ad ad

राजनीति


एमसीसीले सर्‍यो ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

अब चैत पहिलो सातादेखि वैशाख पहिलो सातासम्म
एमसीसीले सर्‍यो ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान

फाइल तस्बिर


केशव सावद
फागुन १८, २०७८ बुधबार १६:१८, काठमाडौँ

अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता अनुमोदनमा केन्द्रित भएपछि नेपाली कांग्रेसको स्थानीय निर्वाचनलक्षित अभियान प्रभावित भएको छ। 

प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा एमसीसीलाई प्रतिनिधिसभाबाट अनुमोदनमा केन्द्रित हुँदा निर्वाचनलक्षित अभियान प्रभावित भएको हो।

फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी वैशाख ३० का लागि तय स्थानीय तहको निर्वाचन मिति घोषणाको स्वागत गर्दै एकता र सक्रियतासाथ त्यसमा केन्द्रित हुने निर्णय गरेको थियो। 

गत माघ २७ देखि सुरु बैठकले संगठन सुदृढीकरण गर्दै स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने लक्ष्यसहित ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने निर्णय पनि गरेको थियो।  

उक्त देशव्यापी अभियान फागुन २० देखि चैत २० सम्म चलाउने तालिका थियो। 

तर, एमसीसी अनुमोदनमा पार्टी केन्द्रित भएपछि तयारी नपुगेको भन्दै अभियान मिति सारिएको हो। 

कांग्रेसले फागुन २० गते ७७ वटै जिल्ला सभापतिसँग ‘भर्चुअल’ संवाद राखेर प्रधानमन्त्री देउवाबाट ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको औपचारिक उद्घाटन गर्ने तयारी गरेको थियो। 

उद्घाटनका क्रममा देउवाले आसन्न स्थानीय तह निर्वाचन परिणाम पार्टीको पक्षमा पार्न चाल्न आवश्यक कदमबारे निर्देशन दिने बताइएको थियो। 

अभियानमा पार्टीका सबै तह, सबै भ्रातृ र शुभेच्छुक संस्थालाई एक बनाएर सहभागी गराउने तयारी थियो। 

देउवानिकट एक नेताले आवश्यक तयारी नपुगेका कारण आगामी शुक्रबार (फागुन २०) बाट सुरु हुने भनिएको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सर्ने सम्भावना रहेको बताएका छन्। 

यद्यपि, कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले तयारी नपुगे पनि ‘वर्क आउट’ भइरहेको प्रतिक्रिया दिएका छन्। ‘वर्क आउट भइरहेको छ,’ उनले नेपालखबरसँग भने, ‘चैत २० देखि नै सुरु हुन सक्छ।’

एक पदाधिकारीले पनि ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको खाका बन्दै गरेको जानकारी दिए। अभियानको खाका बन्दै गरे पनि पूर्वनिर्धारित समयमा सुरु नहुने उनले बताए। 

‘यो हाम्रो देशव्यापी अभियान हो। हामी एमसीसीमा केन्द्रित भएकाले तयारी पुगेन,’ उनले नेपालखबरसँग भने, ‘खाका बन्दैछ। विस्तृत बनिसकेको छैन। २० गतेबाटै सुरु हुने सम्भावना छैन।’ 

ती पदाधिकारीले पर्सि शुक्रबारबाट सुरु हुने भनिएको ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चैत पहिलो साताबाट सुरु भएर वैशाख पहिलो साता सम्पन्न हुने जानकारी दिए। 

‘अब चैत पहिलो हप्ताबाट सुरु भएर वैशाख पहिलो हप्ता सम्पन्न हुन्छ,’ उनले भने, ‘यसबारे अब बस्ने बैठकले निर्णय गर्छ।’

कांग्रेसले केन्द्रबाट देशभर केन्द्रीय प्रतिनिधिहरु खटाउने, जिल्ला कार्यसमितिले गाउँसम्म प्रतिनिधि खटाउने, वडा कार्यसमिति जनताका घर–घर पुग्ने लगायत कार्यक्रम तय गरेर ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान सञ्चालन गर्ने ती पदाधिकारीले जानकारी दिए। 

कांग्रेस कार्यसम्पादन समिति बैठकबाट सभापति देउवाले अविलम्ब आवश्यक परामर्शमा स्थानीय निर्वाचन घोषणा पत्र तयारी समिति गठन गर्ने निर्णय पनि गरिएको थियो। 

प्रधानमन्त्री देउवा एमसीसी सम्झौता पारितका लागि आवश्यक परामर्श र भेटघाटमा व्यस्त भएका कारण उक्त समिति पनि गठन नभएको बताइएको छ। 

फागुन ३ गते सम्पन्न केन्द्रीय कार्यसम्पादन समिति बैठकले एमसीसी पारित गर्ने निर्णय नै गरेपछि प्रधानमन्त्रीको सक्रियता एकाएक बढेको थियो। 

सरकारले फागुन ८ गते बसेको प्रतिनिधिसभा बैठकमा एमसीसीसम्बन्धी प्रस्ताव अनुमोदनका लागि टेबल गरेको थियो। 

फागुन १५ गते बसेको प्रतिनिधिसभाको दोस्रो बैठकबाट व्याख्यात्मक घोषणासहित एमसीसी सम्झौता अनुमोदन भइसकेको छ।

उक्त प्रस्ताव केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले २०७६ असार ३० गते संसदमा दर्ता गरेको थियो। 

त्यसअघि २०७५ माघ २५ गते बसेको मन्त्रिपरिषद् बैठकबाट तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी संसद सचिवालयमा दर्ता गर्ने निर्णय गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .