राजनीति


एकीकृत समाजवादीको चुनावी रणनीतिः जोसँग मिल्दा जितिन्छ, उसैसँग तालमेल

एकीकृत समाजवादीको चुनावी रणनीतिः जोसँग मिल्दा जितिन्छ, उसैसँग तालमेल

सागर न्यौपाने
फागुन २७, २०७८ शुक्रबार २१:४, काठमाडौँ

नयाँ पार्टी गठन भएको नौ महिनामै माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले निर्वाचनमा भाग लिँदैछ। वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनमा बलियो उपस्थितिका लागि सो पार्टी चुनावी रणनीति बनाउन व्यस्त छ।

सो पार्टीले ७ सय ५३ वटा स्थानीय तहका प्रत्येक वडामा कम्तीमा एक जना वडा सदस्य भए पनि जित्ने रणनीति तय गरेको छ। सोहीअनुसार जुन पार्टीसँग मिल्दा जितिन्छ, त्यहीसँग तालमेल गर्न स्थानीय तहलाई निर्देशन दिइएको एक नेताले बताए।

‘हामी नयाँ दल हौँ, त्यही भएर अहिले हामीले वरिपरि जोसँग मिल्दा आफूले चुनाव जितिन्छ, त्यही आधारमा कुराकानी गरेर निर्णय गर्ने अधिकार तल्लो तहमा दियौँ,’ ती नेताले भने, ‘हामीले सबै तहमा जनप्रतिनिधि अनिवार्य जित्नैपर्छ।’

महासचिव बेदुराम भुसालले स्थानीय तह नै प्रदेश र संघीय निर्वाचन जित्ने आधार भएकोले आफ्नो पार्टीको सबै प्रयास त्यसमै लगाउने बताए।

‘स्थानीय तहका सबै स्थानमा हाम्रो उपस्थिति हुनुपर्छ,’ एक पदाधिकारीले भने, ‘वडा अध्यक्ष, सदस्य जित्नसकेमा संगठन बन्छ, त्यसका लागि एजेण्डासहित प्रचार अभियान चाहिन्छ। अहिले त्यही अनुसार नेताहरु खटाउँछौँ।’

काठमाडौँमा बुधबार र बिहीबार केन्द्रीय कमिटी बैठक सकेर नेताहरु चुनावी अभियान तीव्र बनाउन जिल्ला पुगेका छन्। अध्यक्ष नेपाल बिहीबार नै विराटनगर पुगेका छन्। उनी केही दिन विभिन्न जिल्ला पुगेर प्रशिक्षण गर्ने कार्यक्रम छ। 

एमालेबाट साउन ९ गते विद्रोह गरेर समाजवादी पार्टी गठन गरेका नेपाल स्थानीय तहबाटै आफ्नो बलियो उपस्थिति देखाउने प्रयासमा छन्। पार्टी गठन गरेको ७ महिनामा ७७ वटै जिल्ला समिति बनाएको सो पार्टीले फागुन २५ सम्म ७५ प्रतिशत स्थानीय तहमा कमिटी बनाइसकेको छ।

आउँदो चैतको १५ भित्र प्रत्येक वडा र टोलमा कमिटी गठन गराइसक्ने योजनासहित संगठन विस्तारमा केन्द्रीत भएको समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालले जानकारी दिए। उनका अनुसार स्थानीय तहको निर्वाचन विश्लेषणका लागि तीन आधार बनाइएको छ।

उनका अनुसार एक्लै लड्दा कति स्थान जित्न सकिन्छ, कांग्रेससहित पाँच दलीय गठबन्धन बनाउँदा कति र माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)सँग मात्र तालमेल गर्दा कति तह चुनाव जित्न सकिन्छ भन्नेबारे विश्लेषण भइरहेको छ।

‘हामी टोलसम्म पुगिसकेपछि हाम्रो पोजिसन कस्तो हुन्छ प्रष्ट दृश्य देखिन्छ। अहिले हामी माइक्रोलेभलमा विश्लेषण गरिरहेका छौँ,’ खनालले नेपालखबरसँग भने, ‘६ महिनामा जसरी पार्टी विस्तार भयो यसले हामीलाई उत्साहित बनाएको छ।’

७ सय ५३ वटा स्थानीय तहमा ६ महानगरपालिका, १२ उपमहानगरपालिका, २७५ नगरपालिका, ४६० गाउँपालिका र ६ हजार ७४३ वडा छन्। ती सबैबाट ३५ हजारभन्दा बढी जनप्रतिनिधि निर्वाचित हुँदैछन्। 

गाउँ, वडासम्म बन्ने सरकारमा आफ्नो उपस्थिति गराउन सकेमात्र नयाँ पार्टी भएपनि काम गर्न सकिने र त्यसले राष्ट्रिय राजनीतिमा प्रभाव जमाउन सकिने समाजवादीले निष्कर्ष निकालेको छ। त्यसैका लागि अध्यक्ष नेपाल देश दौडाहामा छन्।

एमालेबाट २०७४ को स्थानीय तह जितेका जनप्रतिनिधि अझै पनि आफ्नो पार्टीमा आउने अपेक्षा एकीकृत समाजवादीले गरेको छ।

‘हाम्रो पार्टीमा पुराना जनप्रतिनिधि पनि जोडिनु भएको छ, केही दिनभित्र उहाँहरु औपचारिक खुलेको घोषणा गर्नुहुनेछ,’ समाजवादीका एक नेताले दाबी गरे, ‘कतिपय उम्मेदवार मनोनयनको दिनसम्म खुल्ने बताउनुभएको छ।’

स्थानीय तहको निर्वाचनमा सबै ठाउँमा गठबन्धन बन्ने सम्भावना कम छ। 

‘स्थानीय तहको सबै ठाउँमा गठबन्धन हुँदैन, हामी ७ सय ५३ वटै तहमा कम्तीमा वडा सदस्य मात्र भए पनि जिताउने अभियानमा छौँ, गठबन्धन बनेपछि त्यो नहुन सक्छ। सैद्धान्तिक रुपमा गठबन्धन बनाउने भन्ने हो, व्यवहारमा मिल्दैन,’ ती नेताले थपे। 

चुनाव आउन ६२ दिन बाँकी छ। यो अवधिमा पार्टीको विस्तार अझै बढ्ने सम्मानित नेता खनालले बताए।

‘अबको डेढ महिनामा देशव्यापी कार्यक्रम लैजाँदा हाम्रो पार्टी थप बलियो बन्छ, त्यही भएर हामीले पालिकाकेन्द्रित अभियान थालिसक्यौँ,’ खनालले भने, ‘हामीले थोरै समयमा देशभर संगठन बनाइसक्यौँ। केही प्रदेश र जिल्लामा हामी यसै पनि बलियो छौँ।’

अहिलेसम्म सुदूरपश्चिम प्रदेशमा पार्टी सबैभन्दा बलियो रहेको खनालले दाबी गरे।

‘चुनावको मितिसम्म केही प्रदेशमा सुधार गर्छौँ, धेरै नेता हामीले नै हुर्काएका हुनुहुन्छ, उहाँहरुले निर्णायक अवस्थामा हाम्रै पार्टीलाई साथ दिँदा हामी गठबन्धनमा समान हैसियतमा पुग्छौँ,’ खनालले भने।

मुख्यमुख्य सहरमा बृहत् आमसभा गर्ने पार्टीको तयारी छ। त्यसबाहेक संगठन बनाउन सक्ने नेतालाई पालिकामा खटाइसकेको छ।

चैत १ गतेदेखि प्रचार र घरदैलो कार्यक्रम सुरु गर्ने योजना बनेको नेताहरुले बताए। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad