नेकपा माओवादी केन्द्रको शुक्रबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकले पनि पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको एक नेताले बताएका छन्। अमेरिकी आर्थिक सहयोग परियोजना एमसीसीलाई संसदबाट अनुमोदन गराउन समर्थन जनाएपछि माओवादी केन्द्रभित्र अहिले केही नेताहरु असन्तुष्ट छन्।
वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायतका केही सांसदले पार्टी निर्णयप्रति विमति राखेका छन्। उनीहरुले महाधिवेशनको निर्णय उल्लंघन गरेको भन्दै फरक मत राख्ने तयारी गरेका छन्।
पार्टीभित्र असन्तुष्ट चुलिएकै बेला बस्न लागेको केन्द्रीय समिति बैठकले पदाधिकारी चयन गर्ने सम्भावना कम रहेको ती नेता बताउँछन्। पुस ११ देखि १८ सम्म महाधिवेशन गरेको माओवादी केन्द्रले २ सय ४६ केन्द्रीय सदस्य र अध्यक्ष मात्र चयन गरेको छ।
महाधिवेशनपछि पुस १९ गते बसेको पहिलो बैठक अध्यक्षमा प्रचण्डलाई चयन गर्दै सकिएको थियो। महाधिवेशनले पदाधिकारी छनोट गर्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो।
माओवादीको विधानमा १५ सदस्यीय पदाधिकारी रहने व्यवस्था छ। विधानअनुसार माओवादीले अब एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, तीन सचिव र एक कोषाध्यक्ष निर्वाचित गर्न बाँकी छ।
आकांक्षी धेरै भएपछि पदाधिकारी चयन नगरी केन्द्रीय सदस्य मात्र चयन गरेर महाधिवेशन सकिएको थियो।
निर्वाचन नै गरेर भएपनि पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगे पनि अब पदाधिकारी चयनमा निर्वाचन हुने सम्भावना नरहेको माओवादीका नेता हरिबोल गजुरेलले जानकारी दिए।
‘अब मतदान प्रक्रियामा गएर पदाधिकारी चयन हुँदैन,’ गजुरेलले नेपालखबरसँग भने।
पदाधिकारीका आकांक्षीबीच भोटिङ नगर्ने सहमति भएको उनले बताए।
पदाधिकारीका एक आकांक्षीका अनुसार एमसीसी पास भएपछि पार्टीभित्र उत्पन्न समस्या समाधानका लागि पदाधिकारी चयन प्रक्रिया अघि नबढ्न सक्छ।
माओवादीको पोलिटब्युरो, स्थायी समिति लगायतका संरचना पनि तत्काल बनाउने संभावना कम छ।
‘अबको ७२ दिनमा स्थानीय तहको निर्वाचन हुँदैछ, अहिले पदाधिकारी चयन गरेर जाँदा पद पाएका त खुसी हुनुहोला तर, नपाएका? साथीहरुमा असन्तुष्टि चुलिन सक्छ,’ ती नेताले नेपालखबरसँग भने, ‘त्यही भएर अहिले पदाधिकारी चयन नगरी जिम्मेवारी बाँडफाँट मात्र पनि हुनसक्छ।’
माओवादी केन्द्रको शुक्रबारदेखि काठमाडौंको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा केन्द्रीय समिति बैठक सुरु हुँदैछ। महाधिवेशन सकिएपछिको यो बैठक दोस्रो हो।
यसअघि माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनपछि पुस २५ गतेका लागि केन्द्रीय समिति बैठक बोलाइएको थियो। तर, पार्टी अध्यक्ष प्रचण्ड कोरोना संक्रमित भएपछि बैठक स्थगित गरिएको थियो।
त्यसपछि माघ ८ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठक पनि कोरोना महामारीका कारण बस्न सकेको थिएन। त्यसपछि फेरि माघ २८–२९ गतेका लागि बोलाइएको बैठक पनि बस्दै नबसी स्थगित गरिएको थियो।
यस्तै फागुन ८ गते बोलाइएको बैठक पनि स्थगित गरेर २० गतेलाई सारिएको थियो।
माओवादी केन्द्रले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पनि अध्यक्ष मात्र बनाएको थियो। अरु सबै केन्द्रीय सदस्यको हैसियतमा चुनावमा होमिएका थिए। अहिले पनि स्थानीय तहको निर्वाचन आएकोले माओवादीले पदाधिकारी चयन नगरी चुनावमा केन्द्रित हुनसक्ने संभावना रहेको नेताहरु बताउँछन्।
तर, केही असन्तुष्ट नेताहरुले पदाधिकारी चयनको माग गर्न सक्ने ती नेताले बताए। बिहीबार अध्यक्ष प्रचण्डको निवास खुमलटारमा केही पूर्व स्थायी समितिका सदस्यहरुबीच छलफल पनि भएको थियो।
सो छलफलमा पार्टीलाई एकताबद्ध बनाएर चुनावमा केन्द्रित हुने निष्कर्ष निकालेको सहभागी एक नेताले बताए।
‘एमसीसी अनुमोदन भएपछि पार्टीभित्र देखा परेका समस्या समाधान गर्दै आसन्न स्थानीय निर्वाचनमा होमिनुपर्ने छ,’ बैठकको निष्कर्षबारे ती नेताले भने, ‘यस्तो बेलामा विभाजित भएर होइन, एकतावद्ध भएर निर्वाचनमा खटिनुपर्छ। तर, प्रचण्डले गर्ने निर्णयमा सबैको समर्थन रहने भएकोले नेतृत्वको विवेकलाई सम्मान गरेर अगाडि बढिन्छ।’
महाधिवेशन गरेको २ महिना बितिसक्दा पनि माओवादी केन्द्रले कुनै संरचनालाई पनि पूर्णता दिन सकेको छैन।
Shares

प्रतिक्रिया