आफूविरुद्धको महाभियोगको प्रस्ताव संसदमा दर्ता भएको पत्र पाएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा निवास फर्किएका छन्।
संसद सचिवालयले आइतबार दर्ता भएको पत्र सर्वोच्च अदालतमा पनि पठाएको हो।
पत्र पुगेको केही बेरमै प्रधानन्यायाधीश राणाले सर्वोच्च छाडेका हुन्।
महाभियोग दर्तासँगै उनी स्वतः निलम्बित हुने भएकाले अब यसको छिनोफानो नभएसम्म सर्वोच्च फर्किनेछैनन्।
महाभियोग पारित गर्न २ तिहाइ सांसद चाहिन्छ। महाभियोग दर्ता गरेका दलसँग त्यो पनि छैन।
तर महाभियोगको टुंगो लाग्न समय लाग्ने भएकाले राणा लामो समय भूमिकाविहीन हुनेछन्।
यस्तै महाभियोगविरुद्ध सर्वोच्च अदालतमै पनि रिट दायर हुन सक्नेछ। यसअघि सुशीला कार्कीमाथि पनि महाभियोग लगाइएको थियो। त्यसविरुद्ध रिट परेपछि सर्वोच्चले नै महाभियोग खारेज गरिदिएको थियो।
प्रधानन्यायाधीश राणा निलम्बनमा परेसँगै वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की कायममुकायम प्रधानन्यायाधीश भएका छन्।
यस्तै संसद् सचिवालयले प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोग दर्ता भएको पत्र राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद् र न्याय परिषद्मा पनि पठाइसकेको छ।
Shares

प्रतिक्रिया