगाडि जानेभन्ने बारे अझै टुंगो लागेको छैन’, नेपालखबरसँग बन्दीले भने, ‘बेलाबेला एमसीसीका लागि सबैले कुनै न कुनै ढंगबाट सही गरेकै छ, त्यसबाट भाग्न मिल्दैन। सही गरेपछि दायित्व पनि रहन्छ। उताबाट धम्की पनि आएको कुरो छ। पब्लिकल्ली एउटा धारणा छ। सहमतिमै टुंगोमा पुर्याइन्छ।’
बन्दीका अनुसार नेताहरूबीच वैशाख ३० का लागि तोकिएको स्थानीय तहको निर्वाचनबारे पनि कुराकानी भएको थियो।
तीन शीर्ष नेताबीच झन्डै २ घण्टा छलफल भएको थियो।
Shares

प्रतिक्रिया