ad ad

राजनीति


विजय सरावगी एमालेतिर लागेपछि राजेशमान सिंह जसपामा प्रवेश गर्दै

विजय सरावगी एमालेतिर लागेपछि राजेशमान सिंह जसपामा प्रवेश गर्दै

जसपा प्रवेश गर्न लागेका राजेशमान सिंह (वीच) सँगै सांसद प्रदीप यादव र मुख्यमन्त्री लालबाबुर राउत


केशव सावद
चैत ६, २०७८ आइतबार १३:५२, काठमाडौँ

मधेश प्रदेशको एकमात्रै महानगरपालिका वीरगञ्जको मेयरका लागि २०७४ को स्थानीय तह निर्वाचनमा उठेका राजेशमान सिंह जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्ने भएका छन्। 

एक महिना अघिमात्रै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) परित्याग गरेर नेकपा एमाले प्रवेश घोषणा गरेका सिंह सोमबार जसपा प्रवेश गर्न लागेका हुन्। 

एमालेले जसपाका केन्द्रीय सदस्यसमेत रहेका वीरगञ्जका मेयर विजयकुमार सरावगीलाई पार्टीमा भित्र्याएपछि उनी जसपा प्रवेशको अन्तिम तयारीमा छन्। 

जसपा पर्साका अध्यक्ष रामनरेश यादवले सोमबार वीरगञ्जको अदर्शनगरस्थित टाउन हलमा समारोह आयोजना गरेर सिंहलाई पार्टीमा ल्याउन लागिएको जानकारी दिएका छन्। 

गत स्थानीय तह निर्वाचनमा तेस्रो भएका मेयर पदका उम्मेदवार सिंहलाई पार्टीमा भित्र्याउन जसपाका अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई वीरगञ्ज जाँदैछन्। 

सिंहले पनि आफू टिमसहित जसपा प्रवेश गर्न लागेको पुष्टि गरेका छन्। ‘भोलि लोसपा परित्याग गरेको म र मेरो टिम जसपा प्रवेश गर्दैछौँ,’ उनले नेपालखबरसँग भने, ‘एमाले प्रवेश गर्ने भनेर सार्वजनिक रुपमै घोषणा गरेका थियौँ। तर, चलखेल भयो। अब जसपामा जान लागेका छौँ।’

सिंहले आफूसँगै वडाध्यक्षहरु बैजलाल स्वर्णकार, रियाज मियाँ ठकुराई, बर्कतुल नेसा, नेताहरु प्रेमबाबु पटेल, मुकेश द्विवेदी, उमेशलाल सहनी पनि जसपा प्रवेश गर्न लागेको जानकारी दिए। 

यसअघि गत माघ २८ गते महानगरपालिका प्रमुखको टिकट पाउने आश्वासनमा सिंहले पत्रकार सम्मेलन गरेर लोसपा परित्याग गर्दै एमाले प्रवेशको घोषणा गरेका थिए। यद्यपि, एमालेले उनलाई औपचारिक रुपमा पार्टीमा भित्र्याइसकेको भने थिएन। 

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेर १२ हजार १ सय ६५ मतका साथ तेस्रो भएका सिंह सरावगीले परित्याग गरेको दल जनता समाजवादी पार्टी (जसपा) प्रवेश गर्न लागेका हुन्। 

सरावगी तत्कालीन संघीय समाजवादी फोरम नेपालका तर्फबाट वीरगञ्जको प्रमुखमा विजयी भएका थिए। उनले निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका अजय द्विवेदीलाई १ सय ९६ मतले पराजित गरेका थिए। 

सरावगीले १९ हजार ३ सय ९३ मत प्राप्त गर्दा कांग्रेसका द्विवेदीलाई १९ हजार एक सय ९७ मत ल्याएका थिए। तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) बाट महानगर प्रमुखमा उठेका सिंह १२ हजार १ सय ६५ मतका साथ तेस्रो भएका थिए। 

गत स्थानीय तह निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको प्रमुख मेयर पदका एमालेबाट बसरुद्धिन अन्सारी, नेकपा माओवादी केन्द्रबाट रहबर अन्सारी र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव चुनावी प्रतिस्पर्धामा थिए।

चौथो भएका लोकतान्त्रिक फोरमका श्रीवास्तवले ८ हजार ७ सय १, पाँचौँ भएका एमालेका अन्सारीले ८ हजार ६ सय ८८ र छैटौँ भएका माओवादी केन्द्रका रहबर अन्सारीले ८ हजार ३ सय ५ मत पाएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .