राजनीति


देशभर २८ कमान्ड बनाएर चुनावमा होमियो माओवादी

देशभर २८ कमान्ड बनाएर चुनावमा होमियो माओवादी

सागर न्यौपाने
चैत २, २०७८ बुधबार २१:६, काठमाडौँ

स्थानीय तहको चुनावका लागि नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लाका नेता परिचालन गर्ने रणनीति बनाएको छ। चुनावी प्रचारका नारादेखि कार्यक्रम समेत तय भइसकेको सो पार्टीले जनाएको छ।

‘घरघरमा सदस्य, टोल टोलमा माओवादी, गाउँ नगर जाऔँ, माओवादी केन्द्रलाई जिताऔँ’ भन्ने नारा तय गरिएको माओवादी केन्द्रका नेता शक्ति बस्नेतले जानकारी दिए।

स्थानीय तहअनुसारका चुनावी घोषणा पत्रको तयारी भइरहेको उनले बताए। केन्द्रले भने अपिलपत्र बनाएर मतदातालाई वितरण गर्नेछ। 

सो पार्टीले चुनावी रणनीति, गठबन्धन आदिको निर्णय गर्ने अख्तियारी दिएर देशभर २८ वटा कमान्ड गठन गरेको छ।

प्रदेश १ र बागमती प्रदेशमा ५/५ वटा, मधेश, गण्डकी र लुम्बिनीमा ४/४ वटा, कर्णाली र सुदूरपश्चिम प्रदेशमा ३/३ वटा कमान्ड बनाइएको बस्नेतले जानकारी दिए। 

पार्टी कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जिल्ला र प्रदेशको विशेषता हेरेर कमान्ड बनाइएको बताए।

‘दुई, तीन र चार जिल्ला समेटेर कमान्ड बनाएका छौँ,’ ढकालले नेपालखबरसँग भने, ‘अब चुनावको विशेष अभियान कमान्डले सञ्चालन गर्नेछ।’

यी सबै कमान्डको नेतृत्व प्रदेश तहबाट हुनेछ। मत सर्वेक्षण, जनताको घरघरमा जाने, संगठन विस्तार, सभा र प्रशिक्षणको तय तिनै कमान्डअन्तर्गत हुने उनले बताए। 

अहिले अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ लगायत नेताहरु प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा व्यस्त छन्।  

प्रदेश १ मा ५ वटा कमान्ड   
प्रदेश १ मा रहेका १४ जिल्लालाई पाँच खण्डमा विभाजन गरेर कमान्ड बनाइएको छ। सोलुखुम्बु र ओखलढुङ्गाबाहेक अन्य कमान्डमा ३ जिल्ला समेटिएको छ।

१. ताप्लेजुङ, पाँचथर, इलाम
२. झापा, मोरङ, सुनसरी
३. धनकुटा, तेह्रथुम, संखुवासभा
४. भोजपुर, खोटाङ, उदयपुर
५. सोलखुम्बु, ओखलढुंगा

मधेश प्रदेशमा ४ कमान्ड 
माओवादी केन्द्रको राम्रै प्रभाव रहेको मधेस प्रदेशमा रहेका ८ जिल्लालाई ४ कमान्डमा विभाजन गरिएको छ।
१. सप्तरी, सिरहा
२. धनुषा, महोत्तरी 
३. सर्लाही, रौतहट
४. बारा, पर्सा 

बागमती प्रदेशमा ५ कमान्ड
काठमाडौं उपत्यकासहित १३ जिल्ला रहेको बागमती प्रदेशमा माओवादीले चुनावी प्रचार रणनीति बदल्ने भएको छ। अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र रहेको चितवनदेखि काठमाडौँ उपत्यकामा समेत बलियो उपस्थिति देखाउने सो पार्टीको योजना छ। त्यसैले यहाँ ७ वटा कमान्ड बनेका छन्।

१. काठमाडौँ, ललितपुर, भक्तपुर
२. चितवन, मकवानपुर 
३. धादिङ, नुवाकोट, रसुवा
४. सिन्धुपाल्चोक, दोलखा, काभ्रेपलाञ्चोक
५. सिन्धुली, रामेछाप

गण्डकीमा ४ कमान्ड
गोरखा, लमजुङबाहेक गण्डकी प्रदेशमा माओवादी केन्द्र निकै कमजोर अवस्थामा छ। ११ जिल्ला रहेको गण्डकीमा ४ वटा कमान्ड बनाइएको छ। 

१. गोरखा, लमजुङ, मनाङ
२. तनहुँ, नवलपरासी पूर्व
३. स्याङजा, कास्की, पर्वत
४. बाग्लुङ, म्याग्दी, मुस्ताङ

लुम्बिनीमा ४ कमान्ड
माओवादी लुम्बिनी प्रदेशमा बलियो अवस्थामा छ। रोल्पा, दाङ, रुकुम पूर्वजस्ता माओवादीको जनाधार भएका जिल्ला यस प्रदेशमा पर्छन्। प्रदेशको मुख्यमन्त्री पनि माओवादी केन्द्रकै छन्​। १२ जिल्ला रहेको लुम्बिनी प्रदेशमा ४ कमान्ड बनाएको छ। 

१. नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु
२. पाल्पा, गुल्मी, अर्घाखाँची
३. प्युठान, रुकुम पूर्व, रोल्पा
४. दाङ, बाँके, बर्दिया

कर्णालीमा ३ कमान्ड
माओवादी केन्द्रबाट संघीय संसद् र स्थानीय तहमा सबैभन्दा बढी प्रतिनिधि भएको प्रदेश हो कर्णाली। अर्थमन्त्री समेत रहेका नेता जनार्दन शर्मा कर्णालीकै हुन्। 

१. सुर्खेत, दैलेख, सल्यान
२. जाजरकोट, डोल्पा, रुकुम पश्चिम
३. कालिकोट, जुम्ला, मुगु, हुम्ला 

सुदूरपश्चिममा ३ कमान्ड
सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रका मुख्यमन्त्री छन्। ९ जिल्ला भएको यो प्रदेशमा ३ कमान्ड बनाइएको छ।

१. अछाम, डोटी, बाजुरा
२. बैतडी, बझाङ र दार्चुला
३. कैलाली, कञ्चनपुर, डडेलधुरा

माओवादी केन्द्रले बागमती, कर्णाली, सुदूरपश्चिम र प्रदेश १ को प्रशिक्षण कार्यक्रम सम्पन्न गरिसकेको छ। बिहीबार लुम्बनी प्रदेश, चैत ६ गते गण्डकी र चैत ८ गते मधेश प्रदेशमा प्रशिक्षण कार्यक्रम तय भएको कार्यालय मुख्य सचिव ढकालले बताए। 

माओवादी केन्द्रले चुनावका लागि वाईसीएल व्यापक परिचालन गर्ने भएको छ। केन्द्रीय सदस्य तथा वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटाले हरेक टोलमा वाईसीएलको एकएक वटा टोली बनाइने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad