राजनीति


धनगढी उपमहानगर : दललाई स्वतन्त्र उम्मेदवार हमाल भारी!

धनगढी उपमहानगर : दललाई स्वतन्त्र उम्मेदवार हमाल भारी!

गोकुल जोशी
चैत २, २०७८ बुधबार २०:१४, काठमाडौँ

वि.सं. २०७४ सालको स्थानीय तह निर्वाचनमा व्यवसायी गोपाल (गोपी) हमालले कैलालीको धनगढी उपमहानगरपालिकाको प्रमुख (मेयर) मा प्रतिस्पर्धा गरे।

स्वतन्त्र तर्फबाट मेयर लडेका हमालले प्रमुख राजनीतिक दलका उम्मेदवार भन्दा बढी मत ल्याएर निकै चर्चा पाएका थिए। 

नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडलाई कडा टक्कर दिएका हमालले दोस्रो अत्याधिक मत ल्याएका थिए। मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हमाल कांग्रेसका वडसँग झिनो मतान्तरले पराजित भए। 

मेयरमा विजयी कांग्रेसका वडले १४ हजार ३ सय २४ मत ल्याएका थिए भने हमालले ११ हजार ५२७ मत पाएका थिए।

हमालले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायत राजनीतिक दलबाट मेयरमा लडेका उम्मेदवारलाई उछिनेर लोकप्रिय मत पाएका थिए।

धनगढी उपमहानगरपालिकामा मेयर लडेका माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याउँदा एमालेका उम्मेदवार दुर्गा जोशीले ९ हजार ९ सय ४६ मत ल्याएका थिए। 

अघिल्लो चुनावमा दोस्रो अत्याधिक मत ल्याएका व्यवसायी हमालले यस पटक फेरि मेयरमा स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन्।

आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकिएसँगै हमालले चुनाव केन्द्रित कार्यक्रमलाई तीब्रता दिएका छन्। उनी गाउँ–टोलमा गएर प्रचारप्रसारका साथै मतदातासँग भेटघाट गरिरहेका छन्।
धनगढी उपमहानगरपालिकामा अघिल्लो चुनावमा झिनो मतान्तरले मेयर जितेको कांग्रेसलाई विरासत जोगाउन सकस  छ।

यस पटक पनि मेयरमा हमाल र नेपाली कांग्रेसकै उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। अघिल्लो पटकको हारबाट पाठ सिक्दै यसपटक जित निकाल्ने रणनीतिका साथ हमाल चुनाव केन्द्रित कार्यक्रममा व्यस्त भएका छन्।

स्वतन्त्र रुपमा अन्तिम पटक चुनाव लड्ने भन्दै विवेकशील साझा पार्टीको सुदूरपश्चिम प्रदेशको संयोजक पदबाट राजीनामा दिएर उनी स्थानीय तह निर्वाचनमा सक्रिय भएका हुन्। 

धनगढीमा राजनीतिक दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार हमालले टक्कर दिने देखिन्छ।  १४ वर्ष उद्योग वाणिज्य महासंघको सदस्य रहिसकेका हमालले आफ्ना कार्यकाल (२०६३–६६)मा कैलाली उद्योग वाणिज्य संघलाई देशकै उत्कृष्ट शाखा बनाएका थिए।

दिनेश ग्रुपका नामबाट सुदूरपश्चिममा सञ्चालित उनका व्यापार व्यवसायहरूमा ६ सय जना बढीले काम गरिरहेका छन्।

सुदूरपश्चिमलाई सम्भावनाको क्षेत्रका रूपमा परिचित गराउन उनले थालेको सुन्दर सुदूरपश्चिम अभियानले निकै चर्चा बटुलेको थियो। यस पटक चुनावी नतिजा आफ्नो पक्षमा आउने हमाल दाबी गर्छन्।

‘राजनीतिमा स्वतन्त्र उम्मेदवार भएपछि भोट नै पाउँदैन भनेर मत खेर किन फाल्ने, जित्दैन भन्ने मानसिकता थियो। यसपालि धनगढीबासीले प्रतिस्पर्धा कसकसका बीचमा हुन्छ भन्ने बुझेका छन्,’ उनले नेपालखबरसँग भने, ‘त्यसबेला पुग्न नसकेको ठाउँमा पनि यसपालि पुगेको छु। सकारात्मक सुझाव पाएकाले जित्ने विश्वास  छ।’

अघिल्लो पटक बदर मत र उपमहानगरपालिका बनाउनका थपिएका उर्मा, फूलबारी र बेली गाउँपालिकाबाट मत नआएकाले हारेको उनी बताउँछन्।

‘यसबीचमा सबै जनतालाई मत मागिरहेको छु। सहयोग गर्ने बचन दिएका छन्’ उनले भने।

धनगढी मोडल स्थापित गर्न आफूलाई मेयरमा जिताउनु पर्ने हमाल बताउँछन्। ‘हारपछि मैले ४ वर्ष धनगढीको विकासको लागि योजना बनाउनमै बिताएँ। मेयरले लिने सेवा सुविधाको लिन्न।

‘भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न’ उनले भने, ‘धनगढीले मलाई यहाँसम्म पुर्याएको छ। त्यसैले धनगढीलाई मोडेल बनाउने मेरो एउटै लक्ष्य हो।’

माओवादी र एकीकृत समाजवादी चुनावमा सत्ता गठबन्धनलाई निरन्तरता दिएर तालमेल गरेर जाने बताइरहेका छन्। तर कांग्रेसमा एक्लै चुनाव लड्ने तथा  तालमेल गर्ने भन्ने दुई थरी मत छ। 

प्रमुख राजनीतिक दलहरुले पार्टीबाट कसलाई उम्मेदवार बनाउने भनेर निर्क्यौल गरिसकेका छैनन्। 

नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतले राजनीतिक दलले छुट्टा छुट्टै चुनाव लक्षित कार्यक्रमलाई तीब्रता दिएका छन्।

नेताहरू आ–आफ्ना पार्टीभित्र उम्मेदवार बन्ने टिकट हात पार्न नेतृत्व तहसँग ‘लबिङ’ गरिरहेका छन्।

चुनावी गठबन्धन बारे अहिले पार्टीले कुनै निर्णय नगरेको बताउँदै नेपाली कांग्रेस कैलालीका सभापति नारायण भट्टले धनगढीमा नेपाली कांग्रेस विजयी हुने दाबी गरे।

‘अघिल्लो पटकका प्रमुख प्रतिस्पर्धी बिचमा पार्टी (विवेकशील साझा)मा लागे। अहिले पार्टी त्यागेर स्वतन्त्र चुनावमा लड्न आएकाले उनी (गोपाल) माथिको विश्वास घटेको छ,’ उनले नेपालखबरसँग भने, ‘धनगढीमा फेरि पनि कांग्रेसले नै जित्छ। यदी गठबन्धन भए पनि टिकट हामीले नै पाउँछौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad