ad ad

राजनीति


प्रदेश १ नामकरण : ओली र नेपाल दुवैको रोजाइमा ‘कोशी’ वा ‘सगरमाथा’

प्रदेश १ नामकरण : ओली र नेपाल दुवैको रोजाइमा ‘कोशी’ वा ‘सगरमाथा’

कृष्ण बहाब
फागुन २७, २०७८ शुक्रबार १८:५६, काठमाडौँ

७ वटा प्रदेश मध्ये अब प्रदेश १ को नामकरण गर्न बाँकी छ। राजधानी तोकिसकेको सन्दर्भमा यो प्रदेशले नाम भने अझै टुंगो लगाउन सकेको छैन।

त्यसैले अहिले प्रदेश १ मा आउने शिर्ष नेताहरूले नामको विषयलाई भाषण र पत्रकार सम्मेलनमा स्थान दिने गरेका छन्। प्रदेश १ को नामकरणको विषयमा पछिल्लो एक हप्तामा दुई राष्ट्रिय पार्टीका अध्यक्षले मुख खोलेका छन्।

प्रदेश १ को नाम जातीय पहिचानको आधारमा राख्नु पर्ने बहस चलिरहेको छ। पहिचानको विषय उठिरहँदा प्रदेशको नाम प्राकृतिक सम्पदाको आधारमा राख्नु पर्ने धारण पूर्वप्रधानमन्त्रीद्वय केपी ओली र माधव नेपालले राखेका छन्।

नामकरणको विषय निक्कै पेचिलो मुद्दा बनिरहेको प्रदेश १ को नामकरणबारे पछिल्लो पटक नेकपा एमालेका अध्यक्ष ओलीले मुख खोलेका थिए।

गत शनिबार गृह जिल्ला झापामा प्रेस चौतारी नेपाल प्रदेश १ को अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेशको नाम कोशी राख्नु पर्ने बताएका थिए। कोशी सभ्यता भएको र त्यहीको पानीबाट सिञ्चित भएकोले नाम कोशी राख्न उपयुक्त हुने ओलीको तर्क थियो। 

‘कोसीले पुरानो सभ्यता र परम्परा बोकेको छ। यहाँका धर्म, ज्ञान, संस्कृति, सभ्यता र परम्परा योसँग जोडिएका छन्’ ओलीले भनेका थिए ‘जातीय पहिचानको आधारभन्दा सभ्यताको पहिचान नै उपयुक्त र साझा हुन्छ, त्यसैले कुनै भ्रममा नपरी प्रदेशको नामकरण कोसी गर्दा हुन्छ।’

माधव नेपालको लाइन : कोशी नत्र सगरमाथा! 
राजनीतिक कित्तामा निकै टाढा देखिएपनि प्रदेश एकको नामकरणको विषयमा भने नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र एमाले केपी ओलीको धारणा नजिक नजिक देखिएको छ।

शुक्रबार धरानमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारकर्मीको प्रश्नको जवाफ दिँदै अध्यक्ष नेपालले केपी ओलीले दिएको सुझाव ठिकै रहेको बताएका हुन्।

ओलीकै लाइनमा देखिएका नेपालले पनि प्रदेश १ को नाम कोशी वा सगरमाथा राख्नुपर्ने सुझाव दिएका हुन्।

उनले भने, ‘यस मामिलामा केपी ओलीजीको मति ठिकै भएको जस्तो लाग्यो। उहाँले कोशी प्रदेशको नाम राख्नु भएको छ, कोशीवासीको सान बढाउन खोज्नु भएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .